काठमाडौं : पूर्वी अफ्रिकी मुलुक केन्याबाट सात जना नेपाली निष्कासित भएका छन्। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा केन्याले उनीहरूलाई नेपाल फर्काएको हो।
निष्कासित हुनेमा सुनिल बुढा मगर, प्रेमबहादुर गुरुङ, आशिष ढकाल, दिनेश बस्नेत, सरस्वती गिरी, शिव गिरी र जनक बुढा रहेका छन्। उनीहरू गत मंगलबार काठमाडौं आइपुगेको स्रोतले जानकारी दिएको छ। इन्डिगो एयरलायन्सको विमानबाट भारत हुँदै उनीहरूलाई काठमाडौं ल्याइपुर्याएको स्रोतको भनाइ छ।
‘अध्यागमन कानुन उल्लंघन गरेको आरोप उनीहरूलाई निष्कासित गरिएको भन्ने छ। तर, ठ्याक्कै विस्तृत विवरण खुलाइएको छैन,’ स्रोतले अन्नपर्णसँग भन्यो।
यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग बुझ्दा अनभिज्ञता प्रकट गरियो। कार्यालयका सूचना अधिकारी अञ्जन न्यौपानेले आफूलाई यस विषयमा जानकारी नभएको बताए।