दुर्गा घिमिरे
वैदेशिक रोजगारमा महिलाको आकर्षण बढ्दै गइरहेको छ । तर यो रोजगारी महिलाका लागि कति सुरक्षित छ ? वैदेशिक रोजगारीमा विशेष गरेर खाडी मुलुक गएका महिला शोषणको सिकार भएका समाचार आउन थालेपछि सरकारले खाडी मुलुकमा महिलालाई जान १९९७ मा एक किसिमले रोक लगाइएको थियो ।
तर यसको विरोध भएपछि सरकारले २०६४ मा पुनः उक्त निर्णय सच्यायो । अहिले रोजगारीको लागि खाडी लगायतका मुलुकमा महिलाहरू विदेशिने क्रम तीव्र छ, घरेलु कामदार बन्न । हालैको एउटा तथ्यांकअनुसार खाडी मुलुकमा नेपाली महिलाको संख्या दुई लाख चालीस हजार भएको अनुमान छ । यसरी वैदेशिक रोजगारीमा जाने क्रमसँगै विविध समस्या पनि बढ्दो छ । घरेलु कामदारको रूपमा जाने ६७ प्रतिशत महिलाले विभिन्न शारीरिक र मानसिक समस्याबाट पीडित हुने गरेको तथ्याङ्कले भन्छ । गत महिनाको पहिलो हप्ता वैदेशिक रोजगारका क्रममा अरब, साउदी, दुबई, बहराइन, मलेसिया पुगेर फर्किएका नेपाली कामदार महिलासँगको सात दिनको बसाई र तालिमको क्रममा तिनका समस्या र कथा बुझ्ने अवसर प्राप्त भयो ।
गाविस सूर्यपुरा वार्ड नं ८ मा बस्ने श्रीमती सारदा लोध साउदी गई दुई वर्ष बसी फिर्ता आएको र अहिले फिर्ता भएको लगभग एक वर्ष पुग्न थालेको उनले बताइन् । अत्यधिक गरिबीको कारणले उनी घरेलु कामदारका रूपमा साउदी पुगेको बताउँछिन् । घर र्फकने क्रममा साउदीबाट बम्बै एयरपोर्ट आउँदा त्यहाँ नक्कली महिला प्रहरीले उनलाई बाहिर लगी सहयोग गरिदिन्छु भनी ट्रेनको स्टेसनमा लगी नेपाल पठाएको थियो । भारतको भोपाल भन्ने ठाउँमा पुगेपछि डाँकाहरूको समूहले उनले दुई वर्ष कमाएर ल्याएको दुई लाख नेपाली रुपैयाँको ब्याग लिएर भाग्न खोज्दा त्यो ब्यागलाई बचाउन प्रयास गर्दा ट्रेनको ढोकाबाट बाहिर खस्नगई दाहिने खुट्टा जखमी भयो र एउटा काट्नुपर्यो । जसले गर्दा अहिले उनी अपाङ्ग छन् । त्यहाँ रहेको नेपाली संगठनको सहयोगमा उपचार गरी स्वदेश फर्केकी थिइन् ।
साउदी पुगेर फर्किएकी एकजना अर्की महिला भन्छिन्— ‘म घरमा कसैलाई थाहै नदिई स्थानीय गाउँको एजेन्टमार्फत भारतको बम्बै हुँदै साउदी पुगेँ । उक्त भारतीय एजेन्टले बम्बैको एउटा कोठामा हामी वैदेशिक रोजगारीमा जाने महिलालाई १० दिन राख्यो । त्यसपछि साउदीकोे एजेन्टले हामीहरूलाई हेर्न आयो । मलाई देखने बित्तिकै साउदीको एजेन्टले भारतीय १० हजार रुपैयाँ बम्बैको एजेन्टलाई बुझाएर भोलिपल्टकै जहाजमा हालेर मलाई साउदी लग्यो र म घर छोडेको १२ दिनमा साउदी पुगेँ ।’ उनी भन्छिन्- मेरो काम घरको सरसफाइ र एकजना बूढीको सेवा गर्नुपर्ने थियो । ती बूढीको तौल ८१ केजी थियो । तिनको दिसापिसाब सफा गर्नेदेखि भीमकाय शरीरलाई उचालेर नुवाई-धुवाई गर्नुपथ्र्यो । मेरो सानो शरीरले त्यो धान्न सक्दैन थियो । जब म उनलाई उचाल्न सक्दिन थिएँ, मालिक्नी र उनको छोरीले मलाई बेस्सरी कुटेर गाली गर्थे । उनीहरूले सधैं गाली गर्ने कुरा र शब्द एउटै थियो- तँ मीठो खानलाई मात्र यहाँ आएको होइनस् र ? तँ किन पासपोर्ट बोकेर देश छोडेर आइस् ? तँलाई हामी ६०० रियल (साउदी पैसा) होइन, अब ३०० सयमात्र दिन्छौं, किनभने तैंले आधा पैसा पाउनेमात्र काम गरेकी छस् ।’ उनी रुँदै भन्छिन्, मसँग कुनै करारनामाको कागत पनि थिएन । भारतीय दलालले मलाई छक्यायो । मालिक्नीसँग प्रतिवाद गर्ने मसँग कुनै आधार नै थिएन । मालिक्नीले सधैं भन्ने कुरा एउटै थियो— ‘तैंले कहिले पनि शिर ठाडो पारेर मेरो लोग्ने र छोरोलाई हेर्नु हुँदैन, किनभने तँ यो घरको नोकर्नी होस् ।’ यस्ता शब्दहरू सुन्दा मेरो मन अति नै दुख्थ्यो । हुन त हामी नोकर्नी नै भएर आएका थियौं, तर पनि पटक-पटक यो शब्द सुन्दा कहिलेकाहीं त भक्कानो नै छुट्थ्यो । कहिले आफ्नो देश र्फकने होला जस्तो लाग्थ्यो ।
वैदेशिक रोजगारमा कुवेत पुगेर फर्किएकी अर्की महिला कामदारले आफ्नो पीडा यसरी सुनाइन् । मैले बिहान पाँच बजेदेखि बेलुका बाह्र बजेसम्म कठिन काम गर्नुपथ्र्यो । १८ घन्टा काम गर्दा पनि मालिक्नीको सिकायत भइनै रहन्थ्यो । भोक लाग्दा पनि खान नपाउने, काममाथि काम थपिदिइरहने । सबै काम सकेरमात्र खान पाइने, बल्लबल्ल काम सकेर खान बस्ता मालिकका छोराछोरीहरू पछाडिबाट खानामा थुकिदिने गर्थे । काम गर्दा सानो-सानो सामानहरू फुट्दा पनि आफ्नो तलबहरू कट्टी गर्ने, मेसिनहरू आफैंले बिगारिदिने र हामीले नै बिगारेको भनेर हाम्रो पैसा काटिदिन्थे ।
यसैगरी वैदेशिक रोजगारको क्रममा दुबईमा काम गरेर फर्किएकी अर्की महिलाको अनुभव अलिकति बेग्लै पाइयो । उनी भन्छिन्, सबै ठाउँमा त्यस्तै व्यवहार हुँदैन । आफ्नो दुबईको लामो अनुभव बताउँदै उनी भन्छिन्, म आफूमात्र होइन, आप्fm्नो श्रीमानलाई पनि वैदेशिक रोजगारमा लगेँ । हाम्रो छोराछोरी दुवै अहिले वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारबाट ल्याएको पैसाले जग्गा किने, छोराछोरीको शिक्षामा खर्च गरेँ, मैले दुबईमा बस्दा कुनै समस्या भोग्नुपरेन । मैले पढ्न-लेख्न नजानेको भए पनि आफूले मालिक-मालिक्नीको विश्वास जितेको कुरा बताउँछिन् ।
रोजगारमा गएका महिलाको यौनशोषण र दुव्र्यर्वहारका प्रसंग पनि त्यतिकै दुःखदायी छन्, जसलाई उनीहरू भन्न चाहँदैनन्, तर एकजनाले भने हिम्मत गरेर बताइन्, उनीसँग एउटा सानी छोरी पनि थिइन्, उनी भन्छिन्, मलेसियामा एकजना नेपाली कामदारले उनीसँग प्रेमको नाटक गरे । मैले पत्याएँ । म गर्भवती भएपछि मलाई नेपाल फर्कायो, तर घरमा त उसको जेठी दुलही छ भन्ने थाहा पाएँ । उनी नानीको पहिचान र आफूलाई धोका दिने प्रेमी र उसको परिवारले घर भित्र्याउने आशामा बसेकी छन् । वैदेशिक रोजगारीबाट फर्किएर आएका उनका पति त अहिले नेपालमा पसल खोलेर जेठी पत्नीसँग बसेका रहेछन् । उनलाई कसले न्याय दिने ?