‘श्रमिकलाई झुटा बाचा गरिएको छ’

14 December, 2011

एम्नेस्टी इन्टरनेसनलले बाहिरी मुलुकमा रोजीरोटी खोज्दै पुगेका आप्रवासी श्रमिकलाई वैदेशिक रोजगारीका सम्बन्धमा दिइने ‘झूटा बाचाहरू’ बाट जोगाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

इन्टरनेसनलको अन्तर्राष्ट्रिय सचिवालयद्वारा मंगलबार राजधानीमा आयोजित ‘झूटा बाचाहरू: नेपाली आप्रवासी श्रमिकहरूको शोषण र जबरजस्ती श्रम’ शीर्षकको प्रतिवेदन मार्फत यस्तो आग्रह गरिएको हो । प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टीका वैदेशिक रोजगारी सम्बन्धी एसिया प्रशान्त अनुसन्धाता नोर्माकाङ मिकोले ‘केही बद्मास नेपाली वैदेशिक रोजगार कम्पनीहरूले शोषण र जबरजस्ती श्रमका लागि नेपालीलाई खाडी मुलुक र मलेसियातर्फ बेचबिखन गरिरहेको’ जनाउँदै यो क्षेत्रलाई मर्यादित र व्यवस्थित तुल्याउन आग्रह गरिन् ।

 

वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले एम्नेस्टी प्रतिवेदनमा भनिए जस्तो गन्तव्य खाडी मुलुकको मानव अधिकार वा श्रम अधिकारबारे यहाँ बसेर बोल्न नमिल्ने जिकिर गरे । उनले खाडी मुलुकमा घरेलु कामदारलाई त्यहाँको श्रम ऐनले नसमेटिरहेका बेला उता जाने श्रम अनुमति नदिँदा मानव अधिकार हनन हुने र उता जाने अनुमति दिएपछिको बिचल्ली स्थिति पनि उस्तै रहेकोबारे एम्नेस्टी जस्ता निकायले न्यायिक ढंगबाट सोच्नुपर्ने सुझाव दिए ।

 

‘प्रतिवेदनमा वैदेशिक रोजगारीमा गएका नेपाली युवामध्ये ३० प्रतिशत महिला भएको भन्ने तथ्यांक आधारहीन छ, अनुपात हेर्दा बढीमा १० प्रतिशत मात्रै महिला रोजगारीमा गएका छन्,’ भट्टराईले भने, ‘फेरि रोजगारीमा जान चाहने महिलाको घरपरिवार सनाखत गरेर मात्रै उनीहरूलाई श्रम अनुमति दिइने भन्ने विवरण पनि आधारहीन छ ।’  फरेन इम्प्लोइमेन्ट एसोसिएसनका अध्यक्ष प्रेम कटुवालले अहिले विवादमा आएको दोहोरो करारनामाको पक्षमा तर्क राख्दै गन्तव्य मुलुकको प्रचलन अनुरूप आफ्ना नियमहरूमा ख्याल गर्नुपर्ने धारणा राखे । उनले एम्नेस्टी प्रतिवेदनलाई म्यानपावर व्यवसायीले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका थिए ।

 

प्रतिवेदनमा विदेशमा काम सुरक्षित गर्नका लागि सेवा शुल्क तिर्न ठूलो ऋण लिने सम्भावित आप्रवासीहरूको नियतमाथि प्रकाश पार्दछ भन्ने उल्लेख गर्दै वैदेशिक रोजगार कम्पनीले आफू सहमत भइरहेको काम, त्यसको तलब र काम गर्ने अवस्थाबारे ‘झूटो कुरा’ बताउँदै छन् भन्ने कुरामा श्रमिकहरू बेखबर रहेको उल्लेख गरिएको छ ।

 

प्रतिवेदन तयारी क्रममा करिब १ सय ५० जना आप्रवासी श्रमिकको अन्तर्वार्ता लिइएकामा तीमध्ये ९० प्रतिशतलाई काम सम्बन्धी उनीहरूको करार नामाबारे वैदेशिक रोजगार कम्पनीले ढाँटेको पाइएको छ ।

 

एम्नेस्टी नेपालका प्रमुख रामेश्वर नेपाल र लिबियाबाट पीडित बनेर र्फकनुपरेका श्रमिक दिनेश अधिकारीले पनि आफ्नो अनुभव साटेका थिए । यसैगरी साउदी अरेबियाबाट र्फकंदा दुवै खुट्टा गुमाएका पुष्पबहादुर घले र पौरखी नेपाल संस्थाबाट उद्धार गरिएका महिला श्रमिकको विवरण समेत प्रस्तुत गरिएको थियो ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024