विदेशमा पढ्न पठाउने बहानामा ठगि गरेको अभियोगमा अरोमा इन्टरनेशनल एजुकेशन प्रालिका सञ्चालक लीला थापा पक्राउ परेका छन्। अनुमति नै नलिई नेपाली विद्यार्थीलाई बेलायत, आयरल्यान्ड, डेनामार्क लगायतका देशमा पढ्न पठाउने भन्दै पैसा लिएर ठगी गरेको भन्दै केन्द्रिय अनुसन्धान व्युरोले थापालाई पक्राउ गरेको हो।
व्युरो अधिकारीका अनुसार बाग्लुङ, रेश गाबिस-७ का ३१ वर्षीय थापाले विदेश पढ्न पठाउने बहानामा १५ जना विद्यार्थीसँग पैसा लिएर भारतमा गएर बसेका थिए।
अनुसन्धानकोक्रममा आरोमा इन्टरनेशनलले अनुसन्धान तथा परामर्श सेवाका लागिमात्र सरकारी अनुमति पाएको खुलेको थियो। विद्यार्थीसँग करिब ४५ लाख रकम उठाएर भारत भागेका उनी कात्तिक २२ गते काठमाडौं आएर कार्यालय नगई लुकेर बसेको जानकारीको आधारमा प्रहरीले खोजी गरी बिहीबार बागबजारवाट पक्राउ गरेको थियो।
पीडित विद्यार्थीले थापाविरुद्ध महानगरीय प्रहरी परिसर हनुमानढोकामा ४५ लाख ५७ हजार रुपियाँ ठगिएको भन्दै उजुरी दिएका थिए। व्युरोले थप अनुसन्धान र कारबाहीका लागि उनलाई परिसरमा पठाएको छ।