यात्रुको राहदानी कर्मचारीको खल्तीमा

17 November, 2011

केपी ढुंगाना

भारत सिक्किमकी प्रीति राई-सुब्बा अर्काको राहदानीमा कुबेत पुगेकी थिइन्। उनले आफ्नो तस्बिर टाँसेको राहदानी नवलपरासीकी सावित्रीकुमारी क्षेत्रीको थियो। घरेलु कामदार बन्न कुबेत पुगेकी प्रीतिलाई नेपाली राजदुतावासले नियन्त्रणमा लिएर काठमाडौं फर्काइदिएको थियो। त्यसको जानकारी अध्यागमन विभाग, परराष्ट्र मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पठाएको थियो।

 

प्रीति मंगलबार साँझ फ्लाई दुबईको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिन्। अध्यागमनको ६ नम्बरको टेबुलका कर्मचारी विष्णुप्रसाद आचार्यले राहदानी हेरे। प्रीतिलाई विमानस्थलबाहिर जान दिए। उनको राहदानी आफ्नै खल्तीमा राखिरहे। 

 

प्रीति कतिखेर आइपुग्लिन् र पक्राउ गरेर अनुसन्धान गरौंला भन्दै सिआइबीको टोली विमानस्थलबाहिर कुरिरहेको थियो। टोलीले प्रीतिलाई समात्यो तर उनीसँग पासपोर्ट थिएन। बु‰दै जाँदा अध्यागमनका कर्मचारीको खल्तीमा फेला पर्‍यो।

 

विदेशबाट फिर्ता गरिएका व्यक्तिलाई नियन्त्रणमा लिएर अध्यागमन विभागमा पठाउनुपर्ने कानुनी प्रावधान छ। शाखा अधिकृत आचार्यले भने उनको राहदानी आफैंले राखेर प्रीतिलाई विमानस्थलबाट बाहिर जान दिए। 

 

सिक्किम बरमेटोकल नाम्पि्कङकी प्रीति नवलपरासीकी सावित्रीकुमारीको नाममा जारी ३३९५११५ नम्बरको राहदानीमा आफ्नो तस्बिर राखेर कुवेत पुगेको नेपाली दुतावासले फेला पारेको थियो। 

 

प्रीति गत जुलाइ १४ मा मुम्बई हुँदै दुबई उडेकी थिइन्। सिक्किम निवासी पञ्चु प्रधान र सविता प्रधानले उनलाई मुम्बई लगेर ५ हजार भारतीय रुपैयाँमा नेपाली राहदानीको तस्बिर परिर्वतन गरी कुवेत पठाएको विवरण खुलाएर दुतावासले उनलाई फर्काएको थियो। 

 

सिआइबी प्रमुख उपेन्द्रकान्त अर्यालका अनुसार डिएसपीको कमान्डमा रहेको सिआइबी टोलीले प्रीतिलाई नियन्त्रणमा लिँदा राहदानी फेला पार्न सकेन। उनकै जानकारीका आधारमा अध्यागमनका कर्मचारी आचार्यको खल्तीबाट फेला पर्‍यो। सिआइबीले घटनाको मुचुल्का बनाएर आचार्यलाई अध्यागमन विभागको जिम्मा लगाइदिएको छ। र, राहदानीसम्बन्धी गड्बडीको अनुसन्धान थालेको छ। 

 

आचार्यले राहदानी राखेर आफूलाई बाहिर जान दिएको प्रीतिले सिआइबीलाई बयान दिएकी छन्। आचार्यले भने राहदानी लिएर सोधपुछका लागि बस्दै गर्नू भनेको र उनी जानकारी नै नदिई विमानस्थलबाट बाहिरिएको प्रहरीलाई बताएका छन्। सिआइबीको शंकाअनुसार प्रीतिलाई ‘पैसा असुलेर’ भगाउन खोजिएको हो। विमानस्थलका अध्यागमन प्रमुख केशव पुडासैनीले प्रहरीको मुचुल्का प्रतिवेदन सही हो भने आफ्ना सहकर्मीले गल्ती गरेको स्वीकार गरे। तर उनले अध्यागमनको अनुसन्धानसँग प्रहरी मुचुल्का बाझिएको पनि जिकिर गरे। 

 

‘आचार्यको प्रतिवेदन हेर्दा विभागीय कारबाही नै गर्नुपर्ने गल्ती गरेको देखिएको छैन,’ पुडासैनीले भने, ‘गल्ती देखिए कारबाही गर्छौं।’ 

विमानस्थलका यात्रुसँग रकम असुलीमा अध्यागमनका कर्मचारी हालैमात्र मुछिएका थिए। सोलुखुम्बुकी डेचेन शेर्पासँग एक लाख रूपैयाँ घुस लिन अमेरिका उड्नबाट रोकेको घटना एक महिनाअघि मात्र भएको थियो। पछि उनी घुस दिएरै उड्न पाएको श्रव्यदृश्य एक महिनाअघि सार्वजनिक हुँदा कर्मचारी पूर्णबहादुर बस्नेत, हरिप्रसाद न्यौपाने, नैनबहादर कार्की र विश्न्तर सुकुभुटु निलम्बित भए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024