कल्पना घिमिरे
वैदेशिक रोजगारीका लागि खाडीलगायत दक्षिण एसियाली मुलुक जाने नेपाली महिला असुरक्षित हुने गरेको एक अध्ययनले देखाएको छ । अधिकांश साक्षर र निराक्षर भएकाले रोजगारीका क्रममा विदेशमा मात्र नभई नेपालकै विमानस्थलमा समेत अलमलिने गरेका हुन् ।
माइती नेपालले केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा एक महिनासम्म गरेको अध्ययनले वैदेशिक रोजगारीमा जाने अधिकांश महिला साक्षरमात्र भएको देखाएको छ । विमानस्थलबाट दुवई, कुवेत, लेवनान, ओमन बहराइन, भारत, मलेसिया, कतारलगायत मुलुक जान हिँडेका चार सय ६४ महिलाको अनुसन्धान गर्दा एक सय नौ साक्षरमात्र भएको पाइयो भने ७५ जनाले अक्षरै चिनेका थिएनन् । माध्यमिक तहसम्मको योग्यता भएका सय र प्राथमिक तहसम्म मात्र शैक्षिक योग्यता भएका ९० थिए भने उच्च्ा माध्यमिक तहको शैक्षिक योग्यता लिएका ५४ मात्र थिए । घरेलु कामका लागि विदेश जाने अधिकांश आदिवासी जनजाति भएको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये २१ देखि २५ वर्ष उमेरका दुई सय नौ र २६ देखि ३० वर्षका एक सय १३ जना रहेका छन् । ३० वर्षभन्दा माथिका सय र १८ देखी २० वर्ष उमेरका ३० छन् ।
‘कामका लागि आवश्यक तालिम, भाषा र कागजातबिना नै विमानस्थल पुगेका महिला थुप्रै भेटिए,’ माइती नेपालका कार्यक्रम अधिकृत मदन चौलागाईंले भने, ‘५८ महिलाले आफ्नो ठेगाना र ३९ ले आफू कुन देश जानेसमेत बताउन सकेनन् ।’ जानेमध्ये नौ जनालाई आफ्नो उमेर कति भन्नेसम्म थाहा छैन । उनीहरू विमानस्थल जाने समयमा आफूसँग राहदानी, टिकट र अन्य आवश्यक कागजात नलिई आएका थिए । आफूहरूले महिनादिनसम्म अनुसन्धान गर्दा नेपाली महिला विमानस्थलमै असुरक्षित पाइएको उनले जानकारी दिए ।
‘आवश्यक कागजात आफूसँग नहुँदा विमानस्थल पुगेर कहाँ जाने, के गर्नेबारे धेरै अलमलमा पर्दा रहेछन्,’ चौलागाईंले कान्तिपुरसित भने, ‘नक्कली कागजात बनाई वैदेशिक रोजगारीमा जानेलाई विमानस्थल पुर्याउन आउनेहरू कागजात जाँच गर्न थालेपछि भागेका घटना पनि देखिए ।’
तीन वर्षका लागि रोजगारीमा पठाइएको भनिएका महिलाको १५ दिनको मात्र टिकट भेटिएको प्रतिवेदनमा उल्लेख छ , ‘विमानस्थल पुगेपछि कहाँ गएर के गर्नेबारे रोजगारीमा जानेलाई जानकारी छैन । पठाइदिने व्यक्ति त्यहाँ नपुगेपछि कतिपय महिला विमास्थलबाटै र्फकने गरेका छन् ।’
आफू जाने देशको राष्ट्रिय भाषा सिकेर जानेहरू एक सय ९२ मात्र छन् । दुई सय ४३ जनालाई भाषाको कुनै ज्ञान नभएको पाइयो । ‘भाषा भन्ने शब्दै नसुनेका २९ जना भेटिए । उनीहरू नेपाली भाषामात्र बोल्न सक्थे । विदेश जानेमध्ये सबैभन्दा बढी घरेलु काममा जाने गरेका छन् । चार सय ६४ मध्ये दुई सय ६४ ले घरेलु र १३ ले कम्पनीमा काम गर्न जाने बताए ।