प्रतिमा बाँस्कोटा
पर्यटक भिसामा युवतीलाई खाडी मुलुकका डान्सबारमा लैजाने नेपाल एयरलाइन्सका एक कर्मचारीसहित तीन दलाललाई प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले शुक्रबार राति खाडी मुलुक जान लागेका सात महिलालाई नियन्त्रणमा लिएपछि उनीहरूको सूचनाका आधारमा दलाल समूह पक्राउ परेको हो । पक्राउ पर्नेमा एयरलाइन्सका कर्मचारी मिगी केसी, डान्सबारका लागि युवती खोजी गर्ने ललित महर्जन र उनीहरूको नक्कली कागजपत्र तयार गर्ने राजन सुवेदी छन् । सुवेदी हात्तिसारस्थित ग्यालिलियो ट्राभल्सका सञ्चालक हुन् ।
केसीलाई शनिबार राति ८ बजे ललितपुरस्थित घरबाट पक्राउ गरिएको हो । उनले ती युवतीलाई कागजपत्रबिनै विमानमा चढाउने गरेको प्रहरीले जनाएको छ । महर्जनले १५ वर्षदेखि खाडी मुलुकमा काम गर्ने युवतीको खोजी गर्ने गरेको बताए । ‘इच्छुक युवतीलाई लैजाने गरिएको छ,’ उनले भने । सुवेदीले मलेसिया र दुबईका पर्यटक भिसासहित कागजपत्र मिलाइदिने गरेको प्रतिक्रिया दिए । ‘टिकट मिलाउने काम गरेको हुँ,’ उनले भने ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी नारायण बस्ताकोटीले दलालले विमानस्थलसँग सम्बद्ध कर्मचारीको मिलेमतोमा युवती पठाउने गरेको बताए । ‘एयरलाइन्सकै कर्मचारी पक्राउ पर्नुले त्यो पुष्टि भयो,’ उनले भने । बस्ताकोटीले चेलिबेटीलाई प्रलोभन देखाएर खाडी मुलुक पुर्याएपछि अलपत्र पार्ने र अनुचित कार्यमा जबर्जस्ती लगाउने गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । ‘डान्सबार र रेस्टुरेन्टमा वेटरको काम लगाइदिने भनेर श्रम अनुमतिबिना लगेपछि दलालको खुसीअनुसार युवतीलाई चलाउने गर्छन्,’ बस्ताकोटीले भने, ‘यो प्रलोभनमा पारेर बेच्न लगिएको हो ।’
नेपाली युवतीहरू विदेशी मुलुकका डान्सबारमा काम गर्न जाने घटना भने नौलो होइन । एक वर्षअघि सिंगापुरको डान्सबारमा युवतीलाई लगेर जबर्जस्ती डान्स गर्न लगाउने दुई नेपाली मोडललाई प्रहरीले पक्राउ गरेको थियो । सिंगापुरसहित खाडी मुलुकका डिपार्टमेन्टल स्टोर लगायतमा काम लगाइदिने भन्दै नेपाली चेलीलाई लैजाने गरिएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिइएका युवती र नेपाल र मलेसियामा रहेका दलालबीचको टेलिफोन संवाद सुनाएका थिए ।
त्यसमा महिलाले आफूहरूलाई विमानस्थलबाट प्रहरीले जान नदिएको जानकारी यहाँका दलाललाई गराएकी थिइन् । ‘तपाईंहरूले भित्र सेटिङ गर्नु भएनछ, हामीलाई जान दिएको छैन,’ युवतीले टेलिफोनमा भनेकी छन्, ‘कोसँग सेटिङ गराएको हो, उसलाई तुरुन्त छुटाउनुपर्यो ।’ फोन उठाउने दलालले ‘राजनजीले सेटिङ गरेको हो, के भएछ म बुझ्छु’ भनेका छन् । प्रस्थान पास लिएर हिँड्न लागेका उनीहरूलाई सोधपुछ गर्दा पर्यटक भिसामा काम गर्न जान लागेको बताएका थिए । पर्यटक भिसामा अर्को देश घुम्न जाँदा निश्चित अमेरिकी डलर बैंकमा दाखिला गरेको हुनुपर्छ । त्यस्तो नभेटिएपछि प्रहरीले उनीहरू माथि थप सोधपुछ गरेको थियो । युवतीहरू १८ देखि २८ वर्ष उमेर समूहका छन् । यिनीहरूमध्ये केही पहिला पनि गएर आएको डीआईजी बस्ताकोटीले जानकारी दिए । उनीहरूले जनही ११ हजार रुपैयाँ खर्च गरेको प्रहरीले जनाएको छ ।