चार नेपाली एक महिनादेखि भारतीय जेलमा

11 October, 2011

दिल्ली प्रहरीले नक्कली भिसा उपलब्ध गराउने धन्दामा संलग्न आरोपमा चार नेपालीलाई एक महिनादेखि थुनामा राखेको छ। गत वैशाखको सुरुमै कामका लागि अफ्रिका जान चाहने आठ नेपालीलाई नक्कली भिसा उपलब्ध गराएको आरोपमा स्याङ्जाका देवेन्द्र गुरुङ र बाराका टेकबहादुर घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिई न्यायिक हिरासतमा राखेको हो।उनीहरूलाई तिहाड जेलमा राखिएको छ।

सोही आरोपमा रुपन्देहीका सकिल अहमद पनि पक्राउ परेका छन्। उनलाई प्रहरीले भारतीय सीमा सुनौलीबाट पक्राउ गरेको थियो।

अर्का आरोपी रोहित अभिनासलाई बिहार प्रहरीले थप अनुसन्धानका लागि आफैंसँग राखेको छ। प्रहरीले यही मुद्दामा राहुल भनिने सहदेवलाई पनि खोजिरहेको छ।

‘नक्कली भिसा उपलब्ध गराएको अभियोगमा भारतीय दण्डसंहिता ४७१,४२०, १२०(बी) र ४६७ अनुसार उनीहरूविरुद्ध मुद्दा दर्ता भएको छ,’ घिमिरेको मुद्दा हेरिरहेका वकिल नन्द शर्माले नागरिकसँग भने।

हेल्प नेपाल मिसन नामक संस्थाले पक्राउमध्ये घिमिरे निर्दोष रहेको भन्दै छुटाउने पहल गरिरहेको छ।

मिसनले घिमिरे गलत मुद्दामा फसेको जनाएको छ। मिसनले तयार गरेको प्रतिवेदनअनुसार घिमिरेले भिसाका लागि असारमा गुरुङसँग सम्पर्क गरेका थिए।

‘मुख्य अभियुक्त गुरुङ हो, घिमिरे पीडितमात्रै हुन्,’ मिसनका कवि कार्कीले नागरिकसँग भने, ‘हामी घिमिरेलाई अदालतबाट धरौटीमा छुटाउन सक्दो कोशिस गरिरहेका छौं।’

कार्कीले प्रभात नाम गरेका गुरुङका सहयोगीको समेत घिमिरेलाई फसाउन हात रहेको जनाए। ‘गल्तीले प्रहरीलाई नाम दिने गुरुङ नै हुन्,’ कार्कीले भने, ‘हामी निर्दोष नेपालीलाई जोगाउन चाहन्छौं।’

घिमिरेले दक्षिण अफ्रिका जान भिसा पाउने आशमा प्रभात भन्ने व्यक्तिलाई २ लाख दिएको आरोप पनि लगाए। घिमिरेलाई दिइएको नक्कली भिसा अदालतमा पेस गरिए अदालतले उनलाई धरौटीमा छोड्न इन्कार गरेको बताए।

धरौटीमा छुटाउन गरिएको वकिलको अपिललाई तल्ला तहका दुवै अदालतले इन्कार गरिसकेका छन्। पुनरावलोकनका लागि यसलाई अब दिल्लीको हाईकोर्ट पठाउनुपर्नेछ।

यसअघि नै दिल्ली प्रहरीले सिता करणजित भन्ने महिलालाई यस्तै अभियोगमा सोधपुछ गरी रिहा गरिसकेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024