वैदेशिक रोजगारीका लागि करिब ८ लाख विदेसिए

27 July, 2023

गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३ सय २७ जना श्रमिक श्रम स्वीकृति लिएर विदेश गएका छन्। यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जानेहरूको संख्या हो।

वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल ६ लाख ३७ हजार १ सय ३३ जना श्रमिक विदेसिएका थिए। यस्तै गत आर्थिक वर्षमा १ लाख ३४ हजार २ सय १४ जना बढीले विदेशमा काम गर्न श्रम स्वीकृति लिएको पनि उनले बताए।

वैदेशिक रोजगारीका लागि गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी श्रमस्वीकृति कात्तिकमा लिइएको पाइएको छ। कात्तिकमा ७८ हजार ३ सय ७० जनाले श्रमस्वीकृति लिएका थिए भने सबैभन्दा कम वैशाखमा ५४ हजार ४ सय ५७ जनाले श्रमस्वीकृति लिए।

गत भदौमा ७६ हजार ४ सय ३ जना, साउनमा ६५ हजार ४ सय ६२ जना, असारमा ७१ हजार पाँच सय र मङ्सिरमा ६८ हजार ५ सय ६४ जनाले श्रम स्विकृति लिएका थिए।

पुसमा ६४ हजार ४ सय ६४ जनाले र माघमा ६४ हजार २ सय ८४ जनाले वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर विदेसिएका छन्। त्यसै गरी गत फागुुनमा ६१ हजार ८ सय ४५, चैतमा ६१ हजार ४ सय ७८, जेठमा ५९ हजार ४ सय २२ र असोजमा ५८ हजार १ सय ९२ जनाले श्रमस्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ।

रोजगारीका निम्ति विदेसिने युवाको संख्या पहिलो पटक एक वर्षमै पाँच लाख नाघेको आर्थिक वर्ष २०७०/७१ बाट हो। कोभिड महामारीसम्म आइपुग्दा त्यो संख्या घट्दै गएको देखिन्छ।

वैदेशिक रोजगार बोर्डका अनुसार कोभिडको महामारीपछिको वर्ष वैदेशिक रोजगारीमा ६ लाखभन्दा धेरै गए र गत आर्थिक वर्षमा त्यो संख्या साढे सातभन्दा बढी नाघेको छ।

नेपालबाट जाने लगभग सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्ष रहने गरेको श्रम मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भूसालले बताए। पछिल्ला तीन वर्षमा आधा संख्या २५ देखि ३४ वर्ष उमेर समूहको छ।

श्रम स्वीकृति लिएको तथ्यांकमा भिजिट भिसामा गएर दुबईमा श्रम भिसा लिने र भारतको बाटो भएर वा अध्यागनसँग सेटिङ गरेर श्रम स्वीकृति नलिई युरोपेली देशहरूमा जानेको संख्या सामेल छैन। मौसमी कामदार ‘सिजनल वर्कर’ का रूपमा कोरिया र बेलायत लगायतका देशमा जाने तथा भारतमै श्रमका लागि जानेहरूको पनि संख्या उल्लेख गरिएको छैन।

विदेशमा घरेलु कामदार पठाउन गरिएको अवरोध नखुल्दा धेरै महिला अवैध बाटो भएर विदेश गइरहेका छन्, यसका कारण महिला श्रमिक अवैध भएर झन् असुरक्षित तवरले विदेशमा काम गर्न बाध्य छन्। सरकारले भारत जानेलाई श्रम स्वीकृति लिनुपर्ने व्यवस्था नगरेकाले रोजगारीका लागि परदेश पुग्ने सबै तथ्यांकमा समेटिएका छैनन्।

आर्थिक वर्ष २०७०/७१ मा रोजगारीमा विदेश जानेको संख्या ५ लाख नाघेपछि त्यसपछिको वर्ष मृत्यु हुनेको संख्या पनि पहिलो पटक एक हजार नाघेको हो। त्यसभन्दा अघिल्ला र त्यसपछिका पाँच वर्ष मृत्यु हुनेको संख्या १ हजारभन्दा कम थियो भने आर्थिक वर्ष २०७७/७८ बाट फेरि मृतकको संख्या पनि १ हजार नाघिरहेको छ।

बोर्डका अधिकारीहरूका अनुसार प्राकृतिक मृत्यु, कार्डियाक अरेस्ट, आत्महत्या, दुर्घटना आदि मृत्युको मुख्य कारण रहेको पाइएको छ। वैदेशिक रोजगार विभागका एक अधिकृतले भने, ‘कतिपय देशका केही ठाउँमा मृत्युपछि हचुवाको भरमै मृत्युको कारण प्राकृतिक भनेर लेखिने गरेको पनि पाइन्छ।’ यसरी विदेश जानेको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि उच्च रहेको छ।

महामारीका कारण देशभित्रै रोकिएका युवाहरू पनि अहिले कामको खोजी गर्दै विदेसिनु स्वभाविक भइसकेको छ। वैदेशिक रोजगार विभागका प्रवक्ता सुवेदी पनि देशभित्र पर्याप्त रोजगारीको अवसर नभएकैले ठूलो संख्यामा युवाहरू विदेसिएको बताउँछन्।

‘एउटा अवधि काम गरेर स्वदेश फर्किएकाहरू पनि यहाँ अवसर नपाएकै कारण उतै फर्किरहेका छन्। ‘थोरैका लागि मात्रै वैदेशिक रोजगारी रहर हुन सक्छ तर धेरैको लागि त यो बाध्यता नै भएको,’ प्रवक्ता सुवेदीले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024