माधव ढुंगाना
जोखिम र दलालको फन्दामा परेर प्रताडित नेपाली नागरिकको उद्धारका निम्ति गोरखपुरमा ‘नेपाली नागरिक सहायता केन्द्र’ को स्थापना गरिएको छ ।
भारतको उत्तर पुलिससँग सहकार्य गर्दै भारत-नेपाल मैत्री समाज, गोरखपुरले केन्द्रको स्थापना गरेको हो । केन्द्रलाई स्थानीय भारतीय नागरिक समाजको पनि सहयोग रहेको छ । गोरखपुर रेलवे स्टेसन अगाडिको पुलिस चौकी परिसरमा स्थापित उक्त केन्द्रको गोरखपुर क्षेत्रका पुलिस महानिरीक्षक -आइजी) विजय कुमारले शनिबार उद्घाटन गरे । ‘कुनै पनि समस्यामा परेका नेपालीलाई जानकारी प्राप्त हुनासाथ केन्द्रले तत्काल सहयोग प्रदान गर्नेछ’ उद्घाटनका क्रममा आइजी विजय कुमारले भने- यसबाट समस्यामा परेका जोकोही नेपालीले लाभ लिन सक्नेछन् । नेपालीको उद्धार गर्ने नाममा भारतमा सञ्चालित केही संस्थाले झन् नेपालीलाई नै थप उत्पिडनमा पार्ने गरेको दाबी उनले गरे । यात्राको क्रममा सर्वाधिक नेपालीलाई प्रयोगमा आउने सहर भएकाले गोरखपुरलाई ट्रान्जिट प्वाइन्टका रूपमा लिने गरिन्छ ।
सुनौलीबाट एक सय किमि दक्षिणको गोरखपुरमा भारतको जताततै जान सकिने रेल सेवा उपलब्ध छ । गोरखपुर पुगेपछि विभिन्न दलालबाट नेपाली नागरिक प्रताडित हुने क्रम पछिल्ला वर्षमा बढ्दै गएपछि पुलिस र नागरिक समाजको सहकार्यमा केन्द्रको स्थापना गरिएको हो ।
झुक्याएर लगिएका चेली, चालक तथा कर्मचारीले जबरजस्ती तान्ने, होटलमा बस्दा सताउने र भाषाको समस्या परेमा जो कोही नेपालीलाई सम्पर्क गर्न केन्द्रले आग्रह गरेको छ ।
गोरखपुर पुगेपछि केन्द्रमा उल्लेख गरिएका विभिन्न टेलिफोन तथा मोबाइल नम्बर टिपेर साथमा राख्न र कुनै पनि स्थानमा समस्या पर्नासाथ सम्पर्क गर्न आग्रह गरिएको छ । ‘महिला बेचबिखन रोक्ने नाममा सञ्चालित कतिपय व्यक्ति तथा संस्थाले रोजगारीको क्रममा आफन्तको साथमा आउने नेपाली महिलालाई तिमी देह व्यापारका निम्ति जान लागेको हो भन्दै जबरजस्ती सताएर नेपाल फर्काइदिने गरेका छन्’ भारत-नेपाल मैत्री समाज गोरखपुरका महासचिव अनिल गुप्ताले भने, ‘यस्ता घटनाको तथ्यांक संकलन गरेर दातृ निकायलाई मख्ख पार्ने गरेका छन् ।’ उद्घाटनपछि आइजी विजय कुमारले आफू मातहतका आधा दर्जन उच्च पुलिस अधिकारीलाई जम्मा गरी नेपालीलाई प्रताडित गर्ने जोसुकैलाई तत्कालै कारबाही गर्न निर्देशन दिएका थिए ।