नागरिकता खोज्दै ‘नेपाली बाजे’

23 June, 2011

रमेशकुमार पौडेल

मुल घर धनकुटा छाडेर ५० वर्षअघि भारतको आसाम पस्दा दिलबहादुर पराजुली क्षेत्रीको जुँगाका रेखीमात्र बसेको थियो । परदेशमा हाडछाला घोट्दा कमाइ राम्रो नहुँदा पनि उनलाई पीर छैन। बरु अहिले अनागरिक नै भएर मरिने चिन्ताले पिरोलिएका छन्।

आमाबुबाका तीन छोरामध्ये माइला हुन् दिलबहादुर। गाउँमा त्यतिबेला कमाउनका लागि आसाम जाने चलन दियो। १५ वर्षमै दिलबहादुर जन्म घर छाडेर विदेसिनेको हुलमा मिसिए। लामो समय आसाममा बसे पनि उनको सम्पत्ति भन्नु केही छैन। नेपालको नागरिकता लिने चाहना मनभरि छ तर पाइने, नपाइने ठेगान छैन।

आसाममा थुप्रै नेपाली गाई पालेर बसेका थिए। सुरुमा दिलबहादुरले एकजना नेपालीको गाई गोठमा सघाए। पाँच वर्षपछि आफ्नै गोठ राखे। किन हो, गाई पालन उनलाई फापेन। गोठभरीका गाई रोगले मर्न थाले। लगातार २० वर्ष गाई पालेपछि उनले पेसा छाडे र केही समय त्यसै भौतारिए।

आसामको काजिरङ्गा नेसनल पार्कमा विश्वकै सबैभन्दा धेरै २ हजार ४८ एक सिंगे गैंडा पाइन्छ। सोही नेसनल पार्कनजिकै चिया पसल चलाएका छन् उनले। ‘सरकारी जमिन भाडामा लिएर चिया पसल चलाएको १५ वर्ष भयो,’ उनले भने, ‘सबैले ‘नेपाली बाजे’ भनेर चिनिन्छन्। तर आफूसँग नागरिकतै छैन।’

पहिलो पत्नीबाट सन्तान नभएपछि उनले दोस्रो बिहे गरे। दोस्रो श्रीमतीबाट एक छोरा र तीन छोरी भएका छन्। छोरा भर्खर १८ का लागे। अरु सानै छन्। सातजना परिवारको पालनपोषणको स्रोत चिया पसल हो।

दिलबहादुरका दाजुभाइ अहिले झापा दमक नजिकको गाउँ ठाकुरबारीमा बस्छन्। आठ वर्षअघि उनी त्यहाँ पुगेर एक महिना बसे। तर, नागरिकताको लागि धनकुटा नै जानुपर्ने भयो। ‘आसाममा जेठी श्रीमती बिरामी परेकाले खबर तुरुन्त फर्कनू भन्ने खबर गयो,’ उनले भने, ‘त्यसपछि नेपाल जाने साइत जुर्न सकेको छैन।’

धनकुटा अड्डामा काम गरेका काका कीर्तिबहादुरलाई भेट्न सके नागरिकता पाइन्थ्यो भन्ने उनलाई लागेको छ। ‘विदेशमा जीवन गुजारे पनि बाँच्ने दरिलो आधार बनाउन सकिनँ,’ उनले भने, ‘आफू तलमाथि भए विदेशमा परिवारको बिचल्ली होला भन्ने पीर लाग्छ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024