विदेशमा नेपाली विद्यार्थी अलपत्र परेपछि कन्सलटेन्सीमाथि गृहले थाल्यो निगरानी

8 February, 2022

काठमाडौं : गृह मन्त्रालयले शैक्षिक परामर्शदाता संस्था (कन्सलटेन्सी) माथि निगरानी थालेको छ ।  कन्सलटेन्सीबाट विभिन्न देशका शैक्षिक संस्थामा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरु अलपत्र परेको भन्दै गृहले निगरानी थालेको हो ।

विदेश जाँदा सम्बन्धित देश, शैक्षिक संस्थाहरुले निर्धारण गरेको प्रक्रिया पूरा नगरी जाने, उक्त देशहरुमा गई अलपत्र पर्ने तथा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने जस्ता घटना, समाचार र गुनासाहरु प्राप्त भएको उल्लेख गर्दै गृहले भनेको छ, ‘इजाजतपत्र नलिई अनाधिकृत रुपमा संचालन भएका शैक्षिक परामर्शदाता संस्थाहरु, अनधिकृत रुपमा ईजाजत नलिई अनलाइन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु, अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाको प्रतिनिधिको रुपमा कार्य गर्ने व्यक्तिहरु उपर सरकारले निगरानी गरिरहेको छ ।’

गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘त्यस्ता गतिविधि सञ्चालन गरेको पाइएमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने’ चेतावनीसमेत दिइएको छ ।

गृहले अलपत्र विद्यार्थीलाई गैरकानूनी रुपमा काम गरेको कन्सलटेन्सी तथा प्रतिनिधिविरुद्ध जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत उजुरी दिन आह्वानसमेत गरेको छ । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेरमात्र अध्ययनका लागि जान गृहले सुझाव पनि दिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024