शरणार्थीलाई भविष्यकै चिन्ता

21 June, 2011

चेतन अधिकारी

वर्षौंदेखि भुटानी शरणार्थीले उत्साहसाथ मनाएको शरणार्थी दिवसमा यो वर्ष कुनै उल्लास थिएन । सधैँ दिवसका खचाखच हुने चौरमा यसपटक नगण्य उपस्थिति थियो । दिवसको उत्साहभन्दा शरणार्थीलाई अन्योलग्रस्त भविष्यको चिन्ताले सताएको उनीहरूको धारणा छ ।

‘दिवसको के उत्साह भयो र ?’ शरणार्थी महिला मञ्च बेलडाँगी १ की सदस्य हेमाकुमारी सुवेदीले भनिन्, ‘शरणार्थी परिचयबाट फुत्किन चाहेका हामीलाई यो दिवस मनाइरहनुपर्दा दिक्क लाग्छ ।’

दुई दशकदेखि नेपालका सात शिविरमा बस्दै आएका नेपालीभाषी भुटानी शरणार्थीको परिचय नेपालमा अब कमजोर बन्दै गएको उनीहरूको भनाइ छ । उनीहरूलाई स्वदेश फर्काउने १५ औं चरणसम्मका नेपाल भुटान वार्ता असफल भएपछि अल्पकालीन समाधान भन्दै यूएनएचसीआरले विश्वका विकसित मुलुकमा स्थानान्तरण सुरु गरेपछि करिब आधा शरणार्थीको नेपालको बसाइ सकिएको छ ।

यूएनएचसीआरका अनुसार करिब ४८ हजार शरणार्थी पुनर्वास भइसकेका छन् । यही मेसोमा झापाको गोलधापस्थित शिविर स्थापना भएको करिब १९ वर्षपछि खाली भयो ।’ शरणार्थीको संख्या घट्दै गएपछि टिमाइ र खुदुनाबारी पनि खाली गराइँदै छ,’ यूएनएचसीआरसम्बद्ध एक अधिकारी भन्छन्, ‘अगस्टदेखि टिमाइका शरणार्थी बेलडाँगी सारिँदै छ । वर्ष दिनभित्र बेलडाँगी र पथरी शिविर मात्र रहन्छन् होला ।’ अहिले छ वटा शिविरमा मात्र बसेका छन् ।

तेस्रो देश पुनर्वासमा जाने कुरा गर्नु सुरुका वर्षमा चुनौतीपूर्ण भए पनि अहिले गौरवको कुरा भएको शरणार्थी बताउँछन् । तेस्रो देश जाने मेसोमा कुरा गर्दा ०६४ सालमा बेलडाँगीका हरि बगालेमाथि शरणार्थीको आक्रोश र त्यसैमा उठेको आन्दोलनले केही वर्ष शिविरहरूलाई तनाव रह्यो । त्यसकै सेरोफेरोमा उनीहरूले स्वदेश फिर्तीका लागि गरेको आन्दोलनमा नेपाल प्रहरीको गोलीबाट बेलडाँगीमा एकजना र मेची पुलमा अर्का एक युवाको ज्यान गएका थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024