घरेलु कामदारको अवस्था अध्ययन गर्ने संसदीय टोली ओमानमा

1 March, 2020

संसदीय टोलीले ओमान, साउदी अरब र युएईमा अध्ययन गर्ने

काठमाडौँ — खाडीमा रहेका घरेलु कामदारहरुको अवस्था अध्ययन गर्न उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तावको नेतृत्वको ९ सदस्यीय टोली शनिबार ओमान पुगेक‍ो छ।

२०७३ चैत २० गते तत्कालिन संसदीय समितिले घरेलु कामदार पठाउन पूर्णरुपमा रोक लगाए पछिको अवस्था बुझ्न संसदीय टोली नेपाली घरेलु कामदारको बाहुल्यता रहेको ओमान, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई)को अध्ययन गर्न गएको हो । टोलीमा राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठक, ५ सांसद, श्रम तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहेका छन् ।

कुवेतले कोरोना भाइरस संक्रमण जोखिम बढेपछि विदेशी नागरीकको आवगमनलाई रोकेपछि संसदीय टोलीले कुवेत भ्रमणलाई स्थगित गरेको छ ।

टोलीले घरेलु कामदारको सुरक्षा प्रत्याभुति गर्नको लागि चालेका नीति, अभ्यास र नेपाली घरेलु कामदारको अवस्थावारे अध्ययन गर्ने जनाएको छ । उच्च तहका सरकारी अधिकारीहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसको लागि नेपाली दूतावासले संयोजन गरेको छ । खाडीमा महिला र पुरुष गरी झन्डै एकलाख ३९ हजार घरेलु कामदार कार्यरत रहेका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले गत भदौ १९ गते श्रमस्वीकृति लिएर गएका घरेलु कामदारलाई मात्रै पुनःश्रमस्वीकृति दिने बाटो खोलेको थियो । तेश्रो बाटोबाट खाडी पुगेका घरेलु कामदार विदामा आएर पुनः पहिलेकै रोजगारदाताको घरमा फर्किनको लागि अझै खोलेको छैन । जसले गर्दा उनीहरु आफ्नो परिवारसँग पुर्नमिलन हुनबाट वञ्चित हुनुपरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024