कोरोनाभाइरसलाई लिएर दक्षिण कोरियामा रहेका नेपालीबारे संसदमा कुरा उठ्यो

26 February, 2020

दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण जटिल बन्दै गएकाले त्यहाँ रहेका नेपालीप्रति चासो लिनको लागि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद धर्मशिला चापागाईंले आफूलाई कोरियामा रहेका साथीले फोन नै गरेर कुरा उठाइदिन आग्रह गरेको सुनाउँदै सरकारले तत्काल ध्यान दिनुपर्ने बताइन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले कोरियामा रहेका नेपाली अहिले चिन्तित भएको बताउँदै सरकारले यसमा ध्यान दिनुपर्ने बताइन्।

सरकारले नेपाललाई ‘कोरोना फ्री कन्ट्री’ भनेर नारा दिएको भन्दै उनले व्यंग्य कसिन्। भुसालले विमानस्थलमा रहेका स्क्यानर मेसिन पनि बिग्रिएर थन्किएकाले त्यसलाई यथाशिघ्र मर्मत गरेर सञ्चालनमा ल्याउन आग्रह गरिन्।

चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण अहिले दक्षिण कोरियामा समेत बढिरहेको छ। कोरियामा कोरोनाभाइरसका कारण ८ जनाको मृत्यु भइसकेको छ भने ९ सय मानिस संक्रमित छन्।कोरियामा अहिले झण्डै ४० हजार नेपाली कामदार छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024