कोरोनाको त्रासका कारण कोरिया जाने ४० नेपाली कामदारको सर्‍यो उडान

23 February, 2020

दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण बढेपछि इपिएसमार्फत जाने ४० नेपाली कामदारको उडान स्थगित भएको छ।

केही दिनयता कोरियामा समेत कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले फागुन १८ गतेको प्रस्तावित उडान स्थगित भएको इपिएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिए।

गत साता इपिएसमार्फत १०३ जना कामदार कोरिया गएको खनालले बताए। ‘तत्काललाई प्रस्तावित उडान सारिएको हो। अब कोरियन दूतावाससँगको छलफलपछि कहिले उडाउने भन्ने टुंगो लाग्छ,’ खनालले भने।

आइतबारसम्म कोरोनाभाइरसका कारण कोरियामा ५ जनाको मृत्यु भएको छ भने साढे पाँच सय मानिस संक्रमित छन्। संक्रमित हुनेमा बढी थेगु प्रान्तका रहेकोमा सो क्षेत्रलाई प्रारम्भिक केन्द्रविन्दु मानिएको छ।

कोरियामा झन्डै ४० हजार नेपाली कामदार छन्। थेगुमा मात्र ७ हजार नेपाली छन्। आइतबार सियोलस्थित नेपाली दूतावासले थेगुमा रहेका नेपालीहरुलाई सावधानी अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024