काठमाडौँ — साउदी अरबमा मृत्यु भएका नेपालीसहित आप्रवासी श्रमिकहरूको मृत्युको स्पष्ट कारण खुलाउने नगरेको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले साउदी सरकारको आलोचना गरेको छ।
आप्रवासी श्रमिकको मामिलामा अनुसन्धान गर्ने बेलायतस्थित फेयरस्क्वायरले साउदीमा आप्रवासी श्रमिकको मृत्युको कारण निर्धारण गर्न प्रभावकारी नीति र प्रक्रियाको गम्भीर अभाव रहेको प्रतिवेदन सार्वजनिक गरेको हो। उक्त नीतिको अभावका कारण नेपालसहित श्रमिक पठाउने देशका कामदारहरूको ज्यान जोखिममा परेको उल्लेख गरिएको छ।
२०३४ को पुरुष विश्वकप फुटबल तथा आधुनिकीकरण परियोजना ‘नियोम’सँग सम्बन्धित निर्माण कार्यमा संलग्न श्रमिकहरूलाई मृत्युबाट जोगाउन साउदीसँग स्पष्ट नीतिको अभाव रहेको निष्कर्ष प्रतिवेदनले निकालेको छ।
मृतक श्रमिकहरूको मृत्युको स्पष्ट कारण नहुँदा मृतकका आश्रित परिवार क्षतिपूर्तिबाट वञ्चित हुनुपरेको फेयरस्क्वायरले जनाएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार २०६५/६६ यता साउदी अरबमा ३ हजार ७ सय ९३ जना नेपाली श्रमिकको मृत्यु भइसकेको छ। जसमध्ये कार्यस्थल वा दुर्घटनामा मृत्यु भएको भनेर स्पष्ट रूपमा पहिचान गरिएका ७ सय जना मृतकका परिवार मात्र क्षतिपूर्ति पाउन योग्य देखिएका थिए।
फेयरस्क्वायरका सह–निर्देशक जेम्स लिन्चले साउदीको चिकित्सा प्रणालीप्रति नै प्रश्न उठाएका छन्। ‘युवा परिवार छोडेर साउदी पुगेका लाखौँ नेपाली श्रमिकको जीवन गम्भीर जोखिममा पार्ने श्रम प्रणालीमा उनीहरू फसेका छन्। उनीहरू मृत्यु हुँदा स्पष्ट कारण पहिचान गर्ने क्षमता साउदीको चिकित्सा प्रणालीमा छैन,’ उनले भने, ‘साउदीमा आप्रवासी श्रमिकप्रति गम्भीर लापरबाही देखिन्छ। उनीहरूलाई सुरक्षा दिने वा उनीहरूको मृत्यु कसरी भयो भनेर पत्ता लगाउने चिन्ता न प्रशासनिक तहमा देखिन्छ, न राजनीतिक नेतृत्वमा। साउदीको लापरबाहीले चकनाचुर भएका परिवारलाई क्षतिपूर्ति दिने त निकै परको कुरा भयो।’
साउदी सम्बन्धी मानव अधिकार वाचको पछिल्लो प्रतिवेदनले पनि साउदी अधिकारीहरूले श्रमिकको अनाहकको मृत्युलाई न्यूनीकरण गर्न पर्याप्त उपाय हुँदाहुँदै पनि गम्भीरतापूर्वक काम नगरेको जनाएको छ। वाचले विशेष गरी कार्यस्थल सुरक्षा घटनाको अनुसन्धान गर्न र परिवारलाई समयमा उचित क्षतिपूर्ति सुनिश्चित गर्न साउदी सरकार असफल भएको दाबी गरेको छ।
फेयरस्क्वायरले साउदीद्वारा लगानी गरिएको पश्चिमी देशका कानुनी फर्ममार्फत साउदीको प्रतिष्ठा जोगाउने प्रयासमा फिफा पनि संलग्न भएको आरोप लगाएको छ। ‘पश्चिमी देशका कानुनी फर्महरू साउदीबाट ठूलो नाफा कमाउन तल्लीन छन्। तर नेपालजस्ता देशका बालबालिकाले आफ्ना बुबा बिना कसरी हुर्कन्छन् र उनीहरूको मृत्यु कसरी भयो भनेर कहिल्यै खुलाइएको छैन,’ जेम्सले भने।
फेयरस्क्वायरले साउदीमा मृत्यु भएका २३ देखि ५७ वर्ष उमेर समूहका १७ जना नेपाली श्रमिकको मेडिकल रिपोर्ट अध्ययन गरी प्रतिवेदन तयार पारेको हो। ती रिपोर्ट साउदी अधिकारीहरूले जारी गरेका हुन्।
प्रतिवेदनअनुसार १२ जना मृतकका परिवारसँग मृत्युको खास कारण पुष्टि गर्न सक्ने कुनै कागजात उपलब्ध थिएन। कार्यस्थलमै मृत्यु भएका ५ जनाका परिवारसँग पनि परिस्थितिजन्य प्रमाणहरू उपलब्ध नभएको जनाइएको छ, जसमा रोजगारदाताको लापरबाही कारक हुनसक्ने उल्लेख गरिएको छ।
साउदीमा मृत्यु भएका ३९ वर्षीय बद्री भुजेल नियोम परियोजनाअन्तर्गत सुरुङभित्र मेसिन अपरेटरको रूपमा कार्यरत थिए। काम गर्ने क्रममा अत्यधिक रगत बान्ता गरेपछि एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो।
तर गृह मन्त्रालयअन्तर्गतको निकायले जारी गरेको मृत्यु प्रमाणपत्रमा भने ‘प्राकृतिक कारण’ले मृत्यु भएको उल्लेख गरिएको छ। फेयरस्क्वायरले यसलाई गम्भीर त्रुटिका रूपमा लिएको छ।