रुस–युक्रेन युद्धमा थप ३० नेपालीको मृत्यु पुष्टि

29 October, 2025

पर्शुराम काफ्ले

रुसी सेनामा भर्ती भएका १०१ नेपाली नागरिकको रुस–युक्रेन युद्धमा मृत्यु भएको पुष्टि भएको छ । रुसको रक्षा मन्त्रालयले नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई पठाएको पछिल्लो विवरणअनुसार १२५ नेपाली अझै बेपत्ता छन् । करिब चार वर्षदेखि रुस–युक्रेन युद्ध जारी छ ।

रुसले यसअघि ७१ नेपालीले ज्यान गुमाएको जानकारी दिए पनि पछिल्लो डिएनए परीक्षणका आधारमा थप ३० जनाको मृत्यु पुष्टि भएको हो । परराष्ट्रको कन्सुलर सेवा विभागमार्फत ४१ जनाका परिवारको डिएनए परीक्षण गरेर विवरण रुस पठाइएकोमध्ये अधिकांशको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनामा कार्यरत रहेका आफन्त खोजिदिन माग गर्दै हालसम्म ३५० भन्दा बढी निवेदन विभागमा परेका छन् ।

‘रुसमा रहनुभएकामध्ये १०१ जना नेपाली नागरिकको मृत्यु पुष्टि भएको जानकारी पाएका छौँ । १२५ जनाको अवस्था अज्ञात छ, उहाँहरू बेपत्ता अवस्थामा हुनुहुन्छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार नयाँ पत्रिकासँग भने, ‘मृतकका परिवारको क्षतिपूर्तिका लागि प्रयासरत छौँ ।’

उनका अनुसार मृतकका परिवारमध्ये दुईजनाले क्षतिपूर्ति पाएको अपुष्ट जानकारी भए पनि सरकारलाई यसबारेमा जानकारी छैन । ‘क्षतिपूर्तिको विषयमा रुस सरकार र परिवारले प्रत्यक्ष रूपमा छलफल गर्ने भएका कारण परराष्ट्र मन्त्रालय, कन्सुलर विभाग वा नेपाली राजदूतावासलाई जानकारी छैन,’ प्रवक्ता क्षेत्रीले भने ।

परराष्ट्र अधिकारीहरूका अनुसार मृत्यु भएका नेपालीमध्ये पाँचजनाको अस्तु मात्रै परिवारले नेपालमा पाएको छ । फागुन ०८० मा परिवारको सहमतिमा तीनजना नेपालीको दाहसंस्कार रुसमै भएको थियो ।

परराष्ट्र प्रवक्ता क्षेत्रीका अनुसार मृतक नेपालीहरूको शव पठाउन, नेपालीहरूलाई सेनामा भर्ती नगर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन कूटनीतिक च्यानलमार्फत नेपाल सरकारका तर्फबाट रुस सरकारलाई पहिले नै आग्रह भइसकेको छ । ‘र, बेपत्ता भएकाहरूको अवस्था यकिन गर्न पनि रुस सरकारलाई भनेका छौँ । रुसी सेनामा भर्ती नहुन नेपाली नागरिकलाई आग्रह गर्दै आएका छौँ र अब पनि आग्रह गर्छौँ,’ उनले भने ।

नेपाल सरकारले विगतका सन्धिका आधारमा बेलायती र भारतीयबाहेक अन्य देशका सेनामा नेपाली नागरिक भर्तीका लागि अनुमति नदिइएको स्पष्ट पार्दै आएको छ । अहिले रुसी सेनामा नेपालीको नयाँ भर्ती रोकिएको परराष्ट्र प्रवक्ता क्षेत्रीले बताए । ‘नेपालीहरूको भर्ती अहिले भएको छैन भन्ने जानकारी आएको छ । भर्ती भएकाहरूको पनि करार रद्द गर्न हामीले भनेका थियौँ,’ उनले भने ।

तर, सेनामा भर्ती भएर रुसी नागरिकता लिएका पूर्वनेपाली नागरिकले भने सेवा नवीकरण गरेको सूचना सरकारले पाएको छ । ‘उनीहरू बिदामा नेपाल आएर फर्किने क्रम भइरहेको छ । कतिपयले त परिवार पनि रुस लगेको जानकारी पाएका छौँ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘हाम्रो सूचनाअनुसार अहिले नेपाली नागरिकको नयाँ भर्ती छैन र गरिँदैन भन्ने रुसी आश्वासन छ । रुसी नागरिकता नलिएकाहरूको सैनिक सेवा नवीकरण भएको छैन भन्ने जानकारी छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024