यूएईको भिसा आंशिक खुला

19 November, 2025

संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ । भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको यूएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिजिट तथा वर्किङ भिसा दिन कडाइ गरेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भिसामा कडाइ गरेको यूएईले आंशिक रूपमा सहज बनाएको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे डिम्दोङले विशेष सेक्टरमा भिसा जारी भएकाे पाइएको बताए । उनका अनुसार सरकारी तथा गैरसरकारी क्षेत्रका वर्किङ भिसा जारी भइरहेको छ तर, अन्यको हकमा कुनै जानकारी दिइएको छैन।

‘पहिला बाँकी रहेकोहरूको जारी भइरहेको छ । त्यो बाहेक विशेष सेक्टरमा भिसा आइरहेको छ । सेमी गभर्मेन्ट तथा सरकारसँग जोडिएका कम्पनीहरूको भिसा एप्रुभल भइरहेको छ डिम्दोङले भने ‘स्पेशल अप्प्रुभल मात्रै भइरहेको छ ।’

त्यस्तै भिजिट भिसाको हकमा समेत आंशिक मात्रै खुला गरिएको उनले बताए । यूएईले १६ नोभेम्बरमा मात्रै १८ जना नेपालीको भिसा जारी गरेको थियो ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार पूर्ण रूपमाा बन्द नभएको र आंशिक रूपमा भिसा जारी भइरहेको छ । नेपालले भिसामा देखिएको असहजता हटाउन यूएई सरकारसँग निरन्तर छलफल तथा सम्बाद गरिरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले यस विषयमा सम्बन्धित निकायसँग समन्वय र छलफल चलिरहेको बताए ।

परराष्ट्र मन्त्रालयले नेपालस्थित यूएई दूतावास अधिकारीहरूसँग समेत निन्तर छलफल गर्दै आएको छ । त्यस्तै यूएईमा रहेको नेपाली दूतावासले समेत यूएईका अधिकारीहरूसँग निरन्तर छलफल जारी राखेका छन् ।

मंगलबार मात्रै यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले यूएईको परराष्ट्र मन्त्रालयका अधिकारीसँग भेट गरेका छन् । कन्सुलर मामिला हेर्ने कार्यबाहक सहायक उपसचिव रसिद मधरसँग भेट गरेका हुन् ।

भेटका क्रममा युएईमा रहेका नेपालीहरूले भोग्नु परेका कन्सुलर तथा श्रमसँग सम्बन्धित विविध विषयमा छलफल भएको दूतावासले जनाएको छ । यूएईमा रोजगारी मात्रै नभई भ्रमणका लागि आउने नेपालीको भिसा सहजीकरण गर्ने विषयमा समेत छलफल भएको थियो ।

यूएईले भदौ ३० गतेदेखि भिसामा कडाइ गरेको थियो । भिसामा कडाइ गर्नुको औपचारिक जानकारी नदिएको यूएईले अनौपचारिक रूपमा भने नेपालको जेनजी आन्दोलनपछि देखिएको सुरक्षा चुनौतीलाई कारण देखाएको थियो ।

प्रमुख श्रम गन्तव्य मानिएको यूएईले भिसामा कडाइ गरेपछि एक महिनामै त्यहाँ पुग्ने औसत ९ हजार ७ सय प्रभावित भएका थिए । भदौमा १९ हजार ६ सय २ जनाले श्रम स्वीकृति लिएकोमा असोजमा घटेर ९ हजार ८ सय ९८ जना पुगेका थिए ।

भिसामा कडाइ गर्दा यूएईको श्रम मन्त्रालयबाट श्रम अनुमतिपत्र अर्थात ‘मोल’ लिएका ४ हजारभन्दा बढी भिसा पाउनबाट वञ्चित भएका थिए । अहिले मोल जारी भएकाहरूको हकमा भिसा आउने गरेको म्यानपावर व्यवसायीहरूले बताएका छन् ।

व्यवसायीहरूले सुरक्षालाई देखाएर भिसा रोक्न नहुने बताउँदै त्यसका लागि सरकारको तर्फबाट कूटनीतिक पहल प्रभावकारी नभएको आरोप लगाउँदै आएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024