भिजिट भिसामा यात्रुमैत्री कार्यविधि : विनाकारण प्रस्थान रोके अध्यागमन कर्मचारीले क्षतिपूर्ति दिनुपर्ने

1 November, 2025

सरकारले भिजिट भिसामा यात्रुमैत्री कार्यविधि कार्यान्वयनमा ल्याएको छ । शुक्रबारदेखि आएको नयाँ व्यवस्थाअनुसार विमानस्थलमा कुनै वस्तुगत कारणविना यात्राको प्रस्थान रोकिएमा त्यसको क्षतिपूर्ति अध्यागमन कर्मचारीले नै व्यहोर्नुपर्नेछ ।

गृह मन्त्रालयले अध्यागमन कार्यविधि, २०६५ संशोधन गरी विदेश घुम्न जाने प्रक्रिया सहज बनाएको हो । भिजिट भिसाको सम्भावित दुरुपयोग रोक्न यात्रुबाट स्वघोषणामा हस्ताक्षर गराइने विभागले जनाएको छ ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नयाँ कार्यविधिअनुसार अब ६ महिना अवधि भएको पासपोर्ट, सम्बन्धित देशको भिसा र टिकट भए पुग्छ । भिजिट भिसामा हुन सक्ने विकृति रोक्न र नागरिकलाई सहज बनाउन कार्यविधि संशोधन गरिएको उनको भनाइ छ ।

कार्यविधि संशोधनपूर्व भिजिट भिसामा विदेश जान दुईतर्फी हवाई टिकट, होटेल बुकिङ र न्यूनतम पाँच सय अमेरिकी डलरसमेत अनिवार्य थियो । यसले यात्रुलाई अनावश्यक ठगी र शोषण भएको भन्दै कार्यविधि सरल बनाएर कार्यान्वयन गरिएको विभागका महानिर्देशक तिवारी बताउँछन् ।

भिजिट भिसाका नाममा अध्यागमनमा हुने सेटिङ बाहिरिएपछि कार्यविधि संशोधन गरी वस्तुगत कारणविना कसैलाई नरोक्ने गरी व्यवस्था भएको हो । अध्यागमन कर्मचारीले कुनै वस्तुगत कारणविना शंकाकै भरमा रोकेमा सम्बन्धित व्यक्तिको क्षतिपूर्ति कर्मचारीबाटै भराउने व्यवस्था गरिने विभागका महानिर्देशक तिवारी बताउँछन् ।

भिजिट भिसाका नाममा रोजगारीको उद्देश्यले धेरै बाहिर जाने र उनीहरूले समस्या भोग्ने गरेको भन्दै यसअघि अध्यागमनले कडाइ गर्दै आएको थियो । तर, त्यसरी रोकिएकाहरू जसरी पनि विदेश जाने नै गरेको देखिएकाले नियम खुकुलो बनाइएको अध्यागमन विभागले जनाएको छ । ‘चार–पाँचपटकसम्म अफलोड भएकाहरू जसरी पनि बाहिर गएको देखियो,’ महानिर्देशक तिवारी भन्छन्, ‘त्यस क्रममा धेरै खर्च हुने भएकाले आधारभूत कागजपत्र पुगेको अवस्थामा नरोक्ने नीति लिएका हौँ ।’ कतिपय भिजिट भिसामा गएर उतै काम गरेरसमेत बस्ने गरेका छन् । उनीहरूलाई पनि नयाँ व्यवस्थाले सहज हुने भएको छ ।

भिजिट भिसामा जानेको स्वघोषणाको भने हाल लिखित कागजमा हस्ताक्षर गरिने र पछि नागरिक एपबाटै त्यससम्बन्धी फाराम भर्न मिल्ने व्यवस्था गरिने विभागले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख नरहरि घिमिरे हाल भिजिट भिसामा विदेश जानेमाथि शोषण हुँदै आएकाले अब त्यो रोकिने बताउँछन् । ‘दुईतर्फ टिकटका नाममा ४०–५० हजारको भार पारिन्छ, त्यस्तो टिकट केही समय मात्र होल्ड गरेर रद्द हुने रहेछ,’ उनी भन्छन्, ‘होटेल बुकिङ देखाउन ३५ सय र डलर सटहीका लागि एक हजार लिने गरिएको रहेछ, दिनमै भिजिट भिसामा करिब पाँच सय बाहिर जान्छन्, अब यो धन्दा बन्द भएको छ ।’

विगतमा अध्यागमनले कडाइ गरेपछि बिचौलियाले अध्यागमन कर्मचारीसँग मिलेर सेटिङ चलाउँदै आएका थिए । सोही कारण अध्यागमन बदनाम हुँदै आएको छ । अब, अध्यागमनमा पनि यो धन्दा रोकिने गृह मन्त्रालयका अधिकारी बताउँछन् ।

कार्यविधि सहज बनाएपछि भिजिट भिसामा धेरैजना काम खोज्दै बाहिर जाने र त्यहाँ समस्या निम्तन सक्ने पनि अध्यागमन अधिकारीको चिन्ता छ । त्यसका लागि श्रम स्वीकृतिसम्बन्धी प्रावधानलाई सहज बनाउने तथा विदेशस्थित नेपाली संयन्त्रलाई सशक्त बनाउने सरकारको तयारी छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024