आकर्षक रोजगारीको अवसर आएको छ भनेर कसैले प्रलोभन देखाएकै भरमा श्रम स्वीकृतिविना विदेश जान खोज्दै हुनुहुन्छ भने सचेत हुनुस् है ! यस्तै प्रलोभनमा पारेर म्यानमार पुर्याई अवैध धन्दामा लगाएको घटना बाहिरिएको छ । अवैध धन्दामा संलग्न हुँदा प्रहरीको निसानामा परेपछि भागेर थाइल्यान्ड पुगेका ३७ नेपालीको उद्धार भएको छ भने म्यानमारमै २३, कम्बोडियामा चार र थाइल्यान्डमा दुईजना अझै बिचल्लीमा परेका छन् ।
म्यानमारबाट भागेर थाइल्यान्ड पुगेका ३७ नेपालीलाई बैंककस्थित नेपाली दूतावासले प्रहरी तथा अन्य निकायको समन्वयमा उद्धार गरेर बुधबार स्वदेश पठाएको छ । उनीहरूलाई अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा विभिन्न अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगीलगायतमा प्रयोग भएको पत्ता लागेको छ । नेपाली दूतावासका अनुसार उनीहरूलाई नेपाल एयरलाइन्सको उडानमा स्वदेश फर्काइएको हो ।
‘रोजगारीको प्रलोभनमा पारेर म्यानमार ल्याइएका ३७ नेपालीलाई थाइल्यान्डबाट उद्धार गरेर स्वेदश पठाइएको छ,’ दूतावासले भन्यो, ‘म्यानमारको म्वडीमा २३, कम्बोडियामा चार र थाइल्यान्डको मेसोटमा दुईजना अझै समस्यामा छन् । उनीहरूलाई यथाशीघ्र नेपाल फर्काउन ती देशका सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।’ नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान पनि दूतावासले अनुरोध गरेको छ । कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डलगायत मुलुकमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नजान पनि दूतावासले आह्वान गरेको छ ।
अमेरिकाबाट एकै दिन ३५ नेपाली निष्कासित
अमेरिकाले एकै दिन ३५ नेपालीलाई निष्कासन गरेको छ । अवैध रूपमा बसोबास गर्दै आएकालाई अमेरिकाको इमिग्रेसन एन्ड कस्टम्स डिपार्टमेन्ट (आइस)ले पक्राउ गरी बुधबार नेपाल ल्याई छाडिदिएको छ । अध्यागमन स्रोतका अनुसार चार्टर्ड विमानमा उनीहरूलाई नेपाल ल्याइएको थियो । ३५ जनामध्ये सबैजसो अवैध रूपमा अमेरिका गएका थिए । तीमध्ये धेरैजना अमेरिका प्रवेश गर्न खोज्ने क्रममा पक्राउ परेका हुन् ।
निष्कासितलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको छ । ब्युरोले सामान्य सोधपुछ गरेर छाडिदिएको छ । अध्यागमनले पठाएका ३५ जनालाई सोधपुछ गरी छाडिएको र उनीहरूले जाहेरी दिएमा विस्तृत अनुसन्धान गरिने ब्युरोका एसएसपी कृष्ण्प्रसाद पंगेनीले बताए । यो हप्ता मात्र अमेरिकाले ४५ जना नेपालीलाई निष्कासन गरिसकेको छ । गत ३० कात्तिकमा ६ तथा २ मंसिरमा चारजना निष्कासित नेपाली काठमाडौं आइपुगेका थिए । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि विदेशी नागरिक निष्कासन बढेको छ । ट्रम्पले कार्यभार सम्हालेयताको करिब १० महिनाको अवधिमा अमेरिकाबाट ३१० जना नेपाली निष्कासित भइसकेका छन् ।