नीतिगत सुधार नगरी भिजिट भिसा समस्याको समाधान हुन्नः महानिर्देशक तिवारी

4 Aug, 2025

१८ साउन, काठमाडौं । अध्यागमन विभागका नयाँ महानिर्देशक रामचन्द्र तिवारीले नीतिगत सुधार नगरी भिजिट भिसामा देखिएको समस्या समाधान नहुने बताएका छन् ।

लामो समयदेखि भिजिट भिसाका नाममा असुली भएको सुन्ने गरेको भन्दै यो समस्याको निराकरणका लागि नीतिगत सुधार गर्न आफूहरुले अध्ययन गरिरहेको उनले बताए ।

‘काठमाडौंमा इमान्दार भएर रोकियो भने त्यो मान्छे फेरि १९ लाख, २० लाख खर्चको अरु २ लाख थपेर दिल्लीबाट उड्छ, हामीले काठमाडौंबाट अफलोड गरेको मान्छे यहीँ रहेर खेतीपानी गर्‍यो भन्ने कहिल्यै सुनिएको छैन’, उनी भन्छन्, ‘अफलोड गर्दा समाधान हुने भए त त्यस्तो सुनिनुपर्ने नि! त्यसको अर्थ हो, अफलोड गरिएका व्यक्ति पनि लगत्तै फेरि अर्को दिन उड्छन् ।’

उच्च प्रविधिको प्रयोग गरेर बनाइने कागजात प्रस्तुत गरेपछि को सही हो र को होइन भन्ने छुट्टयाउन पनि गाह्रो पर्ने गरेको उनी बताउँछन् ।

‘यो श्रम बजारको समस्या हो, तर अध्यागमनको औजारले मात्र समाधान गर्न खोज्यौं’, उनी भन्छन्, ‘किनभने, अध्यागमनको प्रणालीमा आउनुअघि ऊ तीन तहको एजेन्ट, एयरलाइन्स कम्पनी÷टिकटिङ पोर्टल, चेक इन काउन्टरबाट गुज्रिएको हुन्छ ।’

त्यसपछि बल्ल सम्बन्धित व्यक्ति अध्यागमनको काउन्टरमा पुग्ने र त्यो तहमा २० देखि ४० हजार रुपैयाँसम्म लिने गरिएको विवरण आएको उनी बताउँछन् । ‘यसले पनि के देखाउँछ भने अध्यागमनमा मात्र सुधार गरेर यो समस्या समाधान हुँदैन, समग्र श्रम बजारकै नीतिगत समाधान गर्नुपर्छ’, उनी भन्छन् ।

आफूले विभागको जिम्मेवारी पाएपछि यसबारे अध्ययन गर्न थालेको बताउँदै उनी भारतबाट उद्दार गरेर ल्याइएका भनिएकाहरु पनि फेरि भिजिट भिसामा गएको पाइएको सुनाउँछन् ।

‘फर्काएर ल्याएको पनि फेरि भोलिपल्टदेखि विदेश गएका छन्, म दिल्ली एउटा र्वार्तामा थिएँ, त्यसबोला ७४ जना मान्छे हामीले फर्कायौँ,’ उनी भन्छन्, ‘फर्काउने ठूलो समाचार बन्यो, तर पछि तपाईंहरू कसैले हेर्नुभएको छ, तिनले के गरे ? दुई महिनापछि उनीहरु फेरि जान्छन् ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024