नर्सको रोजाइ अस्ट्रेलिया

3 November, 2025

जे. पाण्डे

योग्यता र क्षमताअनुसारको काम, पर्याप्त सुविधा र पेसागत सम्मानको खोजीमा सरकारी जागिर छोडेर अस्ट्रेलिया आइपुगेकी मनिषा भुर्तेल अहिले त्यही सपना पूरा भएको अनुभव सुनाउँछिन् ।

‘सरकारी जागिरमा थोरै भए पनि सुविधा त थियो । तर, आत्मसन्तुष्टि थिएन’ भिक्टोरिया राज्यको मेलवर्न सहरमा बोल्टन क्लार्कमा कार्यरत मनिषा भन्छिन्, ‘अब म सन्तुष्ट छु । किनभने मैले योग्यताअनुसारको काम, सम्मान र सुविधा पाएकी छु ।’

नेपालमा रहँदा उनले २०७२ सालमा पहिलो पटक सुर्खेतबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेकी थिइन् । २ वर्ष दुर्गम क्षेत्रको स्वास्थ्य केन्द्रमा रहेर बिरामीको उपचार तथा सेवा गरिन् । तलबले जीविकोपर्जनका आधारभूत आवश्यकता पूरा हुन सक्ने देखिनन् ।

विकल्पमा दोस्रोपटक २०७४ सालमा पोखराबाट दिएको लोकसेवा आयोगको स्टाफ नर्स (५ औं तह)को परीक्षामा उत्तीर्ण भइन् । लुम्बिनी अञ्चल अस्पतालमा नियुक्ति पाइन् । मासिक ३७ हजार रुपैयाँ तलब थियो ।

‘फेरि पनि योग्यता सँगै क्षमता विकासको चाहना अधुरै हुने संकेत देखिए । अनि यता आँए’, यही बसेर ३ वर्षको औपचारिक नर्सिङ अध्ययन पूरा गरेकी सरकारी जागिरे (रजिस्टर नर्स ) भएकी मनिषा भन्छिन्, ‘अहिले थप योग्यता हासिल गरे । कामअनुसारको पैसा पनि पाएकी छु ।’

अस्ट्रेलियन सरकारद्वारा मान्यता प्राप्त दर्ता (रजिस्टर) नर्सहरूले नेपालमा एक महिनामा कमाइने रकम यहाँ (अस्ट्रेलियामा) एक घण्टामै कमाउन सक्ने बताउँछन् ।

यहाँ नर्सहरूको वार्षिक आधारभूत तलब लगभग ४ लाख ६५ हजारदेखि ४ लाख ९० हजार अस्ट्रेलियन डलर हुन्छ । त्यसमा पनि अनुभवअनुसार फरक भने हुन्छ ।

अस्टे«लियाको एक प्रसिद्ध सार्वजनिक विश्वविद्यालय वयस्टर्न सिड्नी युनिभर्सिटीमा वृद्ध हेरचाह र अशक्तता (अपांगता) सम्बन्धी प्रमाणपत्र तहमा अध्ययनरत सुम्मिता आचार्य नेपालगन्ज नर्सिङ क्याम्पसमा पढाउन छाडेर २०२० मा सिड्नी आएकी थिइन् । उनी पनि मनिषाको भनाइप्रति सहमत छिन् ।

सुरुवाती वर्षहरूमा उनले ३ वर्ष त एचकेयरमा काम गरिन् । प्रतिघण्टा ३२ देखि ३३ अस्ट्रेलियन डलर कमाइ हुन्थ्यो । धेरै खटिदा शारीरिक अवस्थाले उति साथ नदिएकाले अचेल अध्ययन र अध्यापनमा मात्र संलग्न भएकी छन् ।

‘एचकेयरमा काम गर्दा गाह्रो भयो । ढाड दुख्न थाल्यो । छाडेर अहिले सिड्नीकै एड्भान्स र रिड इन्टरनेसनल दुइवटा कजेलमा पढाउँ छु’, निजी क्षेत्रका कलेजकी प्रशिक्षक (टेनर ) आचार्य भन्छिन्, ‘दिनमा २ सय ९२ डलर कमाइ हुन्छ । नेपालमा भएको भए यो सम्भव थिएन । यहाँ जस्तो आर्थिक फाइदा पनि हुँदैन्थ्यो ।’

यही जन्मिएकी २४ वर्षकी नेपाली छात्रा इसा मिश्र न्यू साउथ वेल्स विश्वविद्यालय र न्युरोसाइन्स रिसर्च अस्ट्रेलियामा पीएचडी गर्दै छिन् ।

उनले नेपालमा मात्र हैन विशेष गरी अस्ट्रेलियाका ग्रामीण र सहरदेखि टाढाका क्षेत्रहरूमा उपचारका लागि जनशक्तिको अभाव भएको बताइन् । किनभने जनसंख्या बढ्दो छ । सँगसँगै स्वास्थ्यकर्मीहरूको अभाव पनि बढ्दै गएको छ । इसा भन्छिन्, ‘त्यसैले देखिएका समस्याहरू समाधान गर्नका लागि नवीन र व्यावहारिक उपायहरू खोज्नै पर्ने ठानेर मैले स्वास्थ्य क्षेत्र रोजेकी हुँ ।’

उनले एक्सरसाइज फिजियोलोजीमा ब्याचलर र ब्याचलर अफ साइन्सको अध्ययन पूरा गरे लगत्तै क्लिनिकल एक्सरसाइज फिजियोलोजिस्टको काम पनि गर्दै आएकी छन् ।

‘स्वास्थ्य सेवामा असमानता र सीमित पहुँच छ । यही कारणले मैले पीएचडी गर्ने निर्णय गरेँ । ताकी स्वास्थ्य प्रणालीलाई बलियो बनाउन र प्रभावकारी उपचार प्रदान गर्न सहयोग पुर्‍याउन सकियोस्’ इसाले स्वास्थ्य क्षेत्र रोज्नुको कारण बताइन् ।

अर्को करण अस्ट्रेलियाली सरकारले नेपाली विद्यार्थीहरूका लागि धेरै उत्कृष्ट अवसरहरू उपलब्ध छन् । पीएचडी कार्यक्रममा विश्व विद्यालयहरूले उच्चस्तरीय अनुसन्धान तालिम, मेन्टोरसिप (मार्गदर्शन), जस्ता धेरै अवसरहरू प्रदान गर्छन् । यस कारण पनि नेपाली आकषित भएको इसाको भनाइ छ ।

यहाँ काम गर्ने अवस्थाका आधारमा पनि तलब धेरै हुन सक्छ । अतिरिक्त काज, रात्री तथा हेल्पिङ पोजिसनमा थप भत्ता पाइन्छ । यसो गर्दा कतिपय नेपाली रजिस्टर्ड नर्सले वार्षिक तलब करिब ८० हजारदेखि १ लाख २० हजार अस्ट्रेलियन डलरसम्म पाउन सक्छन् ।

यता अस्ट्रेलियन सरकारले स्वास्थ्य तथा नर्सिङ क्षेत्र सुदृढीकरणका लागि नयाँ नीति र प्रोत्साहन कार्यक्रम ल्याउने क्रम जारी राखेको छ । जसमा विद्यार्थी नर्सदेखि अनुभवी स्वास्थ्यकर्मीहरूलाई थप राहत र अवसर प्रदान गर्ने लक्ष्य छ । जसमध्ये नयाँ आर्थिक सहायता योजना पनि हो ।

यो योजना २०२५ जुलाईदेखि लागू भएको छ । नर्सिङ र मिडवाइफिङ अध्ययनरत विद्यार्थीहरूलाई अनिवार्य क्लिनिकल प्लेसमेन्ट अवधिमा आर्थिक सहायता दिन थालेको हो । यस्तो सहायता दिँदा रोजगारीको दबाब कम हुने र अधिक विद्यार्थीलाई नर्सिङ पेसातर्फ आकर्षित गर्ने अपेक्षा सरकारको छ ।

खास गरी ग्रामीण र दुर्गम क्षेत्रका स्वास्थ्य सेवा सुधारका लागि विशेष प्रयास गर्दै छ । जसअन्तर्गत त्यस्ता दुर्गम क्षेत्रमा कार्यरत नर्सहरूलाई अतिरिक्त भुक्तानी, आवास सुविधा र पेसागत विकासका अवसर उपलब्ध गराउन थालेको छ ।

नर्सिङ कार्यबल सुधार रणनीतिअन्तर्गत नर्सहरूको संख्या, सीप, विविधता र करियर विकासमा सुधार ल्याउने दीर्घकालीन रणनीति कार्यान्वयनको तयारी भइरहेको छ । यसले भविष्यमा बढ्दै गइरहेको स्वास्थ्य सेवाको माग पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

नर्सहरूलाई आफ्नो सीप र योग्यताअनुसार पूर्ण अभ्यासको दायरामा काम गर्न दिने कानुनी र नीतिगत सुधार पनि अघि बढाइएको छ । साथै, नर्सिङ नेतृत्व र अनुसन्धानमा लगानी बढाउने तयारी भइरहेको सरकारका अधिकारीहरूले बताएका छन् ।

नर्सिङ शिक्षण र तालिममा गुणस्तर सुधारका लागि नयाँ राष्ट्रिय शिक्षा तथा ट्रेनिङ कार्य तयार भइरहेको छ । यसले विद्यार्थी नर्सहरूलाई आधुनिक प्रविधि, डिजिटल स्वास्थ्य र प्राथमिक स्वास्थ्य सेवा क्षेत्रमा दक्ष बनाउन सहयोग गर्नेछ । यी र यस्तै धेरै सुविधा र आकर्षणले नेपाली विद्यार्थी तथा नर्सहरू यहाँ आउने क्रम बढ्दै गएको हो ।

आफूले पढाउँदै आएका कजेलमा पनि विदेशी विद्यार्थीहरूको सख्य उल्लेखनीय रहेको टेनर आचार्यले बताइन । ‘अध्ययन गरि रहेका विद्यार्थीहरूमा पनि अधिकांश नेपाली छन् । जसमा महिलाको सख्या धेरै छ’, आचार्यले भनिन् ।

अस्ट्रेलियाली सरकारको बिरामीको हेरचाहसम्बन्धी नीति पनि नेपाली नर्सहरूको आकर्षणको बनेको छ । भिक्टोरिया राज्यले सन् २०१५ देखिनै सेल्फ बिरामी सुरुक्षा कानुन लागू गरेको छ । जसअन्तर्गत सार्वजनिक अस्पतालहरूमा बिरामीको संख्याअनुसार नर्सहरूको न्यूनतम अनुपात निर्धारण गरिएको छ ।

सामान्य वार्डहरूमा दिउँसो १ नर्सप्रति ४ बिरामी र राति १ नर्सप्रति ८ बिरामी संख्या तोकिएको छ । एक जना नर्सललाई योभन्दा धेरै जिम्मेवारी दिइँदैन । ग्रामीण अस्पतालहरूमा भने दिउँसो १ नर्सप्रति ५ बिरामी र रात्रिकालीन अवस्थामा १ नर्स÷१० बिरामी संख्या तोकिएको छ । गम्भीर अवस्थाका बिरामी भएका बेला हेरचाह गर्न वार्डहरूम थप नर्सहरूको व्यवस्था मिलाइन्छ ।

जसले गर्दा बिरामीहरूको हेरचाहको गुणस्तर सुनिश्चित गर्न मद्दत पुर्‍याउँछ । जुन नेपालमा छैन । जतिसुकै जटिल अवस्थाका बिरामी आए पनि सीमित संख्यामा रहेका नर्सहरूलाई नै जबरजस्ती खटाइने गरिन्छ ।

अस्ट्रेलियामा नर्स र बिरामीको अनुपात राज्यअनुसार फरक भए पनि न्यू साउथ वेल्स र दक्षिण अस्ट्रेलियाले बिरामीहरूको हेरचाहको गुणस्तर सुनिश्चित अनुपात निर्धारणसम्बन्धी प्रस्तावहरू अघि सारेका छन् । तर, अहिले विचाराधीन छन् ।

यी र यस्तै अन्य कारणले पनि नेपाली नर्सहरू यता आउने क्रम बढेको यहाँ कार्यरत नेपाली नर्सहरू बताउ छन् । ‘नेपालमा एक जनाले २२ जनाभन्दा धेरैलाई सेवा दिनुपर्छ । यसले गर्दा बिरामी, बिरामीका आफन्त र स्वय नर्ससमेत काम सन्तुष्ट हुन सक्दैनन् । नर्सले बिरामीको हेर चाह गरेनन् ? भन्ने जस्ता धेरै गुनासो मात्र सुन्नुपर्छ । अनि चाहँदा–चाहँदै पनि बस्न मन लाग्दैन’ यस्तै करणले नेपालमा जागिर छाड्नु परेको मनिषा भन्छिन्, ‘उपकरणको हिसावले पनि यता राम्रो छ । रोग अनुसारको वार्ड हुन्छन् । बिरामीलाई उठाएर हिँडाउने साधन छन् । यसले बिरामीलाई यताउता लान ल्याउन सजिलो हुन्छ । त्यो नेपालमा छैन । अझै ग्रामीण क्षेत्रमा त बेहाल अवस्थाका स्वास्थ्य केन्द्र छन् । यहाँ नर्सहरूको उच्च सम्मान छ । कसैको चाकडी गर्नुपर्ने वा डराउनुपर्ने अवस्था छैन । जुन नेपालमा पाइँदैन ।’

उनी कार्यरत हरेको ‘बोल्टन क्लार्क’अस्ट्रेलियाको एउटा ठूलो लाभरहित समुदाय स्वास्थ्य सेवा प्रदान गर्ने सस्था हो । त्यहाँ कार्यरत नर्सहरूले वृद्ध, बिरामीहरू र स्वास्थ्य सहयोग चाहिने व्यक्तिहरूलाई घरमै पुगेर वा हेरचाह केन्द्रमै सेवा प्रदान गर्दै आएका छन् । करण हो ओभरटाइम र रातको सिफ्टमा थप भत्ता पाउने व्यवस्था ।

नेपाली नर्सहरूले यहाँ शैक्षिक र व्यावसायिक विकास गर्दै आएका छन् । नर्सिङ अध्ययन गर्न चाहनेका लागि गुणस्तरीय विश्वविद्यालय र प्राविधिक संस्था प्रशस्त छन् । कामको अनुभवका साथ उच्च अध्ययन (ब्याजलर–मास्टर–नर्स व्यवसायी) पनि गर्न सक्छन् ।

नेपालमा खान बस्न र आफ्नो अध्ययनका लागि पैसा अभाव झेल्नुपर्ने अवस्था छ । धेरैले घर परिवारसँग मागेर खर्च गर्न रुचाउँदैनन् । अनि विकल्प खोज्दै अस्टे«लिया आइपुग्नेहरू धेरै छन् ।

अस्ट्रेलियामा नर्सका लागि सबैभन्दा ठूलो अवसर नै उच्च माग हो । यहाँ वृद्ध वृद्धाको संख्या बढ्दै जाँदा सरकारले उनीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन नर्सहरूको संख्या बढाउँदै गएको छ ।

आकर्षको अर्को करण स्थायी बसोबास पीआरको अवसर पनि हो । दक्ष आप्रवासन कार्यक्रमअन्तर्गत नर्सहरूले उपवर्ग भिसा पाउन सक्छन् ।रोजगारको स्थायित्व छ । किनभने स्वास्थ्य क्षेत्र अस्ट्रेलियामा स्थिर पेसा मानिन्छ । नर्सहरूलाई समाजले पनि निकै सम्मान गर्छ ।

यति हुँदाहुँदै पनि नर्सहरूका लागि चुनौतीहरू पनि देखिन्छन । अस्ट्रेलियन नर्सिङ एन्ड मिडवाइफरी फेडेरेसनका अनुसार हाल देशभर झन्डै २० हजारभन्दा बढी नर्स खाँचो छ । विशेष गरी ग्रामीण र वृद्ध हेरचाह केन्द्रहरूमा आवश्यक जनशक्ति नपुग्दा बिरामीले समयमै सेवा पाउन सकेका छैनन् । जसले गर्दा नर्सहरू अत्याधिक कामको दबाबमा छन् । दुर्गम तथा ग्रामिण क्षेत्रमा धेरै नर्सहरू लामो सिफ्टमा काम गर्न बाध्य भएका छन् ।

नर्स बन्ने प्रक्रियामा प्रमाणीकरण कठिन छ । अंग्रेजी दक्षता, योग्यता मूल्यांकन परीक्षा, सम्बन्धित दस्तावेजहरूको प्रमाणीकरण र जीवनयापन खर्चले धेरै नर्सलाई चुनौती दिन्छ । भिसा प्रक्रिया र मूल्यांकनमा १–२ वर्षसम्म समय लाग्न सक्छ ।

यसबाहेक सिड्नी, मेलबर्न, पर्थ जस्ता महँगा सहरमा भाडा, यातायात र दैनिक खर्च अत्यधिक छ । अध्ययनको प्रारम्भिक चरणमा आर्थिक व्यवस्थापन नै सबैभन्दा चुनौतीपूर्ण हुन्छ ।

अस्ट्रेलियाको स्वास्थ्य प्रणाली, कार्यशैली, भाषा, रोगीहरूसँगको व्यवहार नेपालभन्दा फरक छ । प्रारम्भमा संवाद र अनुकूलता कठिन हुन सक्छ । अन्तर्राष्ट्रिय नर्सहरूको प्रतिस्पर्धा पनि बढेको छ ।

परिवारबाट टाढा रहनु, रात्रि सिफ्ट, कामको तनाव र घरको सम्झना नर्सहरूको मानसिक स्वास्थ्यमा असर पनि पार्ने गरेको छ । सुस्मिताले अनुभव साझा गर्दै भनिन्, ‘एच केयरमा काम गर्दा धेरैले डर अनुभव गर्छन् । कुनै काम बिग्रन्छ कि ? भन्ने डरले एन्जाइटी र डिप्रेसनको सम्भावना बढ्छ । तर, बूढा–बूढीको सेवा गर्दा आत्मसन्तुष्टि पनि मिल्छ ।’ तर, पनि आर्थिक र पेसागत अवसर प्राप्त गर्दैै आएका नेपाली नर्सहरूले चुनौती पनि चिर्दै आएका छन् ।

अस्ट्रेलियामा नर्सको आधारभूत तलब प्रतिघण्टा २६ डलरभन्दा कम हुँदैन । नेपालमा भने निजी अस्पतालले तलब भिन्न राख्छन् र काममा सधैं असुरक्षा रहुन्छ । थोरै तलबमा धेरै काम लगाउने गरेका निजी अस्पतालको रुखो व्यवहार सहन नसक्ने खाले छन । तर पनि सरकारले नियमन गर्दैन । यस्तो अवस्थाले धेरै नर्सहरू आफनो जन्म भूमि छाडेर यता आउने बाध्य तुल्याउने गरेको गुनासो गर्छन् ।

अस्ट्रेलियामा स्वास्थ्य पेसाकर्मीहरूको आपूर्ति–माग सन्तुलन कठिनाइ पनि छ । देशभर ५ प्रतिशतभन्दा बढी स्वास्थ्य पेसाकर्मी विदेशी हुन्, विशेष गरी मेडिकल प्राक्टिसनर, नर्स र मिडवाइभ । तर, अन्य देशबाट आएका नर्स र तथा स्वास्थ्यकर्मीको तुलनमा नेपालीहरू बढी कठोर श्रम गर्दै आएका छन् । न्यूसाउथ वेल्सको सिडनीकै इस्टिया हेल्थका निर्देशक सागर जोसी नेपाली नर्सहरू अरु मुलुका भन्दा धेरै दयालु स्वभावका हुने र बिरामीप्रति नम्र व्यवहार गर्ने भएकाले पनि सफलता प्राप्त गर्ने गरेको बताउ छन । १५ वर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सागर राजिष्र्टर नर्स हुन् । उनी भन्छन्, ‘नेपालीहरू धेरै अगाडि बढेका छन् । रोजगारी सुनिश्चित र सुुरक्षित भएकाले पनि नेपालबाट आउने क्रम बढेको छ । यसै क्रममा पुरुषहरूले समेत नर्सिङ अध्ययन गर्न थालेका छन् ।’

यति हुँदाहुँदै पनि ग्रामीण र वृद्ध हेरचाह केन्द्रहरूमा जनशक्तिको कमीले बिरामीलाई समयमै सेवा नपाउने अवस्था सिर्जना गरेको छ। जसले गर्दा सरकारले विदेशबाट नर्स ल्याउने नीति सहज बनाएको छ । पछिल्लो वर्ष मात्र ३ हजार ५ सय विदेशी नर्सहरूले भिसा पाएका छन् । तर, विशेषज्ञहरूको भनाइअनुसार यो अस्थायी समाधान हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024