कतारले नेपाली कामदारलाई क्षतिपूर्ति दिने

3 April, 2018

सन् २०२२ मा विश्वकप आयोजनाका लागि रंगशाला लगायतका संरचना निर्माण गर्न ल्याइएका बिदेशी कामदारलाई कतारले क्षतिपूर्ति दिने भएको छ ।

 

बिश्वकपका लागि संरचना बनाउन नेपाल, बंगलादेश लगायतका देशबाट हजारौं कामदार ल्याइएको छ । यी कामदारहरु ठूलो रकम तिरेर कतार आएको र शोषणमा परेको भन्दै मानवअधिकारवादी संस्थाहरुले आवाज उठाएपछि कतारले बिदेशी कामदारलाई क्षतिपूर्ति दिने तयारी थालेको हो ।

 

कतार वर्ल्डकप आयोजक समितिले बिदेशी कामदारले करिव ५० लाख डलर (झण्डै ५० करोड रुपैयाँ) क्षतिपूर्तिस्वरुप पाउने घोषणा गरेको एसोसिएटेड प्रेसले जनाएको छ ।

 

खासगरी कामदार कतार आउने क्रममा म्यानपावर कम्पनीलाई तिरेको रकम फिर्ता गर्ने मनसायले आयोजकले यस्तो कदम चालेको बताइएको छ ।

 

विश्वकप आयोजक समितिका महासचिव हसन अल थवाडीले भने, ‘आफ्नो परिवारको हातमुख जोड्न देश छाडेर आएका कामदारहरु पीडित भएका छन्, उनीहरुलाई हामी क्षतिपूर्ति दिन्छौं ।’

 

आयोजक कमिटी र ठेकेदारले कामदारलाई क्षतिपूर्ति दिने प्रकृया थाल्न सहमति गरेको उनले बताए ।

 

आयोजकका अनुसार आगामी दुई वर्षभित्र करिव १ अर्ब २० करोड कतारी रियाल अर्थात् झण्डै ५२ करोड डलर कामदारलाई क्षतिपूर्तिस्वरुप दिइने छ ।

 

यसरी क्षतिपूर्ति पाउने ठूलो संख्या नेपाली कामदारको हुने छ । विश्वकप आयोजनाका लागि भौतिक संरचना निर्माणमा सबैभन्दा धेरै नेपाली कामदारहरुको प्रयोग भइरहेको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024