अब मलेसिया कामदार पठाउन म्यानपावरले पूरा गर्नुपर्छ यी १० मापदण्ड

29 October, 2025

निर्मला घिमिरे

नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक मलेसियाले म्यानपावर कम्पनीहरूका लागि १० सर्त राखेको छ।

अब मलेसियाले तोकिएको मापदण्ड पूरा गरेका म्यानपावर कम्पनीहरूबाट मात्रै श्रमिकहरू लैजाने भएको हो।

मलेसियाले नेपालसँगै श्रमिक पठाउने स्रोत मुलुक बंगलादेश, भारत, नेपाल, पाकिस्तान र म्यानमारका म्यानपावरका लागि समेत उक्त सर्त राखेको हो।

मलेसियाले क्वालालम्पुरस्थित नेपाली राजदूतावासलाई पत्राचार गर्दै नेपालबाट कामदार भर्ना प्रक्रिया र कामदार पठाउन संलग्न म्यानपावर कम्पनीहरू व्यवस्थित बनाउने हिसाबले मापदण्ड तोकेको जनाएको छ।

कामदार भर्ना प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउनका लागि मलेसियाको मानव संसाधन मन्त्रालयले १० वटा मापदण्ड तय गरेको उल्लेख गरिएको छ।

मलेसियाको परराष्ट्र मन्त्रालयले नेपालसँग ती मापदण्ड पूरा भएका म्यानपावर कम्पनीहरूको सूची तयार गरी मलेसियाको मानव संशाधन मन्त्रालयमा पेस गर्न अनुरोध गरेको छ।

१५ नोभेम्बर २०२५ भित्र उक्त सूची पेस गर्न मलेसियाको परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो।

मापदण्ड नपुगेका म्यानपावर छनोट नगर्ने अडान पनि मलेसियाले लिएको छ। यो नीतिले नेपाल र मलेसियाबीचको श्रम आप्रवासन प्रणालीलाई नैतिक, पारदर्शी र दीगो रूपमा सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको मलेसियाली परराष्ट्र मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ।

अब यी १० मापदण्ड पूरा गरेका म्यानपावरले पठाउन पाउने छन् श्रमिक

१‍. कम्तीमा पाँच वर्षको सञ्चालन अनुमति पाएको हुनुपर्नेछ। साथै ती म्यानपावर कम्पनी तथा एजेन्सीले लगातार कम्तीमा पाँच वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्नेछ।

२. पछिल्ला पाँच वर्षमा कम्तीमा तीन हजार कामदार व्यवस्थापन तथा पठाएको अनुभव भएको अभिलेख हुनुपर्ने।

३. कम्तीमा तीन फरक देशमा कामदार पठाएको अनुभव हुनुपर्नेछ।

४. सम्बन्धित म्यानपावरले श्रमिकहरूको प्रशिक्षण, मूल्याङ्कन, भर्ती र कामदार पठाउने सम्बन्धी काम गर्न वैधानिक रूपमा अनुमति पाएको हुनुपर्नेछ।

५. म्यानपावर सञ्चालकले सर्टिफिकेट अफ गुड कन्डक्ट पाएको हुनुपर्नेछ।

६. एजेन्सी कुनैपनि जबरजस्ती श्रम, मानव बेचबिखन, श्रम कानुन उल्लङ्घन, ठगी वा वित्तीय अपराधमा संलग्न नभएको हुनुपर्नेछ।

७. एजेन्सीले आफ्नै स्वामित्वमा रहेको तालिम तथा मूल्याङ्कन केन्द्र सञ्चालन गरेको हुनुपर्नेछ।

८. पाँच अन्तर्राष्ट्रिय रोजगारदाताबाट सिफारिस पत्र पाएको हुनुपर्नेछ।

९. कम्तीमा तीन वर्षदेखि स्थायी सञ्चालन गरेको कार्यालय हुनुपर्नेछ, जसको न्यूनतम क्षेत्रफल १० हजार वर्गफुट हुनुपर्छ।

१०. अघिल्ला भर्ती प्रक्रियाको कानुनी पालना प्रमाणित गर्ने कागजातहरू पेस गर्नुपर्ने छ।

यी कागजातहरूले एजेन्सीले विगतमा नियमित, कानुनी र व्यवस्थित ढंगले कामदार पठाउने प्रक्रिया पूरा गरेको पुष्टि गर्नुपर्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024