८ महिनादेखि युक्रेनमा थप २ नेपाली अलपत्र

28 May, 2025

चिरन शर्मा

वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपाली हाल अलपत्र अवस्थामा रहेका छन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको सम्पर्कमा आएका रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बागलुङका २३ वर्षीय सन्देश केसी विगत जुलाई महिनादेखि युक्रेनी स्थानीय सरकारको नियन्त्रणमा रहेका छन्।

राउतका अनुसार उनीहरूले आफ्नो तत्काल सुरक्षात्मक उद्धारका लागि गैर आवासीय नेपाली संघ र नेपाल सरकारसँग पहल गरिदिन अनुरोध गरेका छन्। हाल उनीहरूलाई कीएभस्थित एक अध्यागमन कार्यालयमा राखिएको छ।

उनीहरूको उद्धारका लागि सहजीकरण गर्न परराष्ट्र मन्त्रालय र जर्मनीस्थित नेपाली राजदूत डा। शैल रुपाखेतीलाई अनुरोध गरिएको एनआरएनएले जनाएको छ।

यसैबिच, गैर आवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले नेपाल सरकारको सहयोगमा उद्धार कार्यमा तत्काल सक्रिय हुन संघको केन्द्रीय कार्यालयलाई निर्देशन दिएका छन्।

यसअघि, गैर आवासीय नेपाली संघ र जर्मनीस्थित नेपाली दूतावासको पहलमा युक्रेनमा ९ महिनादेखि अलपत्र परेका दुई नेपालीको उद्धार गरिएको थियो।

युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीहरूको उद्धार अझै हुन बाँकी रहेको अवस्थामा फेरि थप दुई नेपाली अलपत्र परेको पाइएको हो।

यसअघि, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेश मन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा सम्पन्न द्विपक्षीय भेटवार्तामा नेपाली नागरिकहरूलाई रसियाली सेनामा भर्ती हुने नीति नेपालको नरहेको स्पष्ट पार्दै युद्ध बन्दीका रूपमा रहेका ती सात नेपालीलाई यथाशक्य चाँडो मुक्त गर्न आग्रह गरिएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024