६.१ प्रतिशतले घट्यो रेमिट्यान्स

16 Jun, 2020

कोरोनाभाइरसको असरले मुलुकमा भित्रिने रेमिट्यान्समा उल्लेख्य कमी आएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको यस आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको वित्तीय स्थितिअनुसार गत वर्षको यस अवधिको तुलनामा रेमिट्यान्समा ६.१ प्रतिशतले कमी आएको हो।

१० महिनामा ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो। रेमिट्यान्स मात्रै नभई वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि उल्लेख्य कमी आएको छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको हो।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024