६ हजार धरौटीमा छुटेछन् शाह

24 September, 2016

केपी ढुंगाना

  

अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएससँग आबद्ध रहेको भन्दै मलेसियाबाट डिपोर्ट गरिएका नेपाली नागरिक धरौटीमा छुटेको खुलेको छ । 

 

मलेसियामा होटल व्यवसाय सञ्चालन गरेर बसेका महेन्द्रजंग शाहलाई नक्कली कागजपत्र बनाएर आईएसलाई सघाएको आरोपमा मलेसिया सरकारले पक्राउ गरी २० दिनअघि नेपाल डिपोर्ट गरेको थियो । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले भदौ १७ मा विमानस्थलबाटै नियन्त्रणमा लिएर सार्वजनिक अपराधको अभियोगमा हिरासतमा राखेको खुलेको हो । महाशाखाको हिरासतमा ११ दिन बसेर उनी जिल्ला प्रशासन काठमाडौंको आदेशमा भदौ ३० मा ६ हजार धरौटी बुझाएर मुक्त भएका हुन् । महाशाखाका प्रवक्ता सहकुल थापाका अनुसार मलेसियामा रहेको नेपाली दूतावासले शाह डिपोर्ट हुँदै गरेको जानकारी गराए पनि डिपोर्ट हुनुको कारण खुलाएको थिएन । दूतावासको जानकारीका आधारमा उनलाई विमानस्थलबाट नियन्त्रणमा लिई अनुसन्धानका लागि ११ दिनसम्म हिरासतमा राख्दासमेत जानकारी नआएपछि जिल्ला प्रशासनमा बुझाइएको थापाले जानकारी दिए । 

 

‘हामीलाई पठाउँदा उनीमाथिको आरोपबारे केही खुलाइएको थिएन, पक्राउपछि परराष्ट्र हुँदै मलेसियाली दूतावाससँग पटक–पटक सम्पर्क गर्दासमेत केही जानकारी आएन,’ एसपी थापाले भने, ‘त्यसपछि अनुसन्धानको फाइल बुझायौं, उनी धरौटीमा मुक्त भए ।’ एसपी थापाले उनी आतंकवादी संगठनलाई सघाएको आरोपमा पक्राउ परी नेपाल फिर्ता गरिएको बारे शुक्रबार नेपाली सञ्चार माध्यममा आएपछि मात्रै चाल पाएको बताए । मलेसिया सरकारले शाह र बंगलादेशी नागरिकसहित ३ जनालाई आईएसको सहयोगीको आरोपमा पक्राउ गरी १५ दिन हिरासतमा राखी आ–आफ्नो देशमा डिपोर्ट गरेको थियो ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026