४० हजारको भिसा प्रभावित हुने, जमघट नगर्न दूतावासको आग्रह

9 March, 2020

मुकुन्द गैरे

काठमाडौं,फागुन २६ गते । कतार सरकारले आफनो देश प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै ३५ देखि ४० हजार नेपाली कामदारको भिसा प्रभावित हुने भएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले ३५ देखि ४० हजारको हाराहारीमा नेपाली कामदारको भिसा लाग्ने अवस्थामा रहेको जानकारी दिनुभयो ।

भिसा लागि सके पछि ३ महिना भित्र त्यस देशमा काम गर्न जाने कामदार प्रवेश गर्ने कानुनी प्रावधान भएको समेत श्रेष्ठले जानकारी दिनुभयो ।भिसाको समय सिमा भित्र प्रवेश नगरे कामदारलाई कालोसूचीमा राख्ने कतारको प्रावधान भएकोले कालो सूचीमा नराख्नको लागि सरोकारवाला निकाय सँग छलफल गरिरहेको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

कतार सरकारले कारोना भाईरस (कोभिड १९) कोे संक्रमण फैलन नदिन नेपाली सँगै (१४) देश चीन, बंगलादेश, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाईल्याण्डका नागरिकले मार्च ९ (सोमवार) देखि नै कतार प्रवेश गर्न रोक लगाईएको हो ।

कतार सरकारले आफनो देशमा कोरोना भाइरस फैलिन नदिन यस्तो निर्णय गरिएको जनाएको छ ।नेपालीको लागि रोजगारीको गन्तव्य मानिएको कतारमा चार लाख भन्दा बढी नेपाली कामदार कार्यरत छन् ।

कतारको पछिल्लो निर्णयले विजनेश सँगै भिजिट भिसामा कतार प्रवेश गर्ने पनि प्रभावित हुने देखिएको छ । कतारले आफ्ना देशका नागरिकलाई पनि सकभर बाहिरी मुलुक नजान आग्रह गरेको छ ।

यता कतारले नेपाली कामदार प्रवेशमा रोक लगाए सँगै कतार स्थित नेपाली राजदूतावासले पनि कतारमा कार्यरत नागरिकलाई अत्यावश्यक काममा बाहेक अन्य काममा बाहिर ननिस्कन सूचना जारी गरी आग्रह गरेको छ ।

राजदूतावासले जारी गरेको सूचनामा एक आपसमा कुरा गर्नु पर्दा भरसक भौतिक शरिर भन्दा टेलिफोन इमेलबाट सम्पर्क गर्नुहुन अनुरोध समेत गरेको छ ।

साथै दुतावासले आफनो कार्यालयबाट प्रवाह हुने सेवाका सम्बन्धमा समेत आवश्यक जानकारी दिनु परेमा टेलिफोन इमेलबाट सम्पर्क गर्न आग्रह गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026