काठमाडौं : सुनकोशी–७ सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी प्रहरी हिरासतमा छन् । करिब १०० जना गरिब नेपालीको किड्नी गायब गरेको कसुरमा उनलाई भारतको दिल्लीबाट पक्राउ गरिएको हो । उनले ३ वर्षमा २५ जना नेपालीको किड्नी बिक्री गरेको स्वीकार गरेका छन् । उनीसँगै इन्द्रावती सिन्धुपाल्चोकका सुजन भारती पनि पक्राउ परेका छन् ।
गरिब नेपालीलाई काम र पैसाको प्रलोभन दिएर भारतको दिल्ली लैजाने र झुक्कानमा पारी किड्नी निकालेर बिक्री गरिदिने समूहका नाइके हुन् भण्डारी । ५ वर्षदेखि दिल्लीमा बस्दै आएका भण्डारीले ३ वर्षअघि भारतीय आधार कार्डसमेत बनाएका छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता नरेन्द्र चन्दका अनुसार भण्डारीसहितको समूहले नेपालीलाई दिल्ली पुर्याएर किड्नी तस्करीको धन्दा सञ्चालन गर्दे आएका थिए । एउटा किड्नी बिक्रीगरेबापत १० लाख भारु सम्म लिने गरेका भण्डारीले दिल्लीमा विभिन्न अस्पताल र क्लिनिकसँग सहकार्य गरी सोझा नेपालीको किड्नी निकाल्ने र बिक्री गर्ने अवैध सञ्जाल खडा गरेका थिए । मानव बेचबिखन ब्युरोको प्रहरी टोलीले भारत पुगेर मिर्गौला तस्करीमा संलग्न मुख्य एजेन्टसहितलाई पक्राउ गरेको हो । यसअघि राकेश नेपाली, समीर नेपाली र कुमार भन्ने राज कुमार नेपालीलाई प्रहरीले साउन २० गते पक्राउ गरेको थियो । उनीहरूको बयानका पछ्याउँदै प्रहरी टोली दिल्ली पुगेको थियो ।
मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख कृष्ण प्रसाद पंगेनीका अनुसार पक्राउ परेका भण्डारी किड्ने तस्करी गर्ने मुख्य व्यक्ति हुन् । उनले नयाँदिल्लीको लाजपत नगरमा बसेर किड्नी कारोबारको सञ्जाल खडा गरेका थिए । उनको समूह विशेषतः काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङलगायत जिल्लाहरूमा सक्रिय थियो । कोहीले जिल्लाबाट मान्छे पठाउने, कोहीले काठमाडौंबाट दिल्ली पुर्याउने र कोहीले अस्पताल तथा होटेल व्यवस्थापनमा सहयोग गर्ने गर्दथे ।
गाउँका दुःखी, गरिब, निम्नवर्गीय व्यक्तिहरूलाई आकर्षक काम पाइन्छ भन्दै दिल्ली पुर्याउने गरिन्थ्यो । एउटा मिर्गौला दिँदैमा मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै फकाउने गर्थे । किड्नी दिएबापत ६ लाख रुपैयाँ पाइन्छ भन्दै प्रलोभन दिने गर्थे । भण्डारीको समूहले संगठित रूपमा टिम नै परिचालन गरी मानिसहरूलाई प्रलोभन देखाउने र मिर्गौला दिने मानिस खोजेबापत प्रतिव्यक्ति ५० हजार दिने गरेका थिए ।
मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख कृष्णप्रसाद पंगेनी भन्छन्, यो समूहले कोही व्यक्तिलाई झुक्कानमा पारेर नै दिल्ली पुर्याउथे भने कोही व्यक्तिलाई प्रलोभनमा पारेर किड्नी बेच्नका लागि तयार बनाउथे ।
मिर्गौला दिन तयार हुने मानिसहरूलाई नेपालबाट नयाँदिल्लीसम्म गाडीमा लैजाने र मिर्गौला दिएपछि नेपाल ल्याएर सडकमै छाडिदिने गरेका थिए । दिल्लीको लाजपत नगरस्थित कस्तुरवा निकेतनस्थित एउटा होटेलमा राख्ने र खाने–बस्ने व्यवस्था मिलाउने गर्थे । नयाँदिल्लीमा रहेको ग्रेटर नोयडास्थित यर्थाथ हस्पिटल र विभिन्न क्लिनीकहरूसँग सहकार्य गरी किड्नी बिक्री गर्थे ।
मिर्गौला दिन तयार हुने मानिसलाई होटेलबाट निकालेपछि आँखामा पट्टी लगाइन्थ्यो । गाडीमा राखेर अज्ञातस्थलमा लगेपछि इन्जेक्सन दिएर बेहोस बनाइन्थ्यो । बेहोस बनाएपछि मिर्गौला झिक्ने र तीन–चार दिन अस्पतालमा राखेपछि गाडीमा नेपाल फर्काउने गर्थे । भण्डारीको समूहले पीडितलाई कत्ति पनि पैसा नदिइकन नेपाल ल्याएर छाड्ने गरेका थिए । भण्डारीसँगै पक्राउ परेका भारतीले भने किड्नी बेच्न दिल्ली पुगेको व्यक्तिहरूको खानपान, होटेल व्यवस्थापन र अस्पतालमा मिलाउने काम गर्थे ।
उनीहरूविरुद्ध मानव बेचबिखन ब्युरोमा ४ वटा उजुरी दर्ता भएको छ । किड्नी बिक्री गरेकाहरू पनि तस्करीमा लागेका छन् । भण्डारीसहित अहिलेसम्म यो प्रकरणमा ७ जना पक्राउ परेका छन् । ब्युरोले मानव अंग प्रत्यारोपणसम्बन्धी अहिलेसम्म १४ वटा मुद्दा चलाएको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा १५ अनुसार अनुसन्धान थालिएको छ । उक्त कानुनअनुसार मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद र दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । उनीहरू संगठित रूपमा नै किड्नी तस्करीमा लागेको भएर संगठित अपराध नियन्त्रण ऐनअन्तर्गत पनि अनुसन्धान भइरहेको छ । यो ऐनअनुसार तोकिएको सजायमा डेढी बर्ढाइ सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।