२१३ म्यानपावरको अनुगमन, पीडितलाई पौने तीन करोड क्षतिपूर्ति

9 March, 2026

Ajit Adhikari

वैदेशिक रोजगार विभागले चालू आवको माघ मसान्तसम्म दुई सय १३ म्यानपावर कम्पनीको अनुगमन गरेर पौने तीन करोड क्षतिपूर्ति दिलाएको छ । विभागले विभिन्न देश जाँदा ठगिएको तथा दु:ख पाएको भन्दै कामदारले गरेको उजुरीका आधारमा एक सय ३२ म्यानपावरको अनुगमन गर्नुका साथै आकस्मिक अनुगमन पनि गरेको हो । उजुरीमध्ये ८१ वटाको किनारा लगाएको विभागमातहतको अनुगमन तथा अभिमुखीकरण शाखाले जनाएको छ ।

विभागको मुद्दा तथा अनुसन्धान शाखाले सात महिनामा १२ करोड १८ लाख ५३ हजार पाँच सय चार रुपैयाँ क्षतिपूर्ति दाबीसहित उजुरी परेको जनाएको छ । सोही उजुरीउपर कारबाही गर्दै दुई करोड ७१ लाख २३ हजार आठ सय चार रुपैयाँ क्षतिपूर्तिसमेत दिलाएको विभागको भनाइ छ । यस्तो क्षतिपूर्ति म्यानपावर कम्पनी तथा अभिमुखीकरण संस्थाहरूबाट पीडित कामदारलाई दिलाइएको हो ।

सात महिनामा गरिएको अनुगमनका क्रममा दुई म्यानपवारको कारोबार रोक्का राखिएको छ । त्यस्तै, दुईवटा अभिमुखीकरण गर्ने संस्थाको समेत कारोबार रोकिएको छ । म्यानपावरले जफत गरेको ४६ वटा राहदानी फिर्ता गरी सम्बन्धित व्यक्तिलाई समेत फिर्ता गरेको छ । विभागको मुद्दा तथा अनुसन्धान शाखाले गर्ने सुपरीक्षण प्रणालीमा सात महिनामा २९ सय ८७ उजुरी दर्ता भएका छन् । यसमध्ये माघमा मात्रै चार सय २६ उजुरी दर्ता भएका हुन् ।

त्यस्तै, सो शाखाले माघमा ७० सहित सात महिनामा कुल दुई सय ९५ मिलापत्र गराएको छ । म्यानपावरलाई कारबाहीका लागि मुद्दा दायर गर्न माग गर्दै दिएको उजुरीपछि कामदार र रजिस्ट्रर संस्थाका प्रतिनिधि बसेर विभागको रोहबरमा मिलापत्र गराउने गरिएको छ । मिलापत्र हुन नसकेको र ठगी पुष्टि भएको प्रमाणका आधारमा विभागले सात महिनामा एक सय ९६ मुद्दासमेत अदालतमा दायर गरेको जनाएको छ । यसमध्ये माघमा मात्रै ४९ मुद्दा दायर गरिएको छ ।

एक सय ५९ कामदारको उद्धार

विभागमातहतको उद्धार, राहत तथा समन्वय शाखाले विभिन्न देशमा समस्यामा परेका र स्वदेशमा समेत दु:ख पाएका एक सय ५९ कामदारको उद्धार गरेको जनाएको छ । माघ महिनामा मात्रै १४ कामदारको उद्धार भएको शाखाले जनाएको छ । उक्त शाखामा स्वदेश तथा विदेशमा कठिनाइ भोगेको ६ सय ६७ उजुरी प्राप्त भएको र दुई सय ३७ लाई क्षतिपूर्तिसमेत दिलाएको विभागको तथ्यांक छ । त्यस्तै, तीन सय ७६ उजुरीलाई आपसी सहमतिमा टुंग्याएको विभागले जनाएको छ ।

विभागको चालू खर्च लयमा, पुँजीगत खर्च निराशाजनक

विभागलाई चालू आव ०८२/८३ का लागि १६ करोड ३५ लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमध्ये चालूतर्फ १० करोड ८४ लाख ७० हजार विनियोजन भएकोमा माघ मसान्तसम्म ५४.७० प्रतिशत खर्च भएको छ । तर, पुँजीगत खर्च चार करोड ५६ लाख ८० हजार विनियोजन भएकोमा माघ मसान्तसम्म ५.९४ प्रतिशत मात्रै खर्च भएको छ । त्यस्तै, रोजगार शीर्षकमा ९४ लाख २४ हजार बजेट विनियोजन भएकोमा १२.३८ प्रतिशत मात्रै खर्च भएको विभागले जनाएको छ ।

सात महिनामा ४६९ जना पुगे इजरायल

सरकारीस्तरमा सम्झौता भई कामदार पठाउने प्रणालीअन्तर्गत इजरायलको रोजगारीमा चालू आवको सात महिनामा चार सय ६९ नेपाली पुगेको विभागले जनाएको छ । विभागमातहतको इजरायल शाखाका अनुसार अधिकांश कामदार केयर गिभरका रूपमा गएका हुन् । शनिबारदेखि जारी मध्यपूर्व तनावले इजरायलको रोजगारीमा जान टिकटसमेत लिएर ठिक्क परेका ५२ जना भने अन्योलमा परेका छन् । उनीहरूको उडानतालिका बिहीबार र शुक्रबारका लागि तय भएको थियो । तर, इजरायल आफैँ युद्धमा रहेकाले अहिले सो क्षेत्रमा नेपाली कामदार पठाउन रोक लगाइएको छ । त्यस्तै, थप १५२ जना इजरायल जान पाउने गरी भिसा प्रमाणीकरण भएरसमेत आएकोमा उनीहरूको प्रक्रियासमेत स्थगत गरिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024