२० प्रतिशत नेपाली तालिमै नलिई पुग्छन् वैदेशिक रोजगारमा

23 June, 2022

एक अध्ययनले २०.८ प्रतिशत नेपालीहरू अभिमुखीकरण तालिम नै नलिई वैदेशिक रोजगारमा पुग्ने गरेको देखाएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) लगायत संस्थाको सहयोगमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले तयार गरेको अनलाइन प्लेटफम रिक्रुटमेन्ट एडभाइजरको सहयोगमा तयार गरिएको अध्ययनले यस्तो देखाएको श्रम विज्ञ डा. जीवन बानियाँले बताए।उनका अनुसार यो अध्ययनमा वैदेशिक रोजगारमा पुगेका एक हजार पाँच सय ९३ जनालाई समेटिएको थियो।

अभिमुखीकरण तालिम लिएर विभिन्न विषयमा जानकार भइ वैदेशिक रोजगारमा ८४.१ प्रतिशत पुगेको देखिन्छ। त्यस्तै, अध्ययनले वैदेशिक रोजगारमा जानेहरूले औसत १ लाख २५ हजार रुपैयाँ तिरेको देखाएको छ। जसमा अधिकतम दुई लाख २५ हजारसम्म तिरेर पुगेका छन् भने न्यूनतम ५० हजार तिरेर पुगेका छन्।

वैदेशिक रोजगारमा जाने १९.५ प्रतिशतले करार सम्झौता पत्र नै नपाएको बताएका छन्। ५ प्रतिशतले सम्झौता बुझ्ने भाषामा नभएको बताएका छन्। ९५ प्रतिशतले सम्झौता बुझ्ने भाषामा भएको बताएका छन्।

सम्झौतामा भनिएको जस्तो काम पनि धेरैले नपाउने अध्ययनले देखाएको छ। अध्ययनले ६५.२ प्रतिशतले सम्झौतामा भनेको जस्तो काम पाएको देखाएको छ। ३४.८ प्रतिशतले सम्झौतामा भएभन्दा फरक काम गर्नुपरेको बताएका छन्।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूले बाध्यकारी श्रम गर्नुपर्ने समस्या देखिएको छ। पासपोर्ट रोजगारदाताले राख्दा यस्तो समस्या देखिएको डा. बानियाँ बताउँछन्।

अध्ययनले ९५.५ प्रतिशतले आफ्नो पासपोर्ट आफैं राख्न नपाउने अवस्था रहेको देखाएको छ। ४.५ प्रतिशतले भने आफ्नो पासपोर्ट आफैं राख्न पाएको बताएका छन्। त्यस्तै, ७३.६ प्रतिशतले फेरि वैदेशिक रोजगारमा जाँदा पुरानै कम्पनीमा नजाने बताएका छन्। २६.४ प्रतिशतले भने सोही कम्पनीमा जान चाहेको बताएका छन्।

‘यो अवस्थाले नेपालीहरूले काम गर्ने, खाने, बस्ने अवस्था ठिक छैन भन्ने देखिन्छ,’ डा. बानियाँले भने।

जिफन्टले सुरक्षित वैदेशिक रोजगारका लागि म्यानपावरको अवस्थाबारे जानकारी हुने उदेश्यले अनलाइन प्लेटफम रिक्रुमेन्ट एडभाइजर सुरू गरेको बताएको छ। यो माध्यमार्फत कुन म्यानपावर कस्तो प्रकृतिको हो? यसले भनेजस्तो काममा पठाउँछ पठाउँदैन भन्ने जानकारी पाइने जिफन्टले बताएको छ।

वैदेशिक रोजगारीमा जाने प्रकृया पूरा गरेर, गन्तव्य मुलुक पुगेका तथा फर्केर आएकाहरूले दिएको प्रतिक्रिया र रेटिङका आधारमा म्यानपावर कस्तो भनेर जानकारी पाइने बताइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024