काठमाडौँ — आइतबार मध्यरात कोही बोरा त कोही भिर्ने झोला बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै थिए । अनुहार मलिन थियो । बोल्न चाहिरहेका थिएनन् ।
उनीहरु थिए, अमेरिकाबाट निष्कासनमा परेका नेपाली । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकाल सम्हालेयता अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा ३७ नेपाली निष्कासनमा परी आइतबार नेपाल आइपुगेका हुन् । ४६ नेपाली निष्कासन (डिपोर्ट) मा परेर नेपाल फर्किसकेका छन । तर तीमध्ये कसैले पनि अहिलेसम्म प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गराएका छैनन् ।
आइतबार जस्तै गरी २१ फागुनमा एक महिलासहित नौ नेपाली अमेरिकी चार्टर्ड विमानमार्फत डिपोर्ट भएर फर्केका थिए । ब्युरोले त्यतिबेला फर्केका सबैसँग सोधपुछ गरेर अवैध रुपमा अमेरिका पठाउनेविरुद्ध उजुरी गर्न सुझाएको थियो । तर कसैले पनि उजुरी दर्ता गराएनन् ।
लाखौं रुपैँया खर्च गरेर फर्केकाहरु आफूखुसी गएको भन्दै कोही पनि उजुरी दिन मान्दैनन् । ‘हाम्रो पैसा खर्च भइसक्यो, हामी मुद्दामामलामा जादैनौं भन्छन्,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भने, ‘पहिलाका नौ जनालाई पनि मुद्दा दर्ता गराउन निकै अनुरोध गरेका थियौं तर कसैले मान्नुभएन । अहिले पनि कसैले मुद्दा दर्ता गर्नुभएको छैन ।’
आइतबार अमेरिकाबाट डिपोर्टमा परेकाहरुले प्रहरीसँग अवैध बाटोबाट अमेरिका छिर्न ५० लाखदेखि एक करोड ४० लाख रुपैयाँसम्म खर्च भएको बताएका छन् । यसअघि डिपोर्टमा परेकाहरुलाई जस्तै यसपाला पनि प्रहरीले उजुरी गर्न अनुरोध गरेका छ । ‘फागुनमा फर्किएहरुसँग पनि पटकपटक सम्पर्कमा रहेर कानुनी सहयोग गर्छौं भनेर उजुरी दर्ता गर्न निकै अनुरोध गरेका थियौं,’ एक प्रहरी अधिकृतले भने, ‘उनीहरु यहाँबाट बिदा भएपछि पुन: आउन नै चाहँदैनन् ।’
मानव बेचबिखन अनुसन्धान ब्युरोले विमानस्थलमा अवतरण भएकाहरुलाई ब्युरोमा बोलाएर उनीहरुको विवरण लिने र अनुसन्धानका लागि सहयोग गर्न अनुरोध गर्दै आएको छ । ‘तर, उनीहरु कुनै गुनासो नरहेको भन्दै उजुरी दर्ता गर्न तयार हुन्नन् । फर्किएर आउनेसँग कागजपत्र केही हुँदैन, उनीहरुले भनेको कुरामा नै हामीले विश्वास गर्ने हो,’ प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भने, ‘कारबाही प्रक्रिया अघि बढाउन पनि जाहेरी चाहिन्छ । हामीलाई जाहेरी प्राप्त नभएसम्म केही गर्न मिल्दैन । आवश्यक मात्रामा हामीले कानुनी सचेतना र अनुरोध भने गर्दै आएका छौं ।’
फर्किएर आउनेहरुले खर्च गरेको मध्ये थोरै मात्र रकम नेपाली एजेन्टलाई बुझाउने गरेको प्रहरीको सोधपुछमा बताउने गरेका छन् । ‘नेपालीहरु प्राय: उनीहरुको आफन्त र चिनजानको हुने भएकाले होला भन्न चाहन्नन्,’ एक प्रहरीले भने, ‘विदेशीको हकमा भने पैसा दिएको मान्छेको नाम नै थाहा नभएको उनीहरुले बताउने गरेका छन् ।’
जानेमध्ये केहीलाई त कति पैसा खर्च भयो भन्ने पनि थाहा नहुने गरेको प्रहरीको भनाइ छ । ‘घरमा बुबा, दाजु वा कोही कसैले अमेरिका पठाइदिन्छु भन्ने गिरोह चिनेको हुँदो रहेछ, पैसाको कुरा उहाँहरुले नै गर्नु हुँदो रहेछ,’ एक प्रहरीले भने, ‘प्रायको पैसा लेनदेन भने गन्तव्य स्थानअनुसार हुने गरेको छ । ’
ब्युरोका अनुसन्धान अधिकारीहरुका अनुसार अवैध रुपमा अमेरिका छिरेकामध्ये धेरैजसोका सुरुवाती एजेन्ट आफन्त वा साथीभाइ नै हुने भएकाले उजुरी गर्न तयार हुँदैनन् । कतिपय भने एजेन्टले पैसा फिर्ता गरिदिने वा अर्को देश पठाइदिने आश्वासनमा फसेका हुन्छन् ।
गिरोहलाई रकम बुझाएर जानेहरूमा अधिकांश दाङ, रुकुम पश्चिम र रुकुम पूर्व जिल्लाका बढी छन् ।
दोस्रो कार्यकालका लागि ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएर २० जनवरी २०२५ पदभार सम्हालेसँगै अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालसहितका आप्रवासीलाई निष्कासन गर्ने नीति लिएको हो ।