‘होस्टलमा बस्दा कति तनाव भयो भन्ने सीमा छैन’

28 May, 2025

सन्जिब बगाले

चितवनकी कविता खनाल १८ महिनाअघि कामका लागि युरोपेली देश क्रोएसिया पुगेकी थिइन्।

नेपालबाट एजेन्टले पठाउँदा महिनामा डेढ–दुई लाख रूपैयाँ कमाइ हुन्छ भनेको थियो। त्यही कमाइको अपेक्षामा दुई छोरा र श्रीमानलाई घरमा छोडेर हिँडिन्।

कविताका लागि क्रोएसिया एजेन्टले भनेजस्तो र आफूले अपेक्षा गरेजस्तो भएन। अपेक्षा गरेको जस्तो नभएको मात्र होइन कि सोच्दै नसोचेको भइदियो। जनशक्ति आपूर्तिकर्ता कम्पनीले दिएको होस्टलमा बसेर उसैले भनेको ठाउँमा काम गर्न जानुपर्थ्यो। उसले कमिसन लिएर दिएको पैसा मात्र लिनुपर्ने बाध्यता थियो।

‘युरोप भनेर के गर्नु! खाडी जत्तिको पनि भएन। सुरूमा आठ लाख रूपैयाँ खर्च हुन्छ भनेर प्रक्रिया अघि बढाएकी थिएँ। तर क्रोएसिया आइपुग्दा १२ लाखभन्दा धेरै लाग्यो,’ उनले भनिन्, ‘यहाँ आएर ६ महिना गैरकानुनी भएर बस्नुपर्‍यो। कम्पनीले राखेको होस्टलमा बस्दा कति तनाव भयो भन्ने सीमा छैन।’

त्यस्तो समस्याका बीच कविताले होस्टलबाट भाग्ने साहस गरिन्। भाग्नुअघि आफैले काम खोजिन्। त्यतिन्जेलमा त्यहाँको भाषाको केही ज्ञान भएको थियो। काम पाउन सजिलो भयो।

उनले एउटा केयर होममा काम पाइन्। काम पक्का भएपछि होस्टलबाट सुटुक्क निस्किन्। काम पाएपछि सजिलो त भयो तर बसाइ गैरकानुनी थियो। बसाइ कानुनी बनाउन उनलाई केयर होमले मद्दत गर्‍यो। उनको समस्या समाधान भयो तर उनीसँगै गएका केही साथी अझै गैरकानुनी छन्।

‘मसँगै आउने कतिपय साथीहरू अहिले पनि गैरकानुनी तरिकाले बसेका छन्। उनीहरू स्पेन जाने कि के गर्ने भनेर अन्यौलमा छन्,’ कविताले भनिन्।

कविताका अनुसार गैरकानुनी तरिकाले बसेका व्यक्तिलाई त्यहाँको प्रहरीले जुनसुकै बेला नियन्त्रणमा लिएर फिर्ता पठाइदिन सक्छ। यो डरले उनीहरू होस्टल छाडेर बाहिर जान सक्दैनन्। कम्पनीले दिने कम पारिश्रमिकमा काम गर्न बाध्य हुन्छन्।

कम्पनीले एक जना कामदारको पारिश्रमिक मासिक ९५० युरो लिएर पनि ३५० युरो मात्रै दिने गरेको कविताको भनाइ छ।

नेपालमा एजेन्टहरूले मिठो सपना र प्रलोभन देखाएका हुन्छन्। टन्न कमाइ हुन्छ, स्थायी आवास अनुमतिको कार्ड बन्छ र बिस्तारै त्यहीँको नागरिकता समेत पाउन सकिन्छ भनेर लोभ्याएका हुन्छन्। तर वास्तविकता अर्कै हुन्छ।

‘एजेन्टको कुरामा भर परेर क्रोएसिया पुगेपछि छाँगाबाट खसेजस्तै भइन्छ। म आफैले भोगेँ, अर्काको के कुरा गर्नु,’ उनले भनिन्, ‘होटलमा वेटरको काम भनेर अन्तर्वार्ता समेत पास गरेर आएको हो। यहाँ आएपछि के के भयो, भनेर सकिँदैन। धेरैले दुःख पाएका छन्।’

उनले क्रोएसिया जाने क्रममा लागेको ऋण र त्यसको ब्याज तिर्नु थियो। तर उल्टो नेपालबाटै पैसा मगाएर खानुपर्ने अवस्था आयो।

‘यहाँ धेरै नेपाली आएका छन्। कति छन् भन्ने पनि कसैलाई थाहा छैन,’ कविताले भनिन्, ‘यहाँ नेपालीहरू ठगिने भनेको नेपालीबाटै हो। म आफैले पाँच ठाउँमा काम फेर्नुपर्‍यो। बल्ल एक वर्ष भयो केयर होममा काम गरेको। कतिपय दिदीबहिनी हिंसामा परेका छन्। म तिम्रो म कार्ड बनाइदिन्छु, सँगै बसौं भन्ने मान्छे पनि आउँछन्।’

कविताले होस्टल बस्दा प्रतिघण्टा दुई युरोमा काम गर्नुपरेको थियो। हाल प्रतिघण्टा चार युरो पारिश्रमिक पाउँछिन्। अब चाँडै पाँच युरो हुने भएको छ। दिनभरमा ५० युरो कमाउँछिन्।

उनी आफूले भोगेका समस्याबाट अरूले पनि पाठ सिकून् भन्ने चाहन्छिन्। कामका लागि क्रोएसिया जान चाहने नेपालीलाई कामको सीप र भाषा सिक्न उनको सुझाब छ।

‘आफूलाई पठाउने म्यानपावरबारे पनि राम्ररी बुझ्नुपर्छ। काम गर्ने कम्पनी पनि कस्तो छ भन्ने थाहा पाउनुपर्छ,’ कविताले भनिन्, ‘क्रोएसिया जाने लोभमा अनावश्यक खर्च नगर्नू। मैले १२ लाख रूपैयाँ खर्च गर्नुपर्‍यो। तर आठ लाखभन्दा बढी खर्च हुँदैन।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024