होटल क्षेत्रमा कार्यरत श्रमिकलाई तलब दिन सरकारको निर्देशन

5 May, 2020

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले होटल क्षेत्रमा कार्यरत श्रमिकलाई चैत महिनाको पूरा तलब दिन मंगलबार निर्देशन दिएको छ । श्रम सचिव विनोद केसीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्देशन दिएको हो ।

होटल क्षेत्रमा कार्यरत श्रमिकले तलब नपाएपछि मन्त्रालयले होटल एशोसिएसन नेपाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र पदाधिकारीलाई छलफलका लागि मन्त्रालयलमा बोलाइएको थियो ।

चैत्र महिनासम्मको तलब/पारिश्रमिक सरकारको निर्णयबमोजिम तत्काल फरफारक गर्ने व्यवस्था सम्बन्धित होटल व्यवसायले मिलाउने तथा उक्त कार्यको सहजीकरण होटल एशोसिएसन नेपाल एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले गर्ने सहमति भएको प्रवक्ता सुमन घिमिरेले बताए । तलब दिए/नदिएको अनुगमन श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम तथा रोजगार कार्यालयले गर्ने निर्णय भएको घिमिरेले बताए ।

उनका अनुसार कोभिड १९ को कारणले होटल क्षेत्रका चासो र सरोकारका विषय तथा यसबाट होटल व्यवसायमा परेको प्रभाव र समाधानका उपायहरू पहिचान गर्न आगामी दिनमा पनि सरकार, रोजगारदाता र श्रमिकबीचको सम्वादलाई निरन्तरता दिने निर्णय भएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024