भारतको हिमाचल प्रदेशको सोलन जिल्लाको अर्की भन्ने ठाउँमा सोमबार बिहान भएको आगलागीको घटनामा परेकाहरूको खोज–उद्धार कार्यमा कठिनाइ भएको छ। भीषण आगलागीका कारण घटनामा परेका व्यक्तिहरूको खोजीमा समस्या भइरहेको हो।
‘हामीले खोज–उद्धारको काम जारी राखेका छौँ,’ सोलन जिल्लाका उपआयुक्त मनमोहन शर्माले भने, ‘आगलागी र ग्यास सिलिन्डर विस्फोटका कारण शरीरका टुक्रा-टुक्रा भेटिन थालेका छन्। अधिकांश जलेर हड्डी मात्रै भेटिएका छन्।’ उनले घटनामा परेर ९ जना नेपाली परेको जानकारी दिए।
उपआयुक्त शर्माका अनुसार राष्ट्रिय आपदा प्रतिकार्य बल (एनडीआरएफ), प्रदेश आपदा प्रतिकार्य बल (एसडीआरएफ)सँगै प्रहरी र स्थानीय प्रशासनको टोली खोजी कार्यमा जुटेको छ।
‘आगलागी भएको क्षेत्रबाट शवका केही टुक्रा भेटिएका छन्, तर तिनको पहिचान हुन सकेको छैन,’ शर्माले भने, ‘खोज तथा उद्धार कार्य अहिले पनि जारी छ।’
उनका अनुसार अत्यधिक चिसोका कारण ताप्नका लागि बालिएको आगोबाट आगलागी भएको हो। काठका घर भएका कारण आगलागी छिट्टै फैलिनुका साथै ग्यास सिलिन्डरहरू समेत पड्किएका थिए। आगलागी भएको घरबाट केही व्यक्तिले भागेर ज्यान जोगाउन सफल भएको उनले बताए।
दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर प्रकाश मल्लले सोलनको आगलागीमा ९ जना नेपाली परेको जानकारी आएको बताए। ‘दुई जनाको हड्डीका टुक्रा मात्रै भेटिएको भन्ने खबर आएको छ, खोज–उद्धार कार्य जारी छ,’ उनले भने, ‘आगोले जलेका कारण शव पहिचान गर्न सकिने अवस्था छैन। डीएनए परीक्षण गरेर मात्रै पहिचान गर्न सकिन्छ।’