हामीलाई प्यारो छ हाम्रै पसिना!

2 May, 2025

आज १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस। सहरमा मजदुर दिवसको उत्सव चलिरहेका छन्।

राजनीतिक दलनिकट मजदुर संघ–संगठनहरू उत्सवको अग्रभावमा छन्। तर वास्तविक मजदुरहरू भने श्रमिक दिवसबाट टाढा छन्।

उनीहरूलाई आफ्नै पसिना प्यारो छ। पसिनाकै पौरखमा रमाइरहेका देखिन्छन्।

रोल्पाबाट काठमाडौं पसेकी मनकुमारी बुढा (३७) ८ वर्षअगाडि काठमाडौं पसेकी हुन्। उनी अहिले धादिङका धुनीबेसीको इँटाभट्टामा रमाइरहेकी छिन्। धुलैमुलै भएर श्रम गरिरहेकी उनी यसरी मिहिनेत गरिनन् भने भोकै पर्छिन्।

एघार वर्षअगाडि श्रीमानले आफूमाथि सौता हालेपछि भाग्यले इँटाभट्टातिर धकेलिदिएको ठान्छिन्।

इँटा भट्टामा अहिले उनी मात्र छैनन्, उनकी छोरी पनि इँटा ओसार्दै उनलाई सघाउँछिन्। आमा–छोरीको पौरखले खान पुग्छ कि भन्ने उनलाई लागेको छ।

उनीहरू एक पटकमा ४० देखि ४५ वटासम्म इँटा बोक्छन्। कति पटक इँटा बोक्यो भन्ने कुराले उनीहरूको कमाइ निर्धारण गर्छ।

‘जति पटक इँटा बोक्यो त्यति पटक काजगमा छाप लगाउने र पछि हिसाब गरी एकमुष्ठ दिन्छन्,’ उनले भनिन्। सधैँ उनीहरूले इँटा बोक्न सक्दैनन्। बिरामी परेर इँटा बोक्न नसकेको दिन कमाइ हुँदैन। त्यो दिन भोकै पर्ने भय हुन्छ।

उनीहरू त प्रतिनिधि पात्र मात्र हुन्। अनौपचारिक श्रम क्षेत्रमा आज पनि कैयन् त्यस्ता श्रमिक छन्, जसको ज्यालाको सुरक्षा छैन। मानवोचित व्यवहार पनि पाउन सकेका छैनन्।

वर्षमा एक दिन आउने यस्ता मजदुर दिवसले आफूहरूलाई छुन नसकेको गुनासो गर्छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024