स्वरोजगार बन्‍न युवा आकर्षित

14 Jan, 2019

तुलसी सुवेदी

वैदेशिक रोजगारबाट फर्केका युवा स्वदेशमै स्वरोजगार बन्न आकर्षित भएका छन्। सरकारले स्वरोजगार बन्न चाहने युवालाई सहुलियत ब्याजमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म ऋण दिने भएपछि युवामा स्वदेशमै केही गर्ने सोच आएको छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार १५ हजारभन्दा बढी युवा ऋण लिएर व्यवसायी बन्न चाहेका छन्। विदेशमा कमाएको अधिकांश रकम उपभोगमै सकिने गरेसँगै युवा पुनः वैदेशिक रोजगारीमा जान बाध्य छन्। तर, सरकारले सहुलियत ऋण दिने घोषणा गरेसँगै उद्यमी बन्ने युवाको जमात बढ्दै गएको हो।

 

तर विज्ञ भने पैसा दिएर मात्र युवा स्वरोजगार बन्न नसक्ने बताएका छन्। श्रम विज्ञ डा.गणेशमान गुरुङले ऋण दिएर मात्र युवा व्यवसायी बन्न नसक्ने ठोकुवा गरे। प्रवद्र्वन बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीका अनुसार कर्जाका लागि १४ हजार चार सय ३० जनाले प्रत्यक्ष र करिब नौ सय जनाले अनलाइनबाट फारम भरेका छन्। सरकारले ऋण आवेदनका लागि सोमबारसम्म अन्तिम म्याद तोकेको छ। ‘सुरुमा थोरै संख्या भए पनि पछिल्लो एक सातायता दैनिक १२ सयभन्दा बढीले फारम भरेका छन्’, उनले भने। कम्तीमा पनि ६ महिना विदेश बसेको र फर्केको तीन वर्ष नपुगेको युवाले ऋण पाउँछन्। युवा मिलेर सामूहिक उद्यम तथा व्यवसाय गर्न सक्नेछन्।

 

फारमका आधारमा राष्ट्र बैंक, अर्थ मन्त्रालय र श्रम मन्त्रालय छलफल गरी ऋण प्रदान गर्नेछन्। राष्ट्र बैंकको निर्देशनमा सम्बिन्धत जिल्लाका बैंकले वैदेशिक रोजगार परियोजना अन्र्तगत युवालाई ऋण प्रदान गर्नुपर्नेछ। विदेशबाट फर्केसँगै कृषिलगायत विभिन्न प्रकृतिका उद्योग, व्यवसाय गर्ने युवाको संख्या बढ्दै गएको छ। बोर्डले माघभित्र फारम केलाएर व्यवसायको प्रकृतिको अध्ययन गर्नेछ। ‘अध्ययनको अधारमा सम्बन्धित निकायमा ऋणका लागि आह्वान हुनेछ’, उनले भने,‘ बिजनेस प्लानका आधारमा बैंकले ऋण प्रदान गर्नेछन्।’

 

सरकारले दुई प्रतिशत ब्याजमा ऋण दिने योजना अघि सारेको छ। त्यस्ता परियोजनाको कर्जा पाँच वर्षभित्र भुक्तानी गरिसक्नुपर्नेछ। तर, बैंकले व्यवसायको प्रकृतिअनुसार समय निर्धारण गर्न सक्छन्। युवाले व्यवसाय परियोजना धितो राखेर ऋण पाउँछन्।

 

विदेशबाट फर्केकाले आफूले सिकेको ज्ञान, सिपका आधारमा फारम भरेको बोर्डले जनाएको छ। सुवेदीका अनुसार उद्यमशीलता बढाउन, आत्मनिर्भर अर्थतन्त्र बनउन, वैदेदिक रोजगारबाट युवालाई फर्काइ स्वरोजगार बनाउन सरकारले ऋण दिने योजना अघि सारेको हो। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ।

 

वैदेशिक रोजगार प्रवद्र्वन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सहुलियतपूर्ण कर्जाले स्वरोजगार बढ्ने बताए। ‘वैदेशिक रोजगारको पैसा र सीप सदुपयोग हुन सकेको छैन, ‘उनले भने, ‘अब सदुपयोग हुने अवस्था सिर्जना भएको छ।’ वैदेशिक रोजगार विभागका अनुसार ४३ लाख भन्दा बढी युवा वैदेशिक रोजगारीमा छन्। विदेशबाट फर्केर आएका युवा आवश्यक रकम नहुँदा उद्यम गर्न सकेका थिएनन्। सहुलियतपूर्ण ऋणले युवालाई स्वदेशमै स्वरोजगार बन्न सघाउने सरकारको अपेक्षा छ।

 

श्रमविज्ञ गुरुङले बिजनेस प्लान, मार्केटको अवस्था, उत्पादन, ब्याजलगायत कुरा सँगै राखेर सरकारले ऋण दिनुपर्ने बताउँछन्। उनले भने, ‘कुन व्यवसाय हो, त्यसको सम्भाव्यता के छ ? , नाफा/मार्जिनलगायत काउन्सिलिङ सेवा दिन सकेमात्र ऋण सदुपयोग भइ उद्यमशीलता बढ्नेछ।’

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024