स्पेनमा ‘दासलाई जस्तै’ श्रम शोषण : ११ जना पक्राउ, ३ सयभन्दा बढी पीडितमध्ये ठूलो संख्या नेपाली

8 December, 2025

Hom Karki

स्पेनमा नेपाली श्रमिकलाई कृषि क्षेत्रमा आधुनिक दास सरहमा काममा लगाएको खुलेको छ । स्पेनी प्रहरीले दासलाई जस्तै व्यवहार गरिएको अवस्थामा तीन सयभन्दा बढी नेपालीसहित आप्रवासी श्रमिकलाई काम गराउने ११ जनाको गिरोहलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

प्रहरीले ३ सयभन्दा बढी सम्भावित पीडित पहिचान गरेको छ । जसमा ठूलो संख्या नेपाली नागरिक रहेको अधिकारीहरूले पुष्टि गरेका छन्।

प्रहरीद्वारा बिहीबार (डिसेम्बर ४) सार्वजनिक विज्ञप्तिमा प्रायः आप्रवासी मूलतः नेपालबाट आएका बताइएको छ । शेनचेन क्षेत्रमा पर्यटक भिसाबाट प्रवेश गरेका ती आप्रवासीलाई अलिकान्टे, भ्यालेन्सिया र सारागोजा क्षेत्रका गाउँ–बस्तीमा लगेर कृषि फार्ममा काम गराइन्थ्यो । छापा मारिएको स्थानबाट प्रहरीले नगद, नक्कली कागजात र मोबाइल फोन बरामद गरेको छ।

प्रहरीका अनुसार आप्रवासीहरूलाई हावापानी नछिर्ने कक्षमा खाँदेर राखिन्थ्यो । कतिपय भुइँमै सुत्थे, तर पनि उनीहरूमाथि बसोबास, यातायात र खानाका नाममा अत्यधिक शुल्क लिइन्थ्यो।

१२ घण्टासम्म काम, ज्याला शून्य

अधिकार समूहले ‘बलपूर्वक श्रम’ भनेर वर्णन गर्ने अवस्था ती आप्रवासीले भोगिरहेका थिए। धेरैलाई दिनमा १२ घण्टासम्म खेतबारीमा लगाइन्थ्यो, थुप्रैलाई त कुनै पारिश्रमिक नै दिइँदैनथ्यो। उनीहरूलाई सौचालयको पहुँच पनि सीमित थियो। स्माचार एजेन्सी एपीका अनुसार उनीहरूको बसोबास पूर्ण रूपमा ‘अमानवीय र असम्मानजनक’ थियो।

दक्षिण–पूर्वी स्पेनको अल्बासेटे क्षेत्रमा बास दिइएको भए पनि दैनिक विभिन्न प्रदेशका फार्ममा कामका लागि भ्यानमा लैजाइन्थ्यो। ती भ्यानहरू आधारभूत सुरक्षा मापदण्डविहीन भएको प्रहरीले जनाएको छ। यिनै भ्यान दुर्घटना भएका घटनामध्ये एकमा एक नेपाली पुरुषको मृत्यु भएको जनाएको छ। उनको पहिचान सार्वजनिक भएको छैन ।

फेला परेका ३२२ आप्रवासीमध्ये २९४ जनासँग स्पेनमा बस्न र काम गर्न आवश्यक कागजात थिएन।

युरोपोलको बहुदेशीय अभियानमा पनि नेपाली पीडित

नोभेम्बरको सुरुतिर स्पेनी प्रहरी युरोपोलको बहुदेशीय अभियानमा सहभागी भएको थियो। ३२ देशमा गरिएको अभियानबाट ४०४ आप्रवासी श्रमिक पीडित र ९३ जना संलग्न व्यक्ति पहिचान भएका थिए।

सेभिला नजिकै भेटिएका आप्रवासीको अवस्था पनि हालैका घटनासँग मिल्दोजुल्दो पाइएको युरोपोलले जनाएको छ।

नोभेम्बर ६ मा जारी वक्तव्यमा युरोपोलले भनेको छ, ‘सेभिलास्थित एक कृषि क्षेत्रमा संयुक्त कारबाहीका क्रममा एक नेपाली नागरिक श्रम शोषणसहितको मानव तस्करीको पीडितका रूपमा भेटिएका छन्। उनलाई एक कबाब रेस्टुरेन्टमा गरेको निरीक्षणपछि उद्धार गरिएको हो। पीडित अमानवीय, अस्वच्छ र भीडभाडयुक्त अवस्थामा बसिरहेको पाइयो। उनीलाई प्रहरीमार्फत सुरक्षित आवासमा राखिएको छ।’

युरोपोलका अनुसार श्रम सम्झौता बिना काम गरिरहेका पाँच श्रमिकसम्बन्धी तीन वटा छुट्टाछुट्टै अनुसन्धान पनि सुरु गरिएको छ। स्पेनी प्रहरीले भनेको छ, ‘पीडितलाई सुरक्षित राखिएको छ, घटनाबारे विस्तृत रूपमा अनुसन्धान भइरहेको छ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024