गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले स्पेनमा तुरुन्तै घुम्ती राहदानी शिविर पठाउनुपर्ने बताएका छन् ।
स्पेन सरकारले कागजातविहीन आप्रवासी श्रमिकलाई अभिलेखीकरण गर्न दिइएको अवसर प्रयोग गर्न राहदानी विभागले तुरुन्तै घुम्ती राहदानी शिविर पठाउनुपर्ने उनले बताए । ‘अहिले यहाँ रहेका राहदानी साथमा नभएका र म्याद सकिएको नेपालीको संख्या ठूलो छ,’ उनले भने, ‘स्पेनमा रहेका नेपाली दूतावाससँग भएको जनशक्तिले यसलाई सम्बोधन गर्न सकेको छैन । यसका लागि काठमाडौंबाट नै विशेष टोली आउनुपर्छ ।’
स्पेनमा झन्डै ५० हजार नेपाली पुगेको अनुमान गरिएको छ । यसमा रोमानिया, क्रोएसिया, साइप्रस, बुल्गेरिया लगायत देशको भिसा लिएर स्पेनमा कागजातविहीन हैसियतमा बस्ने नेपालीको संख्या ठूलो छ । उनीहरुलाई समेत सम्बोधन हुने गरी स्पेनले दुई दशकयता आवासीय अनुमति दिने गरी अभिलेखीकरण गर्ने भएको हो । यो योजना अप्रिलदेखि जुन अन्त्यसम्म लागू हुनेछ । यसमा स्पेनमै बसोबास गरिरहेका आवेदकका सन्तानहरू पनि समेटिनेछन् ।
सामाजिक सुरक्षा, आप्रवासन तथा समावेशीकरण मन्त्रालयका अनुसार ३१ डिसेम्बर २०२५ भन्दा अगाडि स्पेन प्रवेश गरी बसोबास गरिरहेकाले आवेदन दिन पाउनेछन् । आवेदनको समयमा कम्तीमा ५ महिना लगातार स्पेनमा बसेको प्रमाण दिन सक्ने, आपराधिक पृष्ठभूमि नभएका, सार्वजनिक सुरक्षाका लागि खतरा नमानिने र ३१ डिसेम्बर २०२५ अघि शरणार्थी आवेदन दिएकालाई अभिलेखीकरण गर्न पाइनेछ ।