सोचेजस्तो सहज छैन कोरिया

28 December, 2019

४८ जनाले गरे आत्महत्या, ४७ ले दुर्घटनामा ज्यान गुमाए

गोकुल थोकर

दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आएका पाल्पाका कुशबहादुर थापाले दुई साताअघि आत्महत्या गरे । दिनभर कम्पनीमा काम गरेका उनी बेलुकी ओभरटाइम नगरी सबैभन्दा पहिले कोठा फर्किएका थिए । उनीसँगै काम गर्ने नेपालीहरू आफ्नो काम सकेर फर्कंदा उनी कोठामा भेटिएनन् । राति अबेरसम्म कोठामा नआएपछि सोधीखोजी गर्दा उनी शौचालयनजिकै मृत अवस्थामा भेटिए ।

कोरियन भाषामा दख्खल राख्ने थापा आफ्नो काममा निकै दक्ष थिए । त्यसैले उनले कम्पनीमा नेपाली कामदारको टिम लिडरको जिम्मेवारी पाएका थिए । पहिलो कार्यावधि सकेर उनी क्षमताकै कारण दोस्रोपटक कोरिया आएका थिए । ‘अर्काको देशमा काम खोज्दै आएपछि मिलेर काम गर्नुपर्छ’ भनेर उनी अरूलाई सम्झाइरहेका हुन्थे ।घटनाको अवस्था हेर्दा उनले आत्महत्या गरेको भन्नै गाह्रो थियो । तरकारी काट्ने चक्कुले घाँटीमा प्रहार गरेको चोट थियो । ‘घटना शंकास्पद देखिएकाले कम्पनीका सबै नेपालीलाई प्रहरीले लिएर गएका रहेछन् । धन्न, सीसीटीभी फुटेज हेर्दा आत्महत्या भन्ने पुष्टि भयो,’ पोछन क्षेत्रमा भाषा अनुवादक काम गर्दै आएका मुक्त गुरुङले भने, ‘कम्पनीमा सबै स्थिति राम्रै देखियो, तलब र सुविधा पनि नियमित रहेछ । उनले किन आत्महत्या गरे, बुझ्नै सकिएन ।’

सुर्खेतको पञ्चपुरीका २३ वर्षीय थीरबहादुर दर्लामी पनि थापा जसरी नै अनेकौं सपना बोकेर दक्षिण कोरिया आएका थिए । तर उनले आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परेर ज्यान गुमाए । थेजन सहरमा रहेको पानीजहाजको डाई बन्ने कम्पनीमा उनले जम्मा ११ दिनमात्रै काम गरे । गत अक्टोबर ११ का दिन दुर्घटनामा परेका उनको उपचारको दोस्रो दिन मृत्यु भयो । ‘कम्पनीमा सहकर्मीको असावधानीका कारण दुर्घटना भएको देखिन्छ । भुइँमा बसेर काम गरिरहेका दर्लामी फोरक्लिप (सामान उचाल्ने गाडी) ले तयार भएको डाई निकाल्दा अर्को डाइमा ठोक्किएर च्यापिएका थिए,’ सुर्खेत समाजका अध्यक्ष लोकेश खत्रीले भने, ‘कम्पनी र फोरक्लिप चलाउनेको गल्ती हुँदाहुँदै पनि यसमा कुनै कारबाही भएन ।’ नेपाली राजदूतावासले पनि घटनालाई गम्भीरतापूर्वक नलिएको उनको गुनासो छ । भाषा र सीप परीक्षा उत्तीर्ण गरेपछि सजिलो काम र राम्रो दाम पाइने भन्दै वैदेशिक रोजगारीमा कोरिया आकर्षक मानिन्छ तर यहाँ कामदारका अनेक दु:ख छन् । दैनिक कार्य अवधि १२ घण्टाभन्दा बढी नै हुन्छ । भाषा समस्या उस्तै छ । सन् २००७ मा सुरु भएको ईपीएस खुलेसँगै कोरिया आएर काम गर्ने नेपालीको संख्या बढेको हो । यस अवधिमा ६२ हजार २ सय २७ जना नेपाली कोरिया आएका छन् । हाल यहाँ कार्यरत नेपालीको संख्या ३५ हजार ५ सय ८१ छ । यिनमा महिलाको संख्या २ हजार १ सय ७६ छ ।

संख्या बढेसँगै विभिन्न कारणले ज्यान गुमाउने नेपाली पनि बढेका छन् । ईपीएस सुरु भएपछि अहिलेसम्म १ सय ८१ जना नेपालीले ज्यान गुमाएको रेकर्ड नेपाली दूतावासमा छ । भिन्न रोग र सुतेकै अवस्थामा ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ । औद्योगिक र सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ भने आत्महत्या गर्ने ४८ जना पुगेका छन् । दुई जनाको हत्या भएको दूतावासको तथ्यांकमा छ ।

‘हामीसँग भएको तथ्यांकअनुसार औद्योगिक दुर्घटनाभन्दा बढी आत्महत्याका कारण नेपाली कामदारले ज्यान गुमाइरहेका छन्,’ दक्षिण कोरियास्थित नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोला भन्छन् ।

दक्षिण कोरियाले १६ वटा देशबाट ईपीएस पद्धतिमा कामदार ल्याउने गरेको छ तर आत्महत्या गर्नेमा सर्वाधिक संख्या नेपालीको छ । ‘अरू देशका कामदारभन्दा नेपालीले अलिक बढी आशा राख्ने भएर यस्तो नतिजा आएको हुन सक्छ,’ श्रम सहचारी बाँस्तोला भन्छन् । विशेषगरी परिश्रम गर्ने अभ्यासभन्दा पनि केही पढेको र भाषा सिकेका भरमा नेपाली कामदार कोरिया आउने भएकाले समस्या देखिएको उनले बताए । ‘विदेशमा कमाइ गर्न निस्किएपछि घरपरिवारबाट सधैं पैसा पैसा मात्रै भन्ने गरेबाट पनि डिप्रेसनको स्थिति बढेको हुन सक्छ,’ उनले भने । नेपाली कामदारमाझ आइपर्ने अनेक खालका समस्या सुल्झाउन दूतावासमा एकजना मात्रै श्रम सहचारी छन् । कोरियामा ईपीएस पद्धतिबाट आउने बंगलादेशी कामदारको संख्या १३ हजार छ । तिनको मामिला हेर्न बंगलादेश सरकारले छुट्टै ईपीएस शाखा राखेर कर्मचारी खटाएको छ ।

दक्षिण कोरिया आएका नेपाली कामदार धेरैजसो कृषि र उत्पादनमूलक क्षेत्रमा काम गर्छन् । कोरियाली श्रम मन्त्रालयको रिपोर्टअनुसार सन् २०१३ देखि २०१८ सम्मको औद्योगिक दुर्घटना अघिल्लो पाँच वर्षको तुलनामा ६० प्रतिशतले बढेको देखिन्छ । गत वर्ष मात्रै १ सय ३६ विदेशी श्रमिकको औद्योगिक दुर्घटनामा मृत्यु भएको थियो भने १० जना नेपालीले ज्यान गुमाएका थिए । विगत ५ वर्षमा औद्योगिक दुर्घटनामा परी मृत्यु हुने विदेशीको संख्या ६ सय ५ छ ।

८६.४५ प्रतिशत दुर्घटना उत्पादन र निर्माण क्षेत्रसँग सम्बन्धित छ । कृषि, साना कम्पनी र बिमा दर्ता नभएकाको संख्यासमेत जोड्ने हो भने दुर्घटना तथ्यांक अझै धेरै हुन सक्ने प्रवासी मजदुर युनियन एमटीयूका महासचिव मधुसूदन ओझाको भनाइ छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026