सीमा नाकाबाट ६ चेलीको उद्धार

19 March, 2018

राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा यहाँको यशोधरा गाउँपालिकास्थित मर्जादपुर सीमा नाकाबाट आइतबार ६ युवतीको उद्धार गरिएको छ। 

 

विदेशमा राम्रो जागिर खाने प्रलोभनमा परेर अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका ती युवतीलाई प्रहरीले उद्धार गरेको हो। सुराकीका आधारमा सीमा नाकाबाट कपिलवस्तुकै दुई र अन्य विभिन्न जिल्लाका चार गरी छ जना युवतीको उद्धार गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल मर्जादपुर कपिलवस्तुले जनाएको छ। ती युवतीलाई कपिलवस्तु सदरमुकाम तौलिहवा हुँदै नेपाली सीमा नाका कटाउन लागेको थाहा पाएपछि आइतबार सीमा निगरानीमा खटिएको सशस्त्र प्रहरी बलले युवतीसँगै एक जना बिचौलियालाई पनि नियन्त्रणमा लिएको छ। 

 

सशस्त्र प्रहरी निरीक्षक अमृत दुलालले भने, ‘शंका लागेर सोधपुछका लागि उनीहरूलाई सम्पर्कमा ल्यायौँ । सोधपुछका क्रममा बिचौलियाले राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर सीमा कटाउन लागेको रहेछ।’ बिचौलिया गणेश खत्रीलाई प्रहरी चौकी मर्जादपुरमा बुझाइएको छ। यहाँको मर्यादपुर–खुनुवा सीमा नाकामा महिलासम्बन्धी काम गर्ने कुनै पनि संघसंस्था नहुँदा चेलीबेटी ओसारपसारले प्रश्रय पाइरहेको स्थानीयवासीको भनाइ छ। रासस

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024