सीमा क्षेत्रका सहरी गरिबको मुख्य समस्या बेरोजगारी र असुरक्षित बसोबास : विकासका नाममा जनतालाई सधैँ आश्वासन मात्रै

23 February, 2026

Ganesh Lamsal

मोरङको विराटनगर महानगरपालिका– १७ धुनियाँ बस्तीका ६९ वर्षीय अलाउद्दिन मियाँ यसपालि पनि भोट हाल्न सपरिवार तयार भएर बसेका छन् । सानो किराना पसल चलाएर गुजारा गर्दै आएका उनले विकासको नाममा आश्वासनबाहेक केही पाएका छैनन् । भारतको जोगबनीसँग सिमाना जोडिएको उनको बस्तीमा बेरोजगारीको विकराल समस्या छ । दिगो रोजगार नहुँदा बस्तीका प्रायः सबै अवैध ओसारपसार गर्न बाध्य छन् । तैपनि नेताले जितेपछि रोजगारको अवस्था सिर्जना गर्ने आसमा उनी सधैँ भोट हाल्छन् ।

विराटनगरको १६, १७ र १८ नम्बरमा पर्छन् धुनियाँ, मटेर्वा, डगरा र दरैया अनि बर्मेली बस्तीहरू । मिल्स एरिया नामले चर्चित यो क्षेत्रका हजारौँ बासिन्दा भएका उद्योग बन्द भएपछि प्रायः सबै बेरोजगार छन् । यसैले धेरैजना अनौपचारिक क्षेत्रमा काम गर्छन् भने प्रायःले अवैध ओसारपसार गरेर जीविका चलाउँछन् । पहिले मिलै–मिल (उद्योगै–उद्योग) हुँदा मजदुर बनेर रोजगार गर्ने उनीहरू आजकल भएका मिलहरू बन्द भएपछि बरोजगार बनेका छन् । समयसँगै बढ्दो जनसंख्याले उनीहरूलाई बेरोजगारीले पिरोलेको छ । ज्येष्ठ नागरिक अलाउद्दिन भन्छन्, ‘हाम्रोमा दिगो रोजगार छैन, भएका उद्योग सबै बन्द भए, यसैले जितेर गएका नेताहरूले उद्योगहरू सञ्चालनमा ल्याएर रोजगारी दिलाइदिन्छन् भन्ने मात्र हाम्रो आशा छ ।’

भारतको बिहार राज्यको अररिया जिल्लासँग सिमाना जोडिएको मोरङ ५ को सहरी क्षेत्रमा बस्ने गरिबहरू चुनावको वातावरण तयार भइसकेको र आफूहरू भोट हाल्न आतुर रहेको बताए पनि नेताहरूले आश्वासन पूरा गर्छन् भन्ने विश्वास भने गर्दैनन् । मिलहरू बन्दकै कारण बेरोजगार भएका ६० वर्षीय मोहम्मद अस्तर आलम बुढ्यौलीमा ठेला चलाएर गुजारा चलाउँछन् । सिटी रिक्सा र टेम्पोले गर्दा ठेलामा काम पाउन मुस्किल परेकाले उनलाई परिवार पाल्न धौ–धौ छ । दिगो रोजगार नहुँदा उनका छोराहरू पनि मजदुरी गर्छन् ।

संघ, प्रदेश र पालिकामा पटक–पटक भोट हालेका उनलाई यसपालि पनि भोट हाल्न मन छ । तर, मिलमा काम गर्दागर्दै बेरोजगार बनेका उनको फेरि उद्योग चल्लान् र छोराछोरीले देशमै दिगो रोजगार पाउलान् भन्ने आस अझै मरेको छैन । जुटमिलमै काम गर्दागर्दै बेरोजगार भएका मटेर्वाका मोहम्मद अख्तर पनि उद्योग बन्द भएपछि सीमा क्षेत्रका बासिन्दा सबै आफूजस्तै बेरोजगार बनेको र धेरैले भारतीय बजारबाट अवैध ओसारपसार गरेर जीविका चलाउन बाध्य हुनुपरेको सुनाउँछन् । उनका अनुसार यहाँ बालबालिकादेखि महिलासमेत भाडामा अवैध ओसारपसार गर्न बाध्य छन् । खुला सिमाना भएकाले तस्करहरूले भनेको सामान उनीहरू टाउको र साइकलमा राखेर सिमाना कटाउँछन् र तोकेको गोदाममा पुर्‍याइदिन्छन् ।

भारतको दशगजासँगै जोडिएको छ विराटनगरकै इस्लामपुर बस्ती । यहाँका मतदाताको समस्या पनि बेरोजगारी नै हो । यसबाहेक प्रायः सबै ऐलानी जमिनमा स–साना घर बनाएर बसेकाले सुरक्षित आवास, सरसफाइको पनि समस्या छ यहाँ । बस्तीहरूमा खानेपानीको धारा र सार्वजनिक शौचालयसमेत छैन । २६ वर्षीय समसाद आलम चुनाव जितेर गएका नेताहरूले दिगो रोजगारीसँगै सुरक्षित आवास र पूर्ण सरसफाइ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिन्छन् । उनका अनुसार बोर्डरका बस्तीमा बस्ने युवाहरू रोजगार नहुँदा धेरै तस्करीमा लाग्न बाध्य हुने गरेको र अपराधमा फस्न बाध्य भइरहेको बताउँछन् । समसाद भन्छन्, ‘बालबालिका पनि गरिबीले गर्दा आधारभूत तहबाटै विद्यालय छाडेर क्यारिङ गर्न बाध्य छन्, धेरैको सुरक्षित आफ्नो बस्ने घर पनि छैन, यसैले नेताहरूले सीमा क्षेत्रका हामी गरिबको समस्या पनि सुनिदिनुपर्छ ।’

धुनियाँ बस्तीकी जेन–जी मतदाता रुविना खातुन अन्यझैँ आफ्नो बस्तीमा पनि चुनावको चहलपहल बढेको, उम्मेदवारहरू यो गर्छौँ, त्यो गर्छाैँ भन्दै भोट माग्न आउन थालेको र आफू पनि पहिलोपटक भोट हाल्न उत्साहित रहेको बताउँछिन् । ब्याचलरसम्म अध्ययन गरेकी उनी पनि बन्द भएका उद्योग सञ्चालनमा ल्याएर सुरक्षित आवासको व्यवस्था गर्न सके सीमा क्षेत्रका बस्तीहरू सुरक्षित र व्यवस्थित हुने बताउँछिन् । ‘भोट खसाल्न आतुर छौँ, तर के गर्नु हामीलाई बोर्डरमा बस्ने भनेर सबैले हेप्ने गर्छन्, हाम्रो अवस्था कहिल्यै सुधार्न चासो नै दिँदैनन्,’ रुविना भन्छिन् ।

मोरङको सीमावर्ती क्षेत्रका बासिन्दा अन्यत्रझैँ चुनाव होला कि नहोला भन्ने द्विविधामा छैनन् । बोर्डरमा बसे पनि उनीहरूले चुनावमा कहिल्यै असुरक्षा महसुस गरेका छैनन् । निर्वाचनका वेला ७२ घण्टाअगाडि नै नेपाल–भारत दुवैतर्फ नाका पूर्ण रूपमा बन्द हुने भएकाले आजसम्म कुनै अपराधका घटना भएका छैनन् । बरु अन्यत्रभन्दा शान्तिपूर्वक मतदान भएका छन् । तर, अरू वेला भारतीय पक्षले सिमाना मिचिदिने, बस्तीमा बसेर धरपक्कड र कुटपिट गर्ने, बर्सातमा पानीको निकास रोकेर बस्ती डुबानमा पारिदिने अनि दशगजामा फोहोर फालेर दुर्गन्ध बढाएर दुःख दिने गरेको छ ।

जसबारे स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासन पनि निरीह बन्ने गरेका छन् । यसैले सीमा क्षेत्रका सहरी गरिब बासिन्दा चुनाव जितेर गएका नेताहरूले बोर्डरमा बस्ने बासिन्दालाई हेर्ने शंकालु नजर बदलेर सुरक्षित सीमा क्षेत्र नीति कार्यान्वयन गराउनुपर्नेमा जोड दिन्छन् । मटेर्वाका युवा सरफराज मियाँ भन्छन्, ‘बोर्डरमा बस्ने सबै भारतीय र अपराधमा संलग्न हुन्छन् भन्ने गलत सोच हटाउन नेताहरूले दिगो रोजगार र सुरक्षित बसोबासको व्यवस्था मिलाउनुपर्छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024