सीमामा किन पक्राउ पर्दैनन् रोहिंज्या ?

12 October, 2018

गृह मन्त्रालयले रोहिंज्या नेपाल प्रवेश नगरेको दाबी गरे पनि कपनस्थित अस्थायी शिविरमा उनीहरूको संख्या बढ्दो छ। पछिल्लो दुई सातामा १० जना रोहिंज्या यहाँ आएका छन्। सन् २०१२ मा आएका केही रोहिंज्याले बंगलादेशबाट मानव तस्करी गरी ल्याउने गरेका छन्।

सीमामा तैनाथ सुरक्षा निकायको गम्भीर हेलचेक्र्याइँ र लापरवाहीले रोहिंज्याले सहजै प्रवेश पाएका हुन्। उनीहरू सीमास्थित अध्यागमन नाका छलेर भित्रिने गरेका छन्। कपनमा रहेका सबै जना त्यसैगरी आएका हुन्।

शिविरमा बसिरहेका जाफर आलमले पछिल्लो पटक १० जना शिविरमा थपिएको बताए। उनले भने, ‘भर्खर आएकाहरू निर्माणसम्बन्धी काममा मजदुरी गर्न थालिसकेका छन्।’ पछिल्लो पटक भित्रिएका रोहिंज्यालाई मानव तस्करीको शैलीमा ल्याएको स्रोतले जानकारी दिएको छ। सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बललाइ रोहिंज्याको अवैध प्रवेशबारे कुनै जानकारी छैन।

शिविरका रोहिंज्याले हकहितका लागि समिति नै गठन गरेका छन्। गृह मन्त्रालयले रोहिंज्याहरूको मानव तस्करी भइरहेको भन्दै गत पुस १६ मा त्यस्ता गतिविधि नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको थियो। तर मानव तस्करीबाट उनीहरू भित्र्याउन अझै रोकिएको छैन। स्रोतका अनुसार कपन शिविरमा बसेका जुबेर आलमले यहाँ ल्याइने रोहिंज्याहरूसँग रकम असुल्ने गरेका छन्। उनी स्थलमार्गबाट भारत हुँदै बंगलादेश जाने र रोहिंज्या यहाँ ल्याउनमा संलग्न रहेको प्रहरी स्रोतले बताएको छ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले पछिल्लो पटक रोहिंज्या यहाँ आएकोबारे थाहा नभएको बताए। ‘रोहिंज्याहरू प्रवेश गरेको हामीलाई कुनै निकायबाट पनि रिपोर्टिङ भएको छैन’, उनले भने, ‘कपन शिविरमा भएका रोहिंज्या अघिल्ला सरकारका पालामा आएका हुन्। यो सरकारका पालामा रोहिंज्या नेपाल प्रवेश गरेका छैनन्। सबै सुरक्षा निकायलाई सजग गराएका छौं।’

नेपाली प्रष्ट बोल्न सिकिसकेका रोहिंज्या नाइकेहरूले अरुलाई बंगलादेशबाट भारत हुँदै काठमाडौं ल्याउने गरेका छन्।

नेपाली प्रष्ट बोल्न सिकिसकेका रोहिंज्याका नाइकेहरूले अरुलाई बंगलादेशबाट भारत हुँदै काठमाडौं ल्याउने गरेका छन्। पछिल्लो पटक आएकाहरू पनि बंगलादेशबाटै आएका हुन्। नेपाल–भारत सीमामा नेपालतर्फ सुरक्षा व्यवस्था फितलो हुनु र त्यहाँ तैनाथ सुरक्षाकर्मीसमेत आर्थिक प्रलोभनमा पर्ने गरेकाले रोहिंज्याको अवैध प्रवेश सहज बन्दै गएको छ।

नेपालस्थित संयुक्त राष्ट्र संघीय कार्यालयले शिविर नछाड्न निर्देश दिए पनि अधिकांश रोहिंज्या काम गर्न बाहिर निस्कने गरेका छन्। उनीहरू मजदुरी गर्न काठमाडौं उपत्यका बाहिरका जिल्ला समेत जाने गरेका छन्।

गृहले रोहिंज्याको तस्करी रोक्न र निगरानी गर्न सुरक्षा निकायमा पत्राचार गरे पनि रोकिएको छैन। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै उनीहरू नेपाल पसेका हुन्। शिविरमा उनीहरूको संख्या झण्डै ३ सय ६० नाघिसकेको स्रोतले जानकारी दिएको छ। कपनस्थित पछिल्लो पटक आउने सबै ३५ वर्षभन्दा मुनिका छन्।

म्यान्माको रखाइन प्रान्तबाट विस्थापित भएर उनीहरू बंगलादेश जाने गरेका छन्। त्यसपछि भारत हुँदै नेपाल आउँछन्। ३ सय ६० जनामध्ये नेपालस्थित शरणार्थीसम्बन्धी राष्ट्र संघीय उच्चायोग (यूएनएचसीआर) ले २ सय ५० जना रोहिंग्या शरणार्थीको प्रमाणीकरण गरेको छ। बाँकीलाई पनि प्रमाणीकरण गर्ने प्रक्रियामा रहेको गृहस्रोतले जनाएको छ। सरकार उनीहरूलाई शरणार्थी मान्दैन। अवैध आप्रवासी मान्छ।

उनीहरूको बढ्दो संख्या र गतिविधिले आन्तरिक सुरक्षामा कति असर पर्न सक्छ गृहले कुनै अध्ययन गरेको छैन। राजधानीमा अवैध आप्रवासीले अड्डा जमाएर बस्नु र बस्न अनुमति दिनुले समेत गृह मन्त्रालयकै भूमिकामाथि प्रश्न उठेको छ।

यूएनएचसीआरले रोहिंग्याका छोराछोरीको शिक्षा र स्वास्थ्यमा केही रकम खर्चिंदै आएको छ। केही साताअघि भारतको कोलकाता हुँदै नेपाल पस्न खोजेका रोहिंज्याको राहदानीमा नेपालको नक्कली भिसा पाएपछि भारतीय सुरक्षाकर्मीले उनीहरूलाई फिर्ता (इन्ट्री रिफ्युज) गरेका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024