सीपमूलक तालिम दिने फेसन चलेको छ, श्रमबजार अर्कैले कब्जा गरेको छ : मन्त्री भण्डारी

30 June, 2025

१६ असार, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको श्रम बजार अर्कैले कब्जा गरेको बताएका छन् । युवा विदेश पलायन हुनेको एउटा कारण यो पनि रहेको उनले बताए ।

राष्ट्रिय युवा परिषदले काठमाडौंमा आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’लाई आज बिहान सम्बोधन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् ।

गार्मेन्ट, सुनचाँदी लगायतका व्यवसाय र उद्योगहरुमा आवरणमा केही नेपालीहरु रहे पनि अरु देशका नागरिकले कब्जा गरेको मन्त्री भण्डारीले बताए ।

‘फ्रन्टमा केही नेपालीहरु छन् । तर गार्मेन्टभित्र जानु भयो भने सबै अरुले बाहुल्यता लिइसक्या छ । सुनचाँदी व्यवसायमा बंगाली मुलका झण्डै तीन लाख मान्छेहरुले रोजगारी पाइरहेका छन्,’ मन्त्री भण्डारीले भने, ‘अरुअरु उद्योगहरुमा पनि, अरु–अरु व्यवसायहरुमा पनि नेपालको श्रम बजार चाहेर नचाहेर पनि अरुले कब्जा गर्ने अनि नेपालले खाडीतिर ताक्नुपर्ने ?’

यो स्थितिलाई अन्त्य गर्न सरकारले खोजिरहेको र त्यसका लागि केही नीति परिवर्तन गर्नुपरे उनले बताए ।

अहिले सिपमुलक तालिम दिने फेसनजस्तो चलेको टिप्पणी पनि उनले गरे । काठमाडौं महानगरपालिकाले पनि हालै सिप मेला आयोजना गरेको प्रसंग जोड्दै मन्त्री भण्डारीले प्रश्न गरे, ‘सिप प्राप्त भइसकेपछि सर्टिफिकेटको मान्यता कसले दिन्छ ?’

उनले थपे, ‘सिप विकासको तालिम दिइराख्या छौं, श्रम बजार अर्कैले लगिरहेको छ । सर्टिफिकेसनको मान्यता छैन ।’

सिटिइभिटीले दिने सर्टिफिकेट अन्तर्राष्ट्रिस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्नेमा उनले जोड दिए ।

दश्र जनशक्ति अभाव अन्त्यका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने मन्त्री भण्डारीले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024