सीपभन्दा कर्जा माग्ने अधिक

21 January, 2019

सविता शर्मा

वैदेशिक रोजगारीका क्रममा युवाले सिकेको सीपलाई परीक्षण गर्न मागिएको आवेदनमा फर्म भर्नेको सङ्ख्या निकै न्यून रहेको छ । यो वर्ष एक हजार युवाको सीप परीक्षण गर्ने लक्ष्य राखिएको भए पनि लक्ष्यको आधाभन्दा पनि कम सङ्ख्यामा मात्र आवेदन परेको छ ।

सीप परीक्षणमा आवेदन कम परे पनि विदेशबाट फर्केका युवा परियोजना कर्जाका लागि आवेदन दिनेको सङ्ख्या भने १८ हजारभन्दा बढी रहेको छ ।

सरकारले वैदेशिक रोजगारीको क्रममा विभिन्न सीप आर्जन गरी स्वदेश फर्केका युवाको सीप परीक्षणको व्यवस्था मिलाएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको स्वीकृत कार्यक्रमका रूपमा पहिलोपटक शुरु भएको यो कार्यक्रममार्फत वैदेशिक रोजगारीमा सिकेको सीप परीक्षणमा उत्तीर्ण हुनेलाई सम्बन्धित सीपको प्रमाणपत्र दिने लागिएको छ ।

विभिन्न २० प्रकारका बिल्डिङ पेन्टर, फर्निचर मेकर, जुनियर प्लम्बर, स्काप फोल्डर, सटरिङ कार्पेन्ट्री, स्टोन लेएर मेसन (डकर्मी), बिल्डिङ इलेक्ट्रिसिएन, इन्डस्ट्रिएल इलेक्ट्रिसिएन, असिष्टेन्ट ब्यूटिसिएन, असिष्टेन्ट वेटर, केएर गिभर, हाउस किपिङ क्लिनर, आर्क वेल्डर, आल्मुनिएम फेब्रिकेटर, रेफ्रिजेरेसन एण्ड एअरकन्डिसन जुनिएर मेकानिक्स, सेक्युरिटी गार्ड, टेलरिङ, एक्साभेटर अपरेटर, स्ट्रक्चरल फेब्रिकेटरसम्बन्धीको सीप परीक्षण गर्न लागिएको हो । सातै प्रदेश र सबै जिल्लालाई पायक पर्ने गरी १९ ठाउँमा सीप परीक्षणको व्यवस्था मिलाइएको छध्र

रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले सरकारले सीमित सीपको मात्र परीक्षण व्यवस्था मिलाएको हुँदा लक्ष्यको अनुपातमा आवेदन कम परेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीको क्रममा नेपाली युवाले धेरै प्रकारका काम गरेको उल्लेख गर्दै उनीहरूको मागका आधारमा सीप परीक्षणको व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कार्यक्रम राम्रो हुँदाहुँदै पनि सरोकारवालाको संलग्नताबिना कार्यक्रमहरू बनाइँदा केही प्राविधिक समस्या भएको बताउनुभयो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले यो वर्ष नमुना कार्यक्रमका रूपमा शुरु गरिएको हुँदा केही कम आवेदन परेको भए पनि कार्यक्रमको सङ्केत राम्रो भएको दाबी गर्नुभयो । उहाँले सरोकारवाला सबै संस्थाहरूलाई पत्राचार गरिएको उल्लेख गर्दै स्थानीय तहसम्म सूचना पु¥याउन प्रदेश नं. १ र २ मा स्थानीय भाषामै सूचना प्रकाशन र प्रसारण गरिएको समेत जानकारी दिनुभयो ।

नेपाली कामदारले वैदेशिक रोजगारीका क्रममा बढी गर्ने कामलाई आधार मानी सम्बन्धित सीप परीक्षणको व्यवस्था मिलाइएको उल्लेख गर्दै उहाँले भन्नुभयो “यस वर्षको सिकाइका आधारमा आगामी वर्षमा केही सुधार गर्नुपर्छध्र”

वैदेशिक रोजगारीमा गएर नेपाली युवाले सिकेको सीप प्रमाणीकरण र सीपसँग सम्बन्धित तथ्याङ्क पनि तयार हुने विश्वासका साथ कार्यक्रम ल्याइएको हो । अदक्षरूपमा विदेश गई काम गर्ने क्रममा सीप सिकेर फर्केकाहरूको सीपलाई प्रमाणीकरण गर्दै उनीहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ कार्यक्रम शुरु गरिएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका उपसचिव ऋषिराम भुसालले लक्ष्य र अनुमानभन्दा धेरै कमको आवेदन परेको स्वीकार गर्नुभयो । वैदेशिक रोजगारीका क्रममा लामो समय एउटै काम गरे पनि उक्त सीप र क्षमताको कुनै प्रमाण नभएको हुँदा सम्बन्धित क्षेत्रमा काम गर्न सहज वातावरण बनाउन खोजिएको उहाँको भनाइ छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सञ्चालन गर्ने उक्त कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समितिले सीप परीक्षण तथा प्रमाणीकरण गर्नेछ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024