सामाजिक सुरक्षा कोषबाट साढे ७ लाख श्रमिकलाई १५ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी

24 July, 2025

काठमाडौँ — योगदानमा आधारित सामाजिक सुरक्षा ७ लाख ५६ हजार जना श्रमिकलाई सामिाजक सुरक्षा बापत १५ अर्ब ७५ करोड रुपैयाँ दिइएको छ ।

पाँच वर्षअघि सुरु भएको कोषले श्रमिकलाई औषधोपचार, मातृत्व सेवा, दुर्घटना, अशक्तता, वृद्ध अवस्था सुरक्षा र आश्रित परिवार सहायता योजनाबाट श्रमिक र तिनका आश्रित परिवारलाई कोषले राहत स्वरुप १५ अर्ब ७५ करोड रुपैयाँ दाबी भुक्तानी दिइएको हो । कोषमा श्रमिक र रोजगारदाताबाट हालसम्म ८३ अर्ब ६५ करोड रुपैयाँ जम्मा भएको छ ।

‘यो पहिला औपचारिक क्षेत्रका संस्थागत श्रमिकमा मात्रै सीमित थियो । अहिले नेपालभरका श्रमिकका लागि सामाजिक सुरक्षा सुनिश्चित गर्ने केन्द्रबिन्दु बन्दै गएको छ,’ कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले भने, ‘कोषले औपचारिक क्षेत्रका श्रमिकहरुको लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको संशोधन स्वीकृत भई योगदानकर्ताको परिवारमा स्वास्थ्य सेवा विस्तार गरी श्रावणदेखि नै कार्यान्वयनमा आईसकेको छ ।’

उनले औषधी उपचारको १ लाखको सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने भएमा १० लाख रुपैयाँसम्म पुर्‍याएको बताए । ‘१० लाख रुपैयाँसम्मसम्मको उपचार खर्च ५० प्रतिशत सहभुक्तानी सुविधा समेत कोषले उपलब्ध गराउने गरी सुविधा विस्तार भइसकेको छ,’ उनले भने, ‘अबको करिब चार वर्ष कोषमा आवद्ध हुने श्रमिक र श्रमिकको परिवारको स्वास्थ्य जिम्मा कोष मार्फत राज्य हुने गरी काम भइरहेको छ ।’

कोषमा सूचीकृत रोजगारदाता संख्या २० हजार ९५१ पुगेको छ । योगदानकर्ता श्रमिक संख्या २३ लाख ७४ हजार ४८६ पुगेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै ९ लाखले वृद्धि भएको कोषले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा मात्र २५ अर्ब ३६ करोड रुपैयाँ संकलन भई कूल संकलन रकम ८३ अर्ब ६५ करोड पुगेको कोषले जनाएको छ । कोषले संगठीत, असंगठित, स्वरोजगार र वैदेशिक रोजगार जाने श्रमिकलाई कोषमा सूचीकृत गर्दै आइरहेको छ ।

कोषका अनुसार नियमित योगदान गरेका योगदानकर्तामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत १ लाख १० हजार ६९६ योगदानकर्तालाई २ अर्ब १५ करोड रुपैयाँ भुक्तानी दिइएको छ। दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ५ हजार ९ सय ३३ योगदानकर्तालाई २० करोड, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ७ सय ४५ जनालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत १ लाख १२ हजार ८ सय ६८ योगदानकर्तालाई १३ अर्व १३ करोड भुक्तानी भएको कार्यकारी निर्देशक अधिकारीले बताए । गत आवमा मात्रै थप ३ लाख ६२ हजार जनालाई ५ अर्ब ८७ करोड रकम दिइएको थियो ।

योगदानकर्ता सापटी अन्तर्गत विशेष सापटी ३४ हजार २० योगदानकर्तालाई ६ अर्ब ९० करोड, घर सापटी ६७ योगदानकर्तालाई १३ करोड र शैक्षिक सापटी १० योगदानकर्तालाई १ करोड गरी कूल ३४ हजार ९७ योगदानकर्तालाई ७ अर्ब ४ करोड भुक्तानी भएको छ ।

कोषले १०७ स्वास्थ्य संस्थासँग ‘डेडिकेटेड लाइन’ मार्फत सेवा दिइरहेको छ। वैदेशिक रोजगारी र स्वरोजगार श्रमिकहरूको योगदान रकम संकलन गर्न १२ वित्तीय संस्थासाग सहकार्य सम्झौता भइसकेको छ । ‘काम गर्ने उमेर सम्म काम गर्ने र कमाइको केही हिस्सा मासिक रुपमा कट्टि गरी राज्यको संयन्त्र सामाजिक सुरक्षा कोषमा जम्मा गरेपछि मलाई र मेरो परिवारलाई केहि भयो भने राज्य गर्छ भन्ने मनोविज्ञान विकास भइरहेको छ’, कार्यकारी निर्देशक अधिकारीले भने,‘अर्कोतिर कोष आन्तरिक पुँजी परिचालनको महत्त्वपूर्ण माध्यम हुने गरी राज्यको पूर्वाधार निर्माणमा कोषको रकम उपयोग हुन सक्ने गरी नीतिगत आधारहरु तयार गरिरहेको छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024