सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना

22 May, 2024

काठमाडौँ, जेठ ९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गर्ने भएको छ ।

आवश्यक सिपसहितको जनशक्ति खोजिरहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई एक ठाउँमा मिलन गराउने गरी यही १७ गतेदेखि ३० गतेसम्म प्रदेशस्तरीय श्रमाधान रोजगार मेलाको आयोजना गर्न लागेको जनाएको छ । पत्रकार सम्मेलनमा प्रत्येक प्रदेशमा दुई दिनसम्म चल्ने उक्त मेलामा सम्बन्धित प्रदेशमा रहेका रोजगारदाता प्रतिष्ठान, उद्योग, कम्पनी र रोजगारीको खोजीमा रहेको सहभागिता रहने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले प्रत्येक प्रदेशमा दुई दिनका दरले १४ दिनसम्म सञ्चालन हुने श्रमाधान रोजगार मेलाको उद्देश्य उचित दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिबिचको पुलको काम गर्ने रहेको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले मेलामा श्रमाधान अवधारणाको सातै प्रदेशमा जानकारी गराउने, सिप सिकाइलाई प्रवर्धन गर्ने, उद्यमशीलता प्रोत्साहन गरिने जानकारी दिनुभयो ।

श्रमाधान रोजगार मेला कोशी प्रदेशको विराटनगरमा यही १७ देखि १८ गतेसम्म मधेश प्रदेशको वीरगन्जमा १९ देखि २० गतेसम्म गण्डकी प्रदेशको पोखरामा २१ देखि २२ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा २३ देखि २४ गतेसम्म, कर्णाली प्रदेशको सुर्खेतमा २५ देखि २६ गतेसम्म, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ देखि २८ गतेसम्म र बागमती प्रदेशको ललितपुरमा २९ देखि ३० गतेसम्म मेला सञ्चालन गरिने सोही पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024