साउदी रोजगारदाताको बदमासी : कम्पनीमा बसेका श्रमिकलाई सप्लाई कम्पनीको आवासमा बस्न भन्दै अलपत्र पार्दै

21 Apr, 2020

अरिष्मा मोक्तान

साउदी अरब रोजगारदाताले कम्पनीमा बसिरहेका नेपाली कामदारहरूलाई सप्लाई कम्पनीको आवासमा बस्न आग्रह गर्दै अलपत्र पारेकाे घटना सार्वजनिक हुन थालेका छन् । पछिल्ला केही दिनयता विभिन्न स्थानमा रहेका नेपाली कामदारहरूलाई आफू बसिरहेको आवास खाली गरी सप्लाई कम्पनीको आवासमा जाऊ भनेकै भरमा आफ्ना आवास छोडेको पाइएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ ।

कम्पनीको आवास छोड्ने र सप्लाई कम्पनीको आवासमा प्रवेश नदिने गरेका कारण बीचैमा अलपत्र पर्ने गरेको राजदूतावासले जनाएको छ । कम्पनीमा बसिरहेको आवासबाहेक अन्यन्त्र कहीँ कतै सजिलै बस्न नपाइने र संक्रमणको जोखिम झनै बढ्ने भएकाले कुनै बहानामा आवासबाहिर निकाल्न खोजिएमा स्वीकार नगर्न र आवास नछोड्न राजदूतावासले आग्रह गरेको छ ।

संकटको अवस्थामा कसैलाई पनि आवासबाट बाहिर निकाल्न नपाइने भएकाले कसैले जबर्जस्ती गरेमा जबर्जस्ती गर्नेको टेलिफोन नम्बर र आफ्नो विवरणसहित नजिकको प्रहरी कार्यालय वा मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयमा सम्पर्क गर्न राजदूतावासले आग्रह गरेकाे छ । साथै, सेवाग्राही नम्बर १९९११ व नेपाली राजदूतावास रियाद वा जेद्दास्थित महावाणिज्यदूतावासमा सम्पर्क गर्न अनुरोध गरिएकाे छ ।

साथै, रोजगारीका क्रममा विविध समस्या राख्दै नेपाली राजदूतावासमा टेलिफोन, ह्वाट्सएप, इमेलबाट सम्पर्क गर्दा आफ्नो नाम, जिल्ला, अकामा नम्बर, कार्यरत कम्पनीको नाम, कफिल वा म्यानेजर (जो समस्याका सम्बन्धमा जानकार छ) को नाम र नम्बर, नेपालको म्यानपावर कम्पनीको नाम र नम्बर, कार्य गरेको अवधि, हालको समस्या र उपलब्ध भएसम्म त्यहाँ कार्यरत भई समस्यामा परेका नेपालीको संख्यालगायतका विषयमा तथ्यपरक विवरणहरू उपलब्ध गराउन राजदूतावासले अनुरोध गरेकाे छ ।  

हालसम्म साउदीमा  १० हजार चार सय ८४ जना कोरोनाबाट संक्रमित भएका छन् भने एक सय तीनजनाको मृत्यु भएको छ । साथै, एक हजार चार सय ९० जना स्वास्थ्यलाभ गरी घर फर्केका छन् । संक्रमण हुनेमध्ये विदेशी नागरिकहरू ७३ प्रतिशत र साउदी नागरिक २७ प्रतिशत रहेका छन् । 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024