साउदी–कतारमा १०–१२ बिताएर फर्किएकाहरू फेरि भिजिट भिसामार्फत कुवेततर्फ

28 July, 2025

काठमाडौँ– भिजिट भिसामा तेस्रो मुलुक (कुवेत) छिर्न लागेका ४७ जना नेपाली महिलालाई भारतको नयाँ दिल्लीबाट नेपाल फर्काइएको छ। बिहीबार भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेका ४७ जना नेपाली महिलालाई भारतीय अध्यागमनले रोकेपछि प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल नेतृत्वको टोलीले नेपाल ल्याएको हो।

उनीहरूको एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) र भिसा नक्कली फेला परेपछि भारतीय अध्यागमनले मानव तस्करीको आशंकामा दिल्लीस्थित नेपाली दूतावासको जिम्मा लगाएको थियो।

नेपाल फर्काइएपछि शुक्रबार उनीहरूलाई काठमाडौँस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोको कार्यालय बबरमहलमा ल्याएर सोधपुछ गरिएको थियो। ब्युरोका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार, यी महिलाहरू मानव तस्करका विभिन्न गिरोहहरूमार्फत घरेलु कामदारका लागि कुवेत जाँदै थिए। उनीहरूमध्ये प्रायः सबै रुपन्देहीको सुनौली नाका हुँदै भारतको दिल्ली पुगेका थिए।

“छुट्टाछुट्टै गिरोहबाट घरेलु कामदारका लागि कुवेत हिँडेका रहेछन्,” प्रहरी उपरीक्षक कुँवरले उकालोसँग भने “तीमध्ये केही व्यक्तिगत रूपमा जाने खोजेकाहरू पनि थिए।” उनीहरू यसअघि कतार, साउदी वा कुवेतमा १०-१२ वर्षसम्म घरेलु कामदारका रूपमा काम गरेर फर्केका व्यक्तिहरू भएको उनले बताए।

प्रहरी उपरीक्षक कुँवरका अनुसार, यसरी विदेश जान लागेका महिलाहरू नेपालका ३२ जिल्लाका छन्। उनीहरूमध्ये चार जनाको एउटा समूह सिन्धुपाल्चोकको रहेको छ भने बाँकी दुई-तीन जनाको समूहमा छन्। उनीहरूको उमेरसमूह २० वर्षदेखि ४० वर्षसम्म रहेको छ। हाल उनीहरूलाई माइती नेपालको जिम्मा लगाइएको छ।

ब्युरोले ती महिलाहरूले जाहेरी दिएमा मानव तस्करीमा थप अनुसन्धान अगाडि बढाइने जनाएको छ। “उनीहरूलाई पठाउने व्यक्ति, गिरोहविरुद्ध जाहेरी दिन भनेका छौँ,” उनले भने, “उनीहरूले जाहेरी दिए मानव तस्करीमा अनुसन्धान अघि लैजान्छौँ।”

सरकारले सन् २०१२ देखि खाडी राष्ट्रमा महिलालाई घरेलु कामदारका रूपमा पठाउन पूर्ण प्रतिबन्ध लगाएको छ। घरेलु कामदारका रूपमा खाडी मुलुक गएका महिलामाथि शारीरिक र मानसिक यातना, पारिश्रमिक नपाउने र सम्पर्कविहीन हुनेजस्ता घटना बढेपछि यी देशमा महिला श्रमिक पठाउन प्रतिबन्ध लगाइएको थियो।

यद्यपि, संगठित मानव तस्करले लामो समयदेखि भिजिट भिसाको ‘सेटिङ’मार्फत महिलालाई कुवेत, साउदी, यूएई, बहराइन, इराकजस्ता खाडी राष्ट्रहरूमा पुर्‍याउने गरेका छन्। पहिले भारतको दिल्लीबाट विभिन्न मुलुकमा पुर्‍याउने गरिए पनि पछिल्लो समय नेपालको अध्यागमनमा ‘सेटिङ’ मिलाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै महिलालाई भिजिट भिसामा दुबई पुर्‍याएर विभिन्न खाडी मुलुकहरूमा लैजाने क्रम बढेको थियो।

तर, गत जेठमा भिजिट भिसामा भइरहेको सेटिङबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेपछि नेपालबाट भिजिट भिसामा हुने कडाइ बढेको छ। त्यसपछि नेपालीलाई खाडी तथा युरोप राष्ट्रहरूमा भिजिट भिसामा जाने क्रममा कडाइ भएपछि भारतबाट भिजिट भिसामा जाने क्रम बढेको प्रहरी उपरीक्षक कुँवरले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024